सिरियामा विदेशी सैन्य हस्तक्षेपको विरोध

राष्ट्रसंघ : इजिप्टका राष्ट्रपति मोहमद मोर्सीले जुनसुकै बहानामा सिरियामाथि हुने हस्तक्षेपको इजिप्टले विरोध गर्ने बताएका छन् । साथै, उनले सिरियाका राष्ट्रपति बसर अल असदले सत्ता त्याग्नुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘सिरियामा हुनसक्ने वैदेशिक सैन्य हस्तक्षेपको म विरोध गर्छु । यस्तो हस्तक्षेप अक्षम्य हुने र यसलाई भयानक गल्तीको संज्ञा दिन सकिन्छ भन्नेमा म प्रस्ट छ । यस्तो हस्तक्षेपप्रति इजिप्ट सहमत हुनेछैन,’ उनले भने ।
राष्ट्रसंघको ६७औँ महासभामा भाग लिन न्युयोर्क पुगेका मोर्सीले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा यस्तो सन्तुलित विचार व्यक्त गरेका हुन् । इजिप्टमा पूर्वराष्ट्रपति होस्नी मुबारकलाई आन्दोलनको बेगले सत्ताबाट अपदस्थ गरेपछि सम्पन्न निर्वाचनबाट मोर्सी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । मोर्सीको पार्टी मुस्लिम ब्रदरहुडमा धार्मिक कट्टरपन्थीको बाहुल्य रहेको अनुमान गरिन्छ ।
सिरियामा राष्ट्रपति असदले सत्ता त्याग्नुको विकल्प नरहेको र असदको शासनमा राजनीतिक सुधारको पनि कुनै सम्भावना नरहेको उनले प्रस्ट पारेका छन् । कुनै पनि मुलुकमा जनताले चाहेको किसिमको परिवर्तन आउनुपर्ने र जनताको सम्मान हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
स्वतन्त्रतातर्फको सिरियाली जनताको यात्रामा सहयोग गर्न उनले अरब राष्ट्रसँग आह्वान गरेका छन् । ‘मुलुकमा जारी क्रान्तिको सैन्य समाधान खोज्न सम्भव छैन भन्ने सिरियाली सत्ताले बुझिसकेको हुनुपर्छ । हजारौँ मानिसको ज्यान गइसकेको छ र अझै हजारौँको ज्यान जानेवाला छ । रत्तपात रोक्नु सबैभन्दा महत्त्वपूर्ण भएकाले सबैले यसका लागि पहल गर्नुपर्छ,’ उनले भने ।
असादको राजीनामा माग्दै सन् २०११ को मार्च १५ बाट सुरु भएको प्रदर्शन र विद्रोह अन्त्यका लागि इजिप्टले इरान, साउदी अरब र टर्कीसँग परामर्श गरिरहेकोसमेत मोर्सीले उल्लेख गरेका छन् । साउदी अरब र टर्कीले सिरियाली विद्रोहीलाई हतियारलगायत सहयोग उपलब्ध गराएको आरोप सिरियाली सरकारले लगाइरहेको छ । त्यसैगरी, राष्ट्रसंघका पर्यवेक्षकले सिरियाली सत्तालाई इरानले सिरियाली सत्तालाई फौजी सहयोग गरिरहेको दाबी गरेका छन् । यस्तोमा सिरियाली संकटका लागि यी राष्ट्रसँग परामर्श गरिरहेको मोर्सीले उल्लेख गरेका हुन् । (एएफपी)

प्रतिक्रिया