उहाँलाई अझै बुझ्न सकेकी छैन

सबै जनाले हौस्याएपछि म डोरेमी संगीत पाठशालामा भर्ना भएँ, ०५८ सालतिर । गायनमा केही गर्छु भन्ने जोस थियो । त्यहाँ गुरुदेव कामत, भानुभक्त ढकाल र ईश्वर अमात्य सरले पढाउनुहुन्थ्यो । एक दिन क्लासमा छिर्दा एक पत्रकार ईश्वर सरसँग अन्तर्वार्ता लिइरहेका रहेछन् । सरले मेरो नाम बोलाएर भित्र पस्न भन्नुभयो । मेरो नाम सुनेपछि ती पत्रकार मतिर फर्किए । मेरा लागि त्यो अनुहार परिचित थिएन । अन्तर्वार्ता सकियो । हिँड्ने बेलामा उनले सोधे– ‘मलाई चिन्यौ ?’ मलाई अचम्म लाग्यो । स्वाभाविक रूपमा उत्तर दिएँ– ‘अहँ, चिनेकी छैन ।’ उनले प्रस्ट्याए– ‘म युमास शेर्पा हुँ, युमास कटाक्ष ।’
यो नामसँग चाहिँ म राम्रै परिचित थिएँ, केही आत्मीय पनि । सोधेँ– ‘सन्चै हुनुहुन्छ ?’ पहिलोचोटिको यो भेटमा उहाँलाई आफूले कल्पना गरेभन्दा अलि फरक पाइरहेकी थिएँ म । बोली अलि ठाडो लाग्यो । चालढाल हेर्दा उमेर पनि अलि बढी नै हो कि जस्तो † त्यसमाथि उहाँले थप्नुभयो, ‘मैले पनि तिमी अलि मेचुअर्ड हौली भन्ने सोचेको थिएँ ।’ जे होस् हामी एकअर्काका नामसँग चाहिँ राम्रै परिचित थियौँ । एकअर्कालाई सुनेका थियौँ ।


२०५७–५८ सालतिर एफएम रेडियो यति धेरै थिएनन् । जति थिए, प्राय: लोकप्रिय थिए । १६–१७ वर्षको त्यो उमेरमा म एफएमहरूकी नियमित श्रोता थिएँ । सानैदेखि गाउने सोख भएकाले रेडियोमा आउने कार्यक्रममा पनि सहभागिता जनाइहाल्थेँ । त्यस्ता प्रतियोगितामा प्राय: फस्र्ट नै हुन्थेँ । ती एफएममा बज्ने साहित्यिक कार्यक्रम मलाई निकै राम्रा लाग्थे । जयप्रकाश रिजाल, रूपा विमलका कार्यक्रममा एउटा नाम गुन्जिरहन्थ्यो– युमास कटाक्ष । उहाँले पठाएका कथा–कविता कार्यक्रममा वाचन हुन्थे, मलाई निकै मन पथ्र्यो । क्लासिक एफएममा जयप्रकाश रिजाल दाइले सञ्चालन गर्ने हार्दिक शुभेच्छा नामक कार्यक्रम सुन्दै थिएँ । कसैले पठाएको शुभकामना सन्देश सुनेँ– ‘निशा देशारको गायन क्षेत्र राम्रो होस् भन्ने कामना गर्छु ।’ त्यति बेला म एफएममा अग्रज स्रष्टाहरूका गीत गाउँथेँ । मलाई आफूबारे शुभकामना पठाउने व्यक्तिबारे उत्सुकता जाग्यो । कार्यक्रम सकिनेबित्तिकै जयप्रकाश दाइलाई फोन गरेर सोधेँ । थाहा पाएँ, ती व्यक्ति उनै युमास कटाक्ष हुनुहुँदो रहेछ । र, अहिले यी सर्जक मसँग डोरेमीमा भेटिनुभएको छ, एउटा पत्रकारका रूपमा । हामीले फोन नम्बर आदानप्रदान गर्‍यौँ । पहिलो फोनमै उहाँलाई उमेर सोधेँ । उहाँले पनि छोटकरीमा ठाडो जवाफ फर्काउनुभो– ‘चवालीस–पँैतालीस भइयो ।’ पछि थाहा पाएँ, उहाँको जोक्स गर्ने बानी रहेछ । उमेर ढाँट्नुभएको रहेछ । खासमा मभन्दा केही वर्ष मात्र जेठो हुनुहुँदो रहेछ । ‘दाइ’ सम्बोधन गर्न थालेँ ।
फोन हुँदै जाँदा हामी एकअर्कालाई व्यक्तिगत रूपमा पनि भेट्न थाल्यौँ । म उहाँलाई जमलतिरै आउन अनुरोध गर्थें । ती भेटमा बढीजसो संगीतकै कुरा हुन्थे । उहाँ हौस्याउनुहुन्थ्यो– धेरै राम्रो गाउन सक्ने बन्नुपर्छ । समय मिलाएर आफूले चिनेका अग्रज गायक संगीतकारसँग भेटाउनुहुन्थ्यो । उहाँकै पहलमा फत्तेमान बुबा (वरिष्ठ गायक फत्तेमान राजभण्डारी) सँग भेट्न पाएँ, केही सिक्न पाएँ । यस हिसाबले मेरो संगीतयात्रामा उहाँको विशेष सहयोग र हौसला छ ।
एक चोटि सँगै सामाखुसी जाँदै थियौँ । नीलो टेम्पुमा मान्छे निकै प्याक थिए । एक बूढी आमै पनि चढिन् । उनको अवस्था देखेर हामीले सिट छाडिदियौँ । ती आमैले हामीलाई अनुगृहीत नजरले हेरिन् । अनि शुभकामना दिने आशयले भनिन्, ‘ल नानीहरूको जोडी एकदमै राम्रो छ, सधैँ राम्रो भइराखोस् ।’ म त लाजले भुतुक्कै भएँ, मैले त्यो रूपमा उहाँलाई हेरेकै थिइनँ । उहाँ पनि केही नबोली हाँसिरहनुभएको थियो ।
उहाँ रिपोर्टिङ अनि सांगीतिक कार्यक्रमहरूमा मलाई पनि लिएर जानुहुन्थ्यो । हिँड्नमा साह्रै सोखिन । उहाँको पछिपछि म लखरलखर हिँडिरहन्थेँ फुर्सद भएका बेला । हिँडेर काठमाडौं घुम्नुमा पनि छुट्टै आनन्द थियो । कहिलेकाहीँ हिँड्दाहिँड्दै भोकै परिन्थ्यो । थाहा पाएँ, ‘पत्रकारहरूको खानपिनको ठेगानै हुँदो रहेनछ ।’
भेट भएको एक वर्षपछि उहाँले मलाई माया गरेको संकेत देखाउन थाल्नुभयो, अमूर्त रूपमा । जो पायो त्यहीसँग नहिँड भन्न थाल्नुभयो । केही साथीहरू घुम्न जाऊँ भन्दै आउँथे । उहाँलाई कस्तोकस्तो लाग्दो रहेछ । कस्ता साथी हुन् भनेर चिन्ता देखाउनुहुन्थ्यो । यी व्यवहारपछि मलाई लाग्न थाल्यो– उहाँ मलाई माया गर्नुहुन्छ । मभित्र पनि कताकता उहाँप्रति विशेष भावना उब्जिन थालेको थियो ।
एक दिन उहाँलाई साथीको घरमा खाना खान बोलाएछन् । मलाई पनि सँगै लैजानुभयो । त्यहाँ जजसले हामीलाई भेट्नुभयो, सबैले प्रेमीप्रेमिकाका रूपमा हेर्नुभयो । सबै जना तिमीहरूको जोडी साह्रै राम्रो छ है भन्नुहुन्थ्यो । हामीलाई पनि अब आफूहरू प्रेमीप्रेमिका नै भएको अनुभूति हुँदै थियो । आफ्नै मान्छेलाई जसरी सम्झाउनुहुन्थ्यो उहाँ मलाई, ‘अब एफएमहरूमा त्यति ध्यान नदेऊ । राम्रोसँग संगीत सिकेर एल्बम नै निकाल्नुपर्छ ।’
अब हामी विवाह गर्ने मनस्थितिमा थियौँ तर हाम्रो जात मिल्दैनथ्यो, त्यसैले मेरो परिवारबाट अप्ठ्यारो थियो । अहिले त जातपातको कुरा आउँछ भने १० वर्षअगाडिको समाज झनै कट्टर थियो । हामी एकअर्कासँग छुट्टिनै नसक्ने भइसकेका थियौँ । कतिचोटि सँगै बसेर अब के गर्ने होला भन्दै रोएका छौँ । हरेक दिन तीन–चार बजेसम्म सँगै बिताएर मलाई मेरो घर चापागाउँ पुर्‍याइदिनुहुन्थ्यो । एकचोटि सत्यनारायणको पूजामा घर पनि बोलाएकी थिएँ । सँगै मेरी अर्की केटीसाथी पनि आएकाले परिवारलाई त्यति बेला थाहा भएन । तर, पछि थाहा भइहाल्यो । त्यसपछि घरबाट मेरो संगीत क्लास रोकिदिनुभयो । कतै निस्कन पाइनँ । उहाँले फोन गरे पनि बाबाआमाले उठाउनुहुन्थ्यो, कुराकानी गर्नै पाइँदैनथ्यो ।
केही दिनपछि एउटी साथी बिरामी भएको बहाना बनाएँ अनि केही खानेकुरा पनि बोकेर उहाँलाई भेट्न चावहिल गएँ । मैले पकाएर लगेका परिकार बाँडीचुडी खायौँ । १० दिनको अन्तरालमा भेट्दा आनन्दको अनुभूति भइरहेको थियो । हामीले भागेरै विवाह गर्ने निर्णय गर्‍यौँ । तर, पछि मेरो परिवार सहमत भयो, बुबाआमाले अनुमति दिनुभयो । २०५९ साल असोज १८ गते ललितपुरको महालक्ष्मीस्थानमा हाम्रो बिहे भएको हो । आफूले बालापन बिताएको घर र बुबाआमालाई छोडेर हिँड्न पर्दा साह्रै रुन मन लागेको थियो, बिहेका दिन ।
विवाहपछिका दिन राम्रै बिते । व्यवहार मिलाउँदै जाँदा तुरुन्तै गायनलाई प्राथमिकता दिन सकिनँ । क्लास पनि छुट्यो । एक वर्षपछि छोरी युनिसा जन्मिइन् । उनलाई हुर्काउँदा–बढाउँदा तीन–चार वर्ष त्यत्तिकै बित्यो, अहिले त नौ वर्ष पुगिसकिन् ।
विवाहपछिका दिनमा सामान्य ठाकठुक हामीबीच पनि हुने नगरेको होइन । उहाँ आफ्नो मनभित्रको कुरा पटक्कै निकाल्नुहुन्न । तर, आफ्नो पतिले सन्चो–बिसन्चो, अप्ठ्याराहरू सबै बुझिदेओस् भन्ने चाहन्छन् केटीहरू । बिहेपछिका केही दिन मेरो अनुहार अँध्यारो हुँदो रहेछ । उहाँ मलाई हाँसेर बस्न भन्नुहुन्थ्यो । तर, म उहाँसँग रिसाएकी कहाँ थिएँ र ? आमाबाबु छाडेर आएको मान्छे, केही दिनसम्म सामान्य नर्भस भई नै हालिन्छ, उमेर पनि उति धेरै कहाँ भएको थियो र ? भन्थेँ– ‘मलाई हाँस्नै आउँदैन, कसरी हाँसेर बस्ने ?’ मनमनै सोच्थेँ– मलाई किन नबुझ्नुभएको होला ? तर, पछि उहाँलाई मेरो बानी थाहा भयो अनि मलाई पनि उहाँको बानी । अरू कारण होइन, बानी नै त्यस्तो रहेछ भन्ने थाहा पाएपछि नरमाइलो पनि लाग्न छाड्यो । उहाँ केही बेर झनक्क रिसाउनुहुन्थ्यो, फेरि एकैछिनमा शान्त पनि हुनुहुन्थ्यो । सुरुमा रिसाए पनि पछि उहाँ नै फकाउनु सुरु गर्नुहुन्थ्यो । पछि त हामी दुवै जना एकअर्कालाई मनाउन थाल्यौँ । हुँदाहुँदा एकअर्कालाई कसले पहिला मनाउने भनेजस्तो बाजी पो चल्थ्यो । अहिले हामीबीच त्यस्तो ठाकठुक हुँदैन ।
छोरी हुर्किएपछि संगीतमा लागेँ । उहाँले निकै सपोर्ट गर्नुभयो । २०६६ सालमा रेडियो नेपालमा प्रथम भएकी थिएँ । बजारमा ल्याएको चर्चा गजलको एल्बमले राम्रै सफलता पाएँ । त्यसै कारण २०६८ सालमा इमेज अवार्ड र विन्ध्यवासिनी म्युजिक अवार्ड पनि पाएँ । म अहिले जेजति छु, सबै उहाँका कारणले सम्भव भएको हो । उहाँ मभन्दा धेरै माथि हुनुहुन्छ । आफैँमा अनुभवी पत्रकार हुनुहुन्छ । तर, एउटा कुराचाहिँ के हो भने २०५८ सालदेखि अहिलेसम्म बिताएका पल हेर्दा मैले अझै पनि उहाँलाई क्लियर्ली बुझ्न सकेकी छैन । खोइ, कसको कमजोरी हो † लाग्छ– मैले उहाँलाई ६५ प्रतिशत मात्र बुझ्न सकेकी छु । एउटा गीत छ नि – कति कुरा नभनेर नै मीठा–मीठा हुन्छन् । सायद उहाँले सबै कुरा खुलेर नभन्नुको अर्थ पनि यस्तै होला । तर, खुल्दुलीचाहिँ लागिरहने रहेछ, उहाँको मनका सबै भावना क्लियर्ली बुझ्ने । उहाँसँग त्यही कुराको प्रतीक्षा गरिरहेछु ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया