नागरिक ज्ञानेन्द्र शाहको पक्षमा

देशमा गणतन्त्र आइसकेपछि स्वाभाविक रूपमा पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक भइसकेका छन् । भनिरहनु पर्दैन कि नागरिक भइसकेपश्चात् अन्य नागरिकसरह उनी देशको जुनसुकै भागमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक भ्रमण गर्न पाउँछन । यो उनको कानुनी, संवैधानिक एवं विश्वव्यापी मानव अधिकार हो । उनले धार्मिक अथवा साँस्कृतिक भ्रमण गर्न पाउँदैनन् भनेर यदि कसैले भन्छन भने अझै उनीहरू ज्ञानेन्द्रलाई राजा नै मानिरहेका छन् भनेर बुझ्नु पर्ने हुन्छ । किनभने संवैधानिक राजाले देश भ्रमण मा होस् कि विदेश भ्रमणमा होस् जहाँ जाँदा पनि सरकारको स्वीकृति लिनुपर्ने हुन्छ । अपदस्थ, शक्तिविहीन एवं नागरिकमा रूपान्तरित भइसकेका पूर्वराजासँग यति बिघ्न डराउनु, उनको भ्रमणमा अवरोध सृजना गर्न खोज्नु, त्यसका लागि सम्पूर्ण दल एक भएर बन्दको आव्हान गर्नु बुझिनसक्नु छ । यसबाट अझै पूर्वराजासँग केहि शक्ति छ, अझै उनी केही गर्न सक्ने अवस्थामा छन् भन्ने बुझ्न सकिन्छ । हैन भने यसरी डराउनुको कारण के हो ? उनलाइ र उनको भ्रमणलाइ सुरक्षा दिनु हँुदैन भनेर कोकोहोलो मच्चाउनुको आशय के हो ?
जहाँसम्म सुरक्षाको प्रश्न छ, सुरक्षा उनलाई मात्रै होइन पूर्वमन्त्री, प्रधानमन्त्री र अन्य उच्चपदस्थ व्यक्तिलाई पनि दिनुपर्छ । कुनै पनि नागरिकले असुरक्षाको अनुभूति गर्‍यो भने उसलाई पनि सुरक्षाको प्रत्याभूति दिनु राज्यको कर्तव्य हो । ज्ञानेन्द्र शाह त पूर्वराजा नै हुन् उनलाई झन् बढी सुरक्षा दिनु देशको शान्ति, सुव्यवस्था र स्थिरताका लागि आवश्यक मात्रै होइन अनिवार्य छ । नियोजित अराजकतावादीहरूलाई शान्ति, सुव्यवस्था र स्थिरताको चिन्ता नभए पनि हामी आमनेपाली संक्रमणकालको यो संगीन परिवेशमा केही अनिस्ट निम्तिएर देश थप अशान्ति र अन्यौलतामा नजाओस् भन्नेतर्फ अत्यन्त चिन्तित र सजग छौँ । राजतन्त्रकालीन अवस्था र गणतन्त्रकालीन अवस्थामा शान्ति, सुव्यवस्था र स्थिरताका दृष्टिले, आर्थिक, सामाजिक रूपान्तरणका दृष्टिले, विकास, निर्माणका दृष्टिले, राष्ट्रिय स्वाभिमानका दृष्टिले फरक छुट्टिने परिस्थितिको निर्माण गर्न सक्नुपर्छ । पूर्वराजाको भ्रमणबाट यसरी आत्तिनै पर्दैन । उनी आफै किनारा लागिसकेका छन् ।
बहादुरले पछाडिबाट हान्दैन, लुकेर हान्दैन, रातको अँध्यारोमा हान्दैन, निर्बल र शक्तिहीनलाई पनि हान्दैन । यस्तो काम त कायरले मात्रै गर्छ । शक्तिहीन पूर्वराजामाथि यो वा त्यो गर्छु भन्ने तिनै हुन् जसले उनी शक्तिमा छँदा उनका पाउमा दाम चढाएर दण्डवत् गरेका थिए, प्रधानमन्त्रीका लागि दरखास्त हालेका थिए । विगतको उनको सवारीमा एउटा सिन्को हल्लाउन नसक्नेहरू अन्तरिम सरकार मात्रै भए पनि हुन्छ भनेर कार्यगत एकता गरेका थिए । त्यति बेलाको बहादुरी र अहिलेको बहादुरी जनताहरू रोचक मानेर हेरिरहेका छन् । जसरी जनताका बिचमा जान पाउनु नागरिक ज्ञानेन्द्र शाहको कानुनी, संबैधानिक अधिकार हो त्यसैगरी आफूलाई मन परेको व्यक्तिलाई कुनै सामाजिक, धार्मिक अथवा सांस्कृतिक काममा बोलाउन पाउनु र उसका कार्यक्रममा निर्वाध सहभागिता जनाउन पाउनु जनताको पनि अधिकार हो । जसलाई कुनै पनि बहानामा कुण्ठित गर्न पाइँदैन । कुनै पनि लोकतान्त्रिक मुलुकमा एक जनाको पनि असहमत हुने अथवा सहमत हुने अधिकारको रक्षा गरिएको हुनुपर्छ । त्यो मात्रै वास्तविकरूपमा लोकतान्त्रिक गणतन्त्र हो । कानुनले वर्जित नगरेको एक आम नागरिकको भ्रमणले धरमराउनुभन्दा पनि लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सम्बर्धनका लागि संविधान निर्माण गर्नेतर्फ दलहरूको ध्यान जानु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया