श्रीलंकाको रोमाञ्चक जित

कोलम्बो, १२ असोज । न्युजिल्यान्डलाई सुपरओभरमा पराजित गर्दै श्रीलंकाले जारी आइसिसी टी–ट्वान्टी प्रतियोगितामा फेरि एकपटक विश्वकपमा विजयी सुरुआत गरेको छ । सुपरओभरमा १४ रनको लक्ष्य पछयाएको न्युजिल्यान्डले निर्धारित एक ओभरमा ६ रन मात्र जोड्न सक्यो । लासिथ मालिंगालाई सुपरओभरमा बलिङ गर्न दिने श्रीलंकाको निर्णय सही सावित भयो ।
उनले एउटा पनि ‘बाउन्ड्री’ दिएनन् । ब्याटिङमा आएका मार्टिन गप्टिल र ब्रेन्डन म्याकलमको जोडीलाई पेसबलर मालिंगाले पाँचाँै बलमा मार्टिन गुप्टिललाई क्याचआउट गराएपछि श्रीलंकाको विजय करिब निश्चित भइसकेको थियो । न्युजिल्यान्डलाई अन्तिम बलमा जितका लागि आठ रन आवश्यक थियो ।
श्रीलंकाका लागि सुपरओभरमा ब्याटिङ गर्न आएको थिसारा परेरा र माहेला जयावद्र्धनेको जोडीलाई तीन रन बाइड प्राप्त भएको थियो । यो जोडीले एउटा पनि ‘बाउन्ड्री’ प्रहार गर्न सकेन ।
यसअघि नाटकीय रूपमा खेल बराबरी भएको थियो । १७५ रनको लक्ष्य पछयाउने क्रममा अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक श्रीलंकालाई अन्तिम बलमा एक रन चाहिएको थियो तर लाहिरु थिमार्ने रन लिने क्रममा रनआउट भए । थिमार्नेले पाँचाँै बलमा चौका प्रहार गरेपछि खेल कम्तीमा बराबरी हुने पक्का भएको थियो । २०आँै ओभरबलिङ गरेका टिम साउथीले सुरुआती तीन बलमा एक/एक रन र चौथो बलमा रन नदिएर श्रीलंकालाई दबाबमा राखेका थिए । १९आँै ओभरमा दिल्सान र परेरालाई आउट गरी न्युजिल्यान्डलाई जितका लागि थोरै रन आवश्यक भए पनि विपक्षलाई दबाबमा राख्ने प्रयास गरेको थियो ।
कठिन लक्ष्य पछयाउने क्रममा श्रीलंकाका लागि प्रारम्भिक ब्याट्सम्यान दिल्सानले ७६ रनको इनिङ खेले । त्यस्तै जयावद्र्धनेले ४४ र कुमार संगाकाराले २१ रन जोडे । पहिलो विकेटका लागि जयावद्र्धनेसँग ८० रनको साझेदारी गरेका दिल्सानले ५३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । पहिलो विकेटका रूपमा आउट हुनुअघि ४४ रन जोडेका जयावद्र्धनेले आक्रामक ब्याटिङ गरी २६ बलमा  तीन चौका र तीन छक्का प्रहार गरे । १४ बल खेलेका संगाकाराले चार चौका प्रहार गरे । बलिङतर्फ जेम्स फ्रान्कलिनले दुई तथा ज्याकोब ओरामले एक विकेट लिए ।
यसअघि न्युजिल्यान्डले पनि राम्रो ब्याटिङ प्रदर्शन गर्‍यो । निर्धारित २० ओभर खेल्ने क्रममा न्युजिल्यान्डले ६ विकेटको क्षतिमा १७४ रन जोडयो । किविज टोलीका लागि रोब निकोलले ५८ र गुप्टिलले ३८ रन जोडेका थिए । त्यस्तै विकेटकिपर ब्रेन्डन म्याकलमले २५ र कप्तान रोस टेलरले २३ रन जोडे । श्रीलंकाले जस्तै न्युजिल्यान्डले पनि उत्कृष्ट सुरुआत गरेको थियो । निकोल र गुप्टिलको जोडीले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्‍यो ।
दोस्रो विकेटका लागि ४२ र तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गर्दै न्युजिल्यान्डले कुनै पनि समय विपक्षी बलरलाई हाबी हुन दिएन । ४० बल खेल्ने क्रममा निकोलले तीन चौका र चार छक्का प्रहार गरे भने ३० बल मात्र खेलेका गुप्टिलको इनिङमा चार चौका समावेश रहयो । बलिङतर्फ श्रीलंकाका लागि नुवान कुलसेकेरा र अकिला धनञ्जयले समान दुई विकेट लिए । तिलकरत्ने दिल्सान म्यान अफ द म्याच भए । सुपर–एटका अन्य खेलमा श्रीलंकाले अब इंग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया