रोकिएन हिन्दी चलचित्रको प्रदर्शन

काठमाडौं : नेकपा–माओवादीले देशभर हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने भनी गरेको घोषणा पहिलो दिन बिहीबार असफल भएको छ । काठमाडौं उपत्यकाभित्र र बाहिर लागिरहेका हिन्दी चलचित्र बिहीबार पनि यथाबत चले ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले नेपालमा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाउने बुधबार घोषणा गरेको थियो । दुई साताअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र बुझाए पनि बेवास्ता गरिएकाले त्यसलाई कार्यान्वयन गराउने क्रममा हिन्दी चलचित्रमा रोक लगाउने तयारी गरिएको नेकपा–माओवादीले जनाएको छ । ‘नेपालीलाई गालीगलौज गरिएका, अश्लीलतापूर्ण तथा नेपालका विषयमा भ्रमपूर्ण सन्देश फैलाउने खालका चलचित्र रोक्ने तयारी गरेका हौँ,’ नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले भनिन् । यद्यपि ती चलचित्र नेपालमा प्रदर्शन गर्न उपयुक्त भए/नभएको जाँच गर्ने मापदण्ड एवं संयन्त्र तयार नहुन्जेल सबै हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरिएको उनले बताइन् । प्रवक्ता भुसालले थपिन्, ‘चलचित्र मात्र होइन, भारतीय गीत–संगीतलगायत प्रसारण तथा वितरणसमेत रोक लगाउने तयारी गरेका छौँ ।’ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा आफूहरूले उठाउँदै आएको माग सरकारले कार्यान्वयन नगरेको आरोप नेकपा–माओवादीले लगाएको छ ।
चलचित्र प्रदर्शकको छाता संगठन नेपाल चलचित्र संघका महासचिव प्रदीपकुमार उदयले भने हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाउने नेकपा–माओवादीको निर्णय अव्यावहारिक भएको बताएका छन् । नेपाल सरकारले बनाएको ऐन–नियमका आधारमा देशैभर व्यापार गर्न पाउनु आफूहरूको अधिकार भएको उल्लेख गर्दै उनले कानुनका दायराभित्र रहेर चलचित्र प्रदर्शन गर्न पाउनुपर्ने बताए । ‘अश्लीलता फैलाउने, नेपाली सार्वभौमसत्ता, र अस्तित्वमाथि खलल पुर्‍याउने चलचित्र प्रदर्शनमा मात्र रोक लगाउने हो भने हाम्रो पनि समर्थन छ तर यो कडाइ राज्यको जिम्मेवार निकाय सेन्सर बोर्डले गरे मात्र आधिकारिक हुन्छ । जो पायो त्यसले आफूखुसी निर्णय गरेर हुने कुरा होइन,’ उनले भने । महासचिव उदयले सम्बन्धित पार्टीसँग यसबारे संघको आन्तरिक छलफल भइरहेको जानकारी दिँदै वार्ताबाटै समस्या टुंग्याउनुपर्ने बताए । (सौस)

प्रतिक्रिया