मैले लडेका मुद्दा सम्झिँदा

कानुनव्यवसायका क्षेत्रमा चर्चित नाम हो, शम्भु थापा । विगत ३३ वर्षदेखि वकालती पेसामा संलग्न थापा हाल वरिष्ठ अधिवक्ता छन् । हरेक मान्छेले बाँच्न पाउनुपर्छ र न्याय पाउनुपर्छ भन्ने मान्यता राख्ने उनी नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन् । यो अवधिमा उनले थुप्रै मुद्दामा बहस गरेका छन्, कति नजिर स्थापित भएका छन् । आज थापा आफ्नो वकालती यात्राका महत्त्वपूर्ण प्रसंगहरूबारे सौर्यसँग चर्चा गर्दै छन् :

मैले ३५–३६ सालतिरबाट वकालती सुरु गरेको हुँ । पहिलोपटकको बहसमा निकै उत्साह थियो । सम्झन्छु– अक्सफामको केस थियो त्यो । मसँगै अरू वरिष्ठ अधिवक्ताहरू पनि थिए । जितियो पनि । उहाँहरूले विश्वास गरेर मलाई पठाउनुभएको थियो । सुरुको बहस भए पनि मलाई बोल्न कुनै समस्या थिएन, मज्जाले बोल्थेँ । त्यति बेला २०–२५ रुपियाँ फिस हुन्थ्यो । त्यो पनि धेरै नै हुन्थ्यो । वकिलका रूपमा बहस गर्नुपूर्व म ल क्याम्पसमा सहायक प्राध्यापक थिएँ । त्यसैबाट आउने मासिक तलबले खर्च जोहो गरिन्थ्यो ।
अहिलेसम्म कति मुद्दामा बहस गरियो, गन्ती नै छैन । तीमध्ये केही मुद्दा सम्झन लायक छन् । तिनै मुद्दाले मप्रति मानिसहरूको विश्वास कायम गरे । मसँग के छ वा छैन, मलाई नै थाहा छैन । मलाई चिन्नु र विश्वास गर्नु त अरूको भावनाको कुरा न हो ।
मेरो लागि ‘केस’ हेर्नु पनि भावनाको कुरा हो । कहिलेकाहीँ जति नै फोर्स गरे पनि मुद्दा पढिरहेको हुन्न अनि कहिलेचाहिँ कसैले फिसै नदिए पनि मुद्दा हेरिदिइरहेको हुन्छु । मुड अनि भावनाको कुरा हुँदो रहेछ यसमा पनि । कुनै मुद्दा सुन्दै अल्छी लागेर आउँछ, पढिँदैन । अब त फाइल हेरेर थाहा हन थालिसक्यो, त्यो मुद्दामा के छ भनेर । यसो दुई–चार पाना हेरेपछि भित्र के छ, बुझ्न सकिन्छ । जाहेरीवालाको मुद्दा लड्दिनँ, प्रतिवादी मुद्दाहरू मात्र लड्छु । किनकि म सरकारी वकिल होइन । मेरो मान्यतामा सबै मान्छे निरपराधी छन्, अपराधी होइन ।
एकपटक मकवानपुरकी एक महिला श्रीमान्को हत्यासम्बन्धी केस लिएर आइन् । सुरुमा मैले त्यो मुद्दा लड्दिनँ भनेर पठाएँ । नेता रूपचन्द्र विष्टकी कार्यकर्ता ती महिला उनैले पठाएर आएकी रहिछन् । मैले लड्दिनँ भनेपछि उनी सिधै रूपचन्द्रकहाँ पुगिछन् । रूपचन्द्रले मतिर औँल्याउँदै भनेछन्– ‘त्यो भातेलाई सोध्नू, न्याय दिलाउन बसेको कि अन्याय दिलाउन बसेको रे †’ ती महिला अलि कडा मिजासकी थिइन् । रूपचन्द्रजीको त्यो सन्देश जस्ताको तस्तै मलाई सुनाइन् । मैले पनि भनेँ– म न्याय दिलाउन बसेको । उनले हाँक दिइन्– ‘त्यसो भए खोइ त मलाई न्याय दिएको ? यहाँ मेरो सिउँदो पुछिएको छ, तपाईं मुद्दा लड्दिनँ भन्नुहुन्छ ।’ त्यसपछि मैले चुपचाप त्यो मुद्दा लिएँ ।
त्यसमा मैले मागेजस्तै फैसला भयो । अभियुक्तलाई जन्मकैदको आदेश भयो । तर, त्यो फैसला अलिक न्यायपूर्ण थिएन कि भन्ने लागिरहन्छ अहिले पनि । खासमा आपसी झगडाका क्रममा कुटपिट चलेको रहेछ । कुटपिटको केही दिनपछि ती व्यक्तिको मृत्यु भएको रहेछ । यसै कारण भावनात्मक रूपमा चाहिँ म अभियुक्तहरूविरुद्ध १०–१२ वर्षको मात्र कैद होस् भन्ने चाहन्थेँ । त्यति बेला त्यो मेरो अपरिपक्वता वा अरू केही, थाहा छैन । जिल्लाको फैसला पुनरावेदनमा गयो, पुनरावेदन र फुल बेन्चले पनि त्यही फैसला सदर गरिदिए । न्याय भनेको कसैको विचार र भावनाअनुसार चल्ने होइन रहेछ । गोविन्द बटालाको केशमा पनि म जाहेरीवालाको पक्षबाट लडेँ । न्यायका लागि उभिनुपर्ने भयो । शम्भु थापाप्रति मान्छेको चिनारी जोगाउन पनि यस्ता केसमा उभिनुपर्ने हुँदो रहेछ कहिलेकाहीँ ।
०४० सालतिर हो । उमादेवी पोख्रेलको अंश मुद्दा मेरो हातमा आयो । त्यो मुद्दामार्फत एउटा नजिर स्थापित गराउन सफल भएँ । उनका जेठाजु लेखनाथ पोख्रेल अवकाशप्राप्त न्यायाधीश थिए । उनका भाइसँग उमादेवीको बालविवाह भएको रहेछ । बिहेलगत्तै बेपत्ता भएका भाइ फिर्ता आएनन् । उमादेवीले जेठाजुसँग अंशदाबीका साथ मुद्दा गरिन् । उमाको अंश खाने आशय लेखनाथको रहेछ । त्यसैले उनले उनले थुप्रै किर्ते कागज तयार गरेर आफूलाई बलियो बनाउने प्रयास गरेका रहेछन् । मलाई चाहिँ त्यो मुद्दा जित्छौँ भन्ने विश्वास थियो । तयारी र मेहनत पनि निकै गरियो । साथमा वरिष्ठ अधिवक्ताहरू पनि हुनुहुन्थ्यो । कतिपय अवस्थामा विपक्षी वकिलको भूमिका र कौशलले पनि आफूलाई मुद्दा जिताउन सहयोग गर्दाे रहेछ । यसमा पनि त्यस्तै भयो । हामीले जित्यौँ ।
चर्चित झोडा काण्डको मुद्दा पनि लडेँ । त्यो राजनीतिक ज्यान मुद्दा थियो । झोडामा वन फाँड्ने विषयमा त्यो घटना भएको थियो । त्यो मुद्दामा पनि धेरै मेहनत गरेँ । विश्वकान्त मैनाली, सिन्धुनाथ प्याकुरेल र मैले बहस गरेका थियौँ । सफल भइयो ।
सबिना पाण्डे नामकी एक महिलाको अंशमुद्दा पनि याद आइरहन्छ । त्यसमा पनि नजिर स्थापित भएको थियो । सबिना पतिसँग अमेरिका गएकी थिइन् । पतिले अमेरिकामै स्वेच्छाले सम्बन्धविच्छेद गराएछन् । सबिनाले नेपाल आएर अंश दाबीसहित मुद्दा दर्ता गरिन् । त्यो केसमा बहस गर्दा जिल्ला र पुनरावेदनमा म हारेँ । तर, सर्वोच्चको संयुक्त इजलास र फुल बेन्चबाट अन्तिममा जितेरै छाडियो ।
नेपालमा बिहे गरेर अन्य देश पुग्ने दम्पतीले उक्त देशको कानुनअनुसार सम्बन्धविच्छेद गरेको अवस्थामा नेपालले त्यसलाई मान्यता दिने कि नदिने भन्नेबारे स्पष्ट कानुनी व्यवस्था थिएन । नेपाल र अमेरिकाको कानुनबीच आनको तान फरक छ । उनले मुद्दा जितिन्, अंश दिलाउन सफल भइयो । सँगसँगै नेपाली नागरिकको हकमा नेपालमै मुद्दा र फैसला हुनुपर्छ भन्ने मान्यता स्थापित भयो । हाम्रो आफ्नै कानुन र संस्कृति छ । कानुन, संस्कार र संस्कृति संसारभरि एउटै हुनै सक्दैन । नेपाली नागरिकको हकमा अरू देशका कानुनअनुसार फैसला हुनुहुँदैन, त्यसैले फैसला गलत छ, सम्बन्धविच्छेद हुँदैन भनेका थियौँ हामीले ।
नेपालमा पतिपत्नी तीन वर्ष अलग रहेको अवस्थामा मात्र सम्बन्धविच्छेद गर्न सकिने प्रावधान छ । जब कि अमेरिकामा ६ महिना मात्र अलग राज्यमा बसे पनि सम्बन्धविच्छेद हुन सक्छ । त्यस कारण अमेरिकामा नेपाली नागरिकबारे भएको त्यो फैसला नेपालको कानुनअनुसार पटक्कै मेल खाँदैनथ्यो । त्यो फैसलाअनुसार पत्नीले अंश पाउने अवस्था थिएन । हामीले उनलाई अंश दिलाएरै छाड्यौँ, जुन फैसलाले मलाई आत्मसन्तुष्टि दिएको थियो ।
पञ्चायती व्यवस्थामा पत्रिकामाथि सरकारी प्रतिबन्ध थियो । ज्वाला, साँघुलगायत पत्रिका प्रतिबन्धित थिए । ज्वालाको पक्षमा त रिटबाटै जितियो । साँघुको केस फुल बेन्चसम्मै गयो तैपनि जिताउन सकिएन । साँघु र सम्पादक गोपाल बुढाथोकीलाई राजकाजविरुद्धको मुद्दा नै लाग्यो । साँघुको मुद्दा संकटकालमा पनि लडेँ ।
संकटकालमा त नहेरेको मुद्दा नै छैन होला । बारको अध्यक्ष पनि थिएँ त्यति बेला, आफू नउभिएको मुद्दै थिएन होला । अदालतले छोड्न आदेश गरेको व्यक्तिलाई अदालत परिसरबाटै प्रहरीले गिरÏतार गथ्र्यो । धेरै माओवादी नेतालाई अदालतबाट सोझै सेल्टरमा पुर्‍याउने काम पनि गरियो । विद्यार्थी, युवा नेताहरूलाई सुरक्षित रूपमा अदालतबाट बाहिर ल्याइयो ।
झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, केपी ओली, मोदनाथ प्रश्रितको मुद्दा पनि हेरेको थिएँ । झापा आन्दोलनको मुद्दा । ५ हजार ३ सय १० रुपियाँका दरले उहाँहरूको जरिवाना तोकिएको थियो, मैले नै जम्मा गरेका बुझाइदिएको थिएँ । धेरै मुद्दा सित्तैमा लडियो । राजनीतिक मुद्दामा पैसा लिने त कुरै छाडाँैं, उल्टै आफ्नै खल्तीको पैसा खर्च गर्नुपथ्र्यो । कतिपय मुद्दा नैतिकताका दृष्टिले हेरियो त कतिपय मानवीय भावनाले ।
वकालतमा सधैँ इमानदारिता हुनुपर्छ । त्यो इमानदारिता पूरा नगरेको भए अहिले म जहाँ छु, सायद त्यहाँ हुँदैनथँें । आफ्नो हैसियत र भूमिकामा सधैँ प्रस्ट हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
वकालती पेसामा कहिलेकाहीँ नजित्नु पर्नेले जितिदिन्छ । अनि हार्नु नपर्नर्ेले हारिदिन्छ । नहार्नुपर्नेले हार्दा साह्रै नराम्रो लाग्छ । यस्ता उदाहरण पनि धेरै छन् । कहिलेकाहीँ झगडियाका कारणले पनि यस्तो हुन्छ । यस्ता कुरा अव्यक्त हुँदैनन् । मैले आफ्नो वकालती जीवनमा कसैलाई व्यक्तिगत रूपमा खुसी पार्ने ढंगले काम गरिनँ । जिम्मेवारी पूरा गरेँ । हरेक मान्छेले आफ्नो जिम्मेवारी मात्र लिने हो भने देश बन्छ भन्ने मलाई लाग्छ ।
आममान्छे सोच्छन्– हारसँगै आÏनो तेज पनि सकियो । तर, मलाई त्यस्तो लाग्दैन । मैले पनि संविधानसभाको चुनाव हारेँ । तर, त्यसले मेरो वकालती पेसामा कुनै हेरफेर भएजस्तो लाग्दैन ।
म पनि संविधानसभासँग गाँसिएको मान्छे हुँ । संविधानसभा भंग हुँदा दु:ख लाग्यो । दुई वर्षमा पनि संविधान नबन्दा एक जना सभासद्ले पनि राजीनामा दिने आँट गरेनन् । दुई वर्ष पुग्दै बीस–पच्चीस जनाले राजीनामा दिएका भए सकारात्मक दबाब पर्ने थियो, संविधान बन्ने सम्भावना हुन्थ्यो ।
मेरो विचारमा अब संविधानसभा चुनाव हुन्छ । संविधानसभाबाटै संविधान बन्नुपर्छ । नेपाल र नेपालीलाई बलियो बनाउन तथा बाँकी रहेको द्वन्द्व अन्त्यका लागि पनि संविधानसभा र संविधान नै एक मात्र विकल्प हो ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया