वैद्यको निम्तोमा आएनन् भारतीय राजदूत

 

काठमाडौं, १२ असोज । नेपालभरि भारतीय नम्बर प्लेटका सवारीसाधनमा रोक लगाउने आन्दोलन थालेकै दिन नेकपा–माओवादीले विभिन्न मुलुकका राजदूतलाई निम्तो गरेर अन्तरक्रिया गरेको छ । कार्यक्रममा भारतीय राजदूत जयन्तप्रसाद भने आएनन् ।
संविधानसभा विघटनपछि अहिलेसम्मको राजनीतिक अवस्था र पार्टीको धारणा सुनाउन माओवादीले राजदूतहरूलाई बोलाएको हो । विदेशी कूटनीतिज्ञहरूसमक्ष उसले लिखित रूपमा आफ्ना धारणा राखेको थियो । छलफलका क्रममा आएका प्रश्नको जवाफको माओवादी उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सिपी गजुरेलले दिएका थिए ।
करिब डेढ दर्जन मुलुकका कूटनीतिज्ञहरू उपस्थित कार्यक्रममा माओवादी अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङलगायत वरिष्ठ नेताहरू भने सहभागी थिएनन् । उपाध्यक्ष गजुरेलसहित पोलिटब्युरो सदस्य पम्फा भुसाल, केन्द्रीय सदस्य महेश्वर दाहाल र विदेश विभागका केही सदस्यको मात्रै कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रममा भारतीय राजदूत जयन्त नआए पनि उनले राजनीतिक मामिला हेर्ने प्रतिनिधि पठाएका थिए । अन्य मुलुकका राजदूतहरूले केही जिज्ञासा राखे पनि भारतीय प्रतिनिधि भने चुप लागेर सुनिरहे । कार्यक्रम सकिएपछि चियापानमा भएको अनौपचारिक कुराकानीमा पनि उनले भारतीय नम्बर प्लेटका सवारीसाधनमा रोक लगाउने माओवादीको आन्दोलनबारे कुनै चासो राखेनन् ।
‘ऊ(भारतीय प्रतिनिधि) आपैँmले केही चाँसो देखाएन, हामीले प्रष्टीकरण दिइराख्नु जरुरी ठानेनौँ,’ छलफलमा सहभागी एक माओवादी नेताले भने । चियापानका क्रममा भारतीय प्रतिनिधिले माओवादी नेताहरूसित चिनजान भने गरेका थिए । भारतीय प्रतिनिधिको व्यवहारले माओवादी नेताहरूलाई चकित बनाएको स्रोतले जनाएको छ ।
माओवादीले बिहीबारदेखि मात्रै नेपाली भूमिमा भारतीय नम्बर प्लेटका सवारीसाधन चल्न नदिने आन्दोलन सुरु गरेको छ । उसले नेपाल र नेपालीप्रति अपमान गर्ने, वितृष्णा जगाउने, अश्लील तथा सांस्कृतिक विकृति फैलाउने खालका भारतीय चलचित्र पनि चल्न नदिने जनाएको छ । ‘नेपाल र नेपालीप्रति अपमान गर्ने, वितृष्णा जगाउने, अश्लील तथा सांस्कृतिक विकृति फैलाउने हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ माओवादीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टी प्रवक्तासमेत रहेकी नेतृ भुसालका अनुसार अहिलेको राजनीतिक अवस्था, पार्टीको धारणा र निकासका बारेमा ब्रिफिङ गर्न कार्यक्रम आयोजना गरिएको हो । संविधानसभा विघटनपछि अहिलेसम्मको अवस्था र निकासबारे डेढ पृष्ठ लामो पार्टीको लिखित धारणा कूटनीतिज्ञहरूलाई बाँडिएको थियो । त्यस्तै, केही दिनअघि सरकारलाई बुझाइएका मागपत्र, पार्टीले दलहरूबीच गरेका छलफलबारे पनि छुट्टै लिखत उनीहरूलाई दिइएको थियो ।
प्रवक्ता भुसालका अनुसार कार्यक्रममा अमेरिका, पाकिस्तान, अस्ट्रेलिया, जर्मनी, उत्तर कोरिया, दक्षिण कोरिया, नर्वे, रसिया, भारत, इजरायल, फिनल्यान्ड, चीनलगायत करिब डेढ दर्जन मुलुकका कूटनीतिज्ञको सहभागिता थियो ।
स्रोतका अनुसार कार्यक्रममा नर्वेका राजदूतले ‘के तपाईंहरू फेरि सशस्त्र संघर्षमा जाने हो ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा माओवादीले तत्काल सशस्त्र संघर्षमा जाने योजना नरहेको बताएका थिए । ‘तत्काल सशस्त्र संघर्षमा जाने हाम्रो कुनै योजना र रणनीति छैन, शान्तिपूर्ण आन्दोलनबाट जनताको आवाज सुनिएन भने मात्रै त्यसबारे साच्ने हो,’ स्रोतका अनुसार माओवादी नेतृत्वले कूटनीतिज्ञहरूसमक्ष भनेको थियो ।
केही राजदूतले अबको राजनीतिक निकास के हो, राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री को हो भन्ने जिज्ञासा राखेका थिए । माओवादीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदमुक्त गरेपछि राष्ट्रिय सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिइने जनाएको थियो । त्यस्तै, दलहरूको सहमतिमा राष्ट्रिय सरकारको प्रधानमन्त्री छानिने उनीहरूले कूटनीतिज्ञहरूलाई बताएका थिए ।
माओवादीका बारेमा कतिपय कुराहरू भ्रामक ढंगले बाहिर आएका कारण त्यसलाई स्पष्ट पार्न पनि कार्यक्रम आयोजना गरिएको प्रवक्ता भुसालले बताइन् । ‘हामीले अहिलेको राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्न र आफ्ना कुरा राख्न कार्यक्रम आयोजना गरेका हौँ, कतिपय स्पष्ट नभएका, भ्रम पिँmजिएका विषयमा पनि मित्रराष्ट्रहरूलाई स्पष्ट पार्‍यौँ,’ भुसालले सौर्यसँग भनिन् ।

प्रतिक्रिया