कृष्ण र राजनलाई महत्त्वपूर्ण सफलता

इलाम, ११ असोज । रामप्रसाद स्मृति बुद्धिचाल प्रतियोगिताको चार चरणको समाप्तिमा नेपालका केही खेलाडीको प्रदर्शन स्तरीय रहयो । दोस्रो दिन राजन सुवेदी र कृष्ण थापाका लागि सुखद् रहयो । घरेलु प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गर्ने छुट्टै पहिचान बनाएका कृष्ण थापाले चौथो चरणमा शीर्ष वरीयताका रुसी ग्रान्डमास्टर अलेक्जेन्डर फोमिनीसँग बराबरी गरे । तेस्रो चरणमा ध्रुवतारा स्पोर्टिङ क्लबका राजन सुवेदीले अन्तर्राष्ट्रिय मास्टर अलेक्जेन्डर बललाई पराजित गरे ।
कृष्णले कालो गोटीबाट खेल्दा सबैभन्दा बढी प्रश्रय दिने ग्रुनफिल्ड भेरिएसनबाट फोमिनीले खेलेपछि उनलाई अंक जोड्न सहज भएको थियो । फिडेको अफिसियल प्रतियोगितामा उनले ग्रान्डमास्टरसँग बराबरी गरेको यो दोस्रोपटक हो । यसपहिले उनले आठ वर्षअघि एसियन जोनल प्रतियोगितामा ग्रान्डमास्टर जिआउर रहमानसँग बराबरी गर्दै ग्रान्डमास्टरसँग स्कोर गर्ने पहिलो नेपाली खेलाडीको रूपमा कीर्तिमान कायम गरेका थिए ।
कुनै समय नेपालका राष्ट्रिय उपविजेता हुनुका साथै माथिल्लो तहको खेलाडीमा गनिने थापाले पछिल्ला केही वर्षमा कमजोर प्रदर्शन गरेका थिए । चार चरणको समाप्तिमा कृष्णको ३.५ अंक छ । प्रतियोगितामा मनीष हमाल, बद्रीलाल नेपाली, प्रचण्ड मालाकार, दिलिप दास र सौरभ आनन्दको समान चार अंक छ । तेस्रो चरणमा प्रकाशश नेपालसँग हारको मुखबाट उम्किएका मनीषले चौथो चरणमा अर्का फिडेमास्टर सुजेन्द्र श्रेष्ठलाई पराजित गरे ।
यसैगरी बद्रीलालले श्याम श्रेष्ठसँगको कठिन खेलमा जित हात पारेपछि अर्को चरणमा विश्वविजय घिमिरेलाई हराए । प्रचण्डले तेस्रो चरणमा जगतबहादुर थापा तथा चौथो चरणमा निरज निरौलालाई हराए । तेस्रो चरणमा मनकुमार गुरुङलाई हराएका दिलिप दासले चौथो चरणमा राजन सुवेदीलाई हराए । सौरभ आनन्दले तेस्रो चरणमा मदनकृष्ण कायस्थ तथा चौथो चरणमा विजय कुमारलाई हराए ।
निलाद्रीशेखर भट्टाचार्य, राजन पुरी, गणेशमान दुवाल र पुरुषोत्तम चौलागाईं तथा फोमिनीको ३.५ अंक छ । तीन अंक हुनेमा चौथो चरणमा राजन र सनलादीबीच तथा गणेशमान र पुरुषोत्तम चौलागाईंबीच बराबरी भयो । तीन अंक हुनेमा सुजेन्द्र, विश्वविजय, राजन, अलेक्जेन्डर बललगायत रहेका छन् । तेस्रो चरणमा अलेक्जेन्डरलाई पराजित गरेका राजनको खेलजीवनको यो सबैभन्दा महत्त्वपूर्ण जित हो । यसअघि उनले छैटौँ राष्ट्रिय खेलकुदमा उपाधिका दाबेदारसमेत रहेका केशव श्रेष्ठलाई दोस्रो चरणमा पराजित गरेका थिए ।

प्रतिक्रिया