धुलोले जीर्ण बन्दै गइरहेको काठमाडौंलाई हेर्दा लाग्छ, अब ऊ बूढो भइसकेको छ । र, पनि त्यहि काठमाडौंको सडकमा रंगीन सपनाहरू भेटिन्छन् । आशाका जुलुसहरू भेटिन्छन् । यार्सागुम्बा बिकाउन आएको एउटा जुम्लीदेखि अरवतिर उड्न आँटेको ताप्लेजुंगे ठिटोसम्म हुन्छन् । सहरका सडकमा भेटिने अनगिन्ती कथाहरूको भिडमा कुन कथाको कति महत्त्व, छुट्याउनै गाह्रो । प्रत्येक कथाका आ–आफ्नै सुख, दु:ख र सेन्टिमेन्ट हुन्छन् नै । सडकका कथाका अनुभूति आममानिसले कसरी लिन सक्लान् ? अनुभूतिपछि कसरी मानिस छियाछिया बन्दै रोला या मन प्रफुल्ल बनाएर हाँस्ला ?
खासमा यहाँ कुरा गर्न लागिएको सडक नाटकबारे हो । सडकका कथालाई बुन्दै सडकमै आएर अनुभूति साट्न सडक नाटक जत्तिको प्रभावकारी विधा अरू कमै होला । यहाँचाहिँ सडक नाटकमा कस्सिएर लागिरहेका नयाँ पुस्ता र उनीहरूको अनुभूति बाँड्न खोजिएको छ ।
पशुपतिनाथ मन्दिरको पारिपट्टि मन्दिरैमन्दिरले घेरिएको एक खाली भागमा २२ वर्षीय अजित अर्याल आÏना साथीहरूलाई नाटकको थिम बुझाइरहेका छन् । साँझ छिप्पिँदै छ र केहीछिनमै अन्धकारको राज चल्नेवाला छ । तर, त्यहाँ अबको केही घन्टा रिहर्सल चल्नेछ नाटकको । केही बालबालिका र टिनएजर्सको साथ अजितलाई छँदै छ । ‘हामीले ६४ सालदेखि सुरु गरेको अचेल समूह अर्थात् ‘अभिनयद्वारा चेतनाका लहरहरू’ आजसम्म निरन्तर चलिरहेको छ, हामीले अहिलेसम्म ७४ ओटा फरकफरक नाटक देखाइसकेका छौँ’, अचेलकी कलाकार सञ्जिता पराजुली बताउँदै छिन् । पशुपति क्षेत्रमा बसेर उनीहरूले धेरै नाटक देखाएका पनि रहेछन् । नाटक देखाउने ठाउँ उही सडक नै हो । अनि, कथा पनि सडककै पात्रका । सडकमा नाटक देखाउनु चानचुने कहाँ छ र ? विभिन्न मनोविज्ञान र प्रवृत्तिका मानिस हुन्छन् सडकमा । नाटक चलिरहेको समयमा हल्ला हुने, अवरोध आउने पनि हुन्छ । र, ती सबै चुनौतीलाई सामना गर्नुपर्ने हुन्छ उनीहरूले । ‘अचेल’ नाटक समूहमा निर्देशन गर्दै आएका अजितलाई दर्शक व्यवस्थापन नै सडक नाटक प्रदर्शनको प्रमुख चुनौती लाग्छ ।
सडक नाटकमा लागिपर्ने विभिन्न समूह छन् । कतिपय स्थापित छन् त कतिपय लोकप्रियता कमाउने तरखरमा । सहरमा कुनै बेला सर्वनामजस्ता नाट्य समूहहरू खुब मन पराइन्थे । कति नाट्य समूहहरू सडकबाट थियटरसम्म पनि पुगेका छन् । नाट्य समूह शैलीले अहिले थियटरमा आÏना प्रस्तुति जमाउने गर्छ । त्यस्तै अरू धेरै नाट्य समूह आ–आÏनो क्षेत्रमा खटिएका छन् । सुरुमा सोखले हामफाल्नेहरू पछि नाटकको लतमा पर्छन् । ‘अचेल’ का युवा पनि त्यसै भन्छन् । ‘हाम्रो यात्रा सुरु हुने बेलामा देशले पनि नयाँ यात्रा सुरु गर्दै थियो, संविधानसभाको चुनाव आउन लागेको थियो, सडकमा बन्द र जाम सामान्य थिए, बन्द गर्नेहरू भन्दै थिए, परिवर्तनका लागि हो यी सबै । तर, हामीले परिवर्तन गर्ने माध्यम अभिनयलाई बनायौँ, त्यसबेला रहरले सुरु गरियो अब त नशा नै लागिसक्यो,’ सञ्जिताले अचेल स्थापनाको सार सुनाइन् ।
पाशुपत क्षेत्रमा जोगी र बाबाहरूको उस्तै जगजगी छ । बाबासँग गाँजा माग्न आउनेहरूमा टिनएजर्स नै बढी छन् । ‘अचेल’का युवालाई भने गाँजाको गन्धले तानेकै छैन । तानेको छ त अभिनयले, सिर्जनशीलताले मात्रै ।
अचेलका नाट्यकर्मीहरू नाटकका लागि मात्र संगठित छन् । उनीहरूको एउटै उद्देश्य, अभिनयद्वारा चेतना फैलाउनु । उनीहरूलाई अझै ताजा छन् ती दिन, जतिखेर नाटक देखाउँदै गर्दा धेरै मानिस नाटकको भावबाट प्रभावित भए । नाटकले प्रवाह गरेको वेदनासँगै रोए । ‘गरिबको मृगतृष्णा भन्ने नाटक देखाउँदा हाम्रा अधिकांश दर्शक रोएका थिए, त्यसबाट आँकलन गर्न सकिन्छ अनुभूति भन्ने कुरा, अनुभूति बाँड्न सक्छ त नाटकले नै,’ अजितको भनाइ ।
अचेल नाट्य समूहका नाटक हेर्न नछुटाउने पनि धेरै छन् रे † तर, कहिलेकाहीँ जसलाई सन्देश दिन नाटक बनाइएको हुन्छ, उनीहरूलाई घेरिरहेका भिडमा ती लक्षित दर्शक भइदिँदैनन् । ‘सिंहदरबारप्रति लक्षित भएको हाम्रो नाटकका दर्शक पजेरोमा हिँड्नेहरू पनि हुनुपथ्र्यो,’ उनीहरूको भनाइ । यद्यपि, उनीहरूले मञ्चमा गएर पनि नाटक देखाएका छन्, जहाँ कस्ता खालका दर्शक आएर हेरे उनीहरूलाई याद छैन । ‘हामीले टुरिजम बोर्ड र रसियन कल्चर सेन्टरमा पनि नाटक देखायौँ, सर्वनामको थिएटरमा पनि देखाउने वाला छौँ,’ अजितले भने ।
अचेल स्थापनाको पाँच वर्ष पुगिसकेको छ तर उनीहरू अझै सडकमा छन् । किनकि उनीहरूले रोजेकै सडकलाई हुन् । पशुपतिको एक खाली कोठामा कार्यालय खडा गरेका थिए, उनीहरूले केही पहिले । तर, पशुपति क्षेत्र विकास कोषमा नयाँ हाकिम आएपछि विनाकारण त्यो कोठा भत्काइएछ । नाटक देखाउन चाँहिने विभिन्न समान विभिन्नको घरमा राखिएको छ अहिले । आर्थिक सहयोगका लागि कोहीसँग अपेक्षा पनि छैन गर्दैनन् । उनीहरू नाटक महिनामा दुई पटकसम्म देखाउँछन् । नाटक देखाएका बेला कलाकारलाई खानका लागि एक सय रुपियाँको पानी किन्छन् रे । महिनामा एक सय रुपियाँ दिएर सहयोग गर्नेहरूलाई सम्माननीय सदस्य बनाएका छन् रे । ‘हामीलाई सहयोगको आश्वासन हजारौँले दिए होलान् तर उनीहरू कहिल्यै फर्केर आएनन्, सायद यो क्षेत्र नै त्यस्तै भएर हो कि †’ –अजित भन्छन् ।
आफूसँगै नाटक खेल्ने भाइबहिनीहरू चलचित्रको पर्दासम्म पुग्न थालेकोमा गौरव गर्छन् अजित अनि सञ्जिता । पशुपति क्षेत्रमा नाटक रिहर्सलमा व्यस्त रहेका १४ वर्षीय अनिश राई आफूले खेलेको ‘माई ब्रदर’ भन्ने चलचित्र रिलिजको पर्खाइमा छन् । अचेलमा ९ वर्षका बालकदेखि ३० वर्षसम्मका युवा समावेश छन् । ४० जनाजतिको समूह हो अचेल । अचेलमै नाटक खेल्ने १३ वर्षीय रूपेश मगर शैली थिएटरले आयोजना गरेको राष्ट्रिय बाल महोत्सवमा उत्कृष्ट बालकलाकार बनेका थिए । यसरी अचेलले नयाँ पुस्तालाई नाटकमा आकृष्ट पार्दै त्यसमा अभ्यस्त पारेको छ ।
बेलुका टेलिभिजनमा आउने विभिन्न हास्य सिरियलहरूको पर्खाइमा बस्ने कतिपय बालबालिकाको मनोविज्ञानमा अभिनयको भूत चढेको हुन्छ । त्यसको व्यवस्थापन गर्ने स्थान सहरमा विरलै होलान् । मेरिबास्सैको ‘खड्काजी’ पात्रबाट लोभिएका १२ वर्षीय विजन शाह स्कुल छुट्टी हुनासाथ घर पुगेर पशुपति क्षेत्र कुदिहाल्छन् । उनलाई अचेलमा नाटक रिहर्सल गर्दाजतिको मजा अरूमा लाग्दैन रे † सानो छँदा हातेमालो सञ्चारबाट नाटकसम्बन्धी सामान्य प्रशिक्षण लिएका अजित र सञ्जिता अहिले अरूलाई नाटक सिकाउँछन् । नाटक सिक्न चाहनेका लागि पनि अचेल एउटा साझा थलोझैँ बनेको छ । मात्र अभिनयप्रति प्यासन हुन पर्यो । नाटकप्रति प्यासन भएर नै अचेल खोज्दै आएकी रे, २० वर्षीया गीता खड्का । उनी अभिनयमा खुब विश्वास र श्रद्धा गर्छिन् । ‘सहिद दिवसका दिन वसन्तपुरमा प्रदर्शन गरिएको नाटकमा म सहिदकी छोरी बनेर अभिनय गरिरहेकी थिएँ, नाटकको भावमा डुबेर म साँच्चिकै रोएछु,’ उनले अनुभव सुनाइन् ।
नाटकमा राम्रो गर्दा सिनियरहरूबाट पाएको स्याबासीले यी युवाका मन तरंगित भएर आउँछ, खुसीले । उनीहरू अशेष मल्ल, सुनील पोखरेल, अनुप बराल आदिलाई सम्झिरहेका हुन्छन् । सडकमा भेटिने उनीहरूका लागि सडकजस्तो पवित्र स्थान अरू केही छैन । जहाँ उनीहरू अचेल नयाँनयाँ पात्र र कथा खोजिरहन्छन् । कथालाई गुमनाम हुनबाट रोक्न सडकमा त्यसलाई प्रदर्शित गर्छन् नाटकका रूपमा । त्यसैले अचेल सडकमा कथा पढ्न पाइन्छ ।
प्रतिक्रिया