चितवनमा एकै बर्षमा दर्जन गैंडाको मृत्यु

चितवन, ११ असोज । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा एक वर्षको अवधिमा दर्जन गैंडाको मृत्यु भएको छ ।
चोरी शिकारी र कालगतीले चितवनमा १२ गैंडा मारिएका हुन् । विश्व सम्पदामा सूचिकृत रहेको निकुञ्जमा आर्थिक बर्ष ०६८/०६९ मा प्राकृतिक कारणबाट १० तथा चोरी शिकारीका कारण एउटा गैंडा मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की जानकारी दिए ।
चितवनबाटै लगिएको एउटा गैंडा भने जावलाखेलको सदर चिडियाखानामा मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०५५/२०५६ देखि २०६८.२०६९ सम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय ८२ गैंडा प्राकृतिक कारण र एक सय ७० चोरी शिकारीका कारण मारिएको तथ्याङक छ ।
निकुञ्जमा औषतमा प्रति वर्ष १४ वटा गैंडा प्रकृतिक र १३ गैंडा चोरी शिकारीका कारण मृत्यु हुने गरेको तथ्याङले देखाउँछ ।
निकुञ्जमा सुरक्षा व्यवस्था कडाई गरेका कारण आर्थिक बर्ष २०६८/२०६९ मा एउटा मात्रै गैंडाको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले जानकारी दिए । गैंडा नमारिए पछि गत बर्ष चोरी शिकारी विरुद्ध शून्य बर्ष समेत मनाईएको थियो ।
यसैबीच, आर्थिक वर्ष २०६८/२०६९ मा निकुञ्ज भित्र ४ र मध्यवर्ती क्षेत्रमा २ वटा समेत ६ वटा बाघको प्राकृतिक कारणले मृत्यु भएको छ । मर्ने बाघमा ४ वटा भाले र २ वटा पोथी रहेको प्रमुख संरक्षण अधिकृत कार्कीले बताए । (तस्विर गुगल)

प्रतिक्रिया