मैले बनाएका चलचित्र


युगदेखि युगसम्म
२०४० सालतिर मैले चलचित्रसम्बन्धी काममा हात हालेँ । सुरुमा हिन्दी चलचित्रको वितरकको काम गर्थें । त्यही सिलसिलामा जिल्लाबाट काठमाडौं आएँ । निर्देशक दीपक रायमाझी र निर्माता चिरञ्जीवी बस्नेतले निर्माण गरेको भाग्यरेखा चलचित्रको वितरण जिम्मा लिए । सो चलचित्रले राम्रो व्यवसाय भने गरेन । म त्यो चलचित्रको पोस्ट प्रोडक्सनका लागि मद्राससमेत गएको थिएँ । भाग्यरेखा नचलेपछि मैले निर्देशक दीपक दाइलाई मसँग एउटा कन्सेप्ट छ, त्यसमा चलचित्र बनाऊँ, लगानी म गर्छु भनेँ ।
टिम बनाएर युगदेखि युगसम्म चलचित्र निर्माण सुरु गर्‍यौँ । गरिब घरको केटा र घनी घरकी केटीबीच माया बस्ने गाउँले पाराको कथा तयार पारेर छायांकन थालियो । यसबाट राजेश हमाललाई अभिनयमा भित्र्याइएको हो भने द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी पनि यसै चलचित्रबाट प्रवेश गरे । कृष्टि मैनालीले सोलो नायिकाका रूपमा अभिनय थालिन् । त्यति बेला चलचित्र सुपर सिक्स्टिनमा खिचिन्थ्यो । सबै काम गर्न मुम्बई पुग्नुपथ्र्यो । २०४६ सालको अन्दोलन सुरु भइसकेको थियो । विभिन्न अवरोधका बाबजुद एक वर्ष लगाएर चलचित्र तयार भयो । त्यति बेलासम्म नेपाली चलचित्र सासू–बुहारीको घरायसी कथामै सीमित थियो । मचाहिँ नयाँ ट्ेरन्ड ल्याउनुपर्छ भन्ने चाहन्थेँ । रिलिजमा आएपछि यो चलचित्रले कसैले नसोचेको व्यापार त गर्‍यो नै, कथावस्तुमा रहेको पुरानो ट्ेरन्ड पनि परिवर्तन गरिदियो । २० लाख लगानी रहेको चलचित्रबाट मैले ४० लाखजति कमाएँ ।
नाता
पहिलो चलचित्रको सफलताले ममा हौसला थप्यो । ०५० सालतिर नाता चलचित्र सुरु गरँे । त्यति बेलाका चलेका हिरो विश्व बस्नेत दाइसँग राम्रै चिनजान थियो । उहाँले यही चलचित्रबाट निर्देशनमा पाइला बढाउनुभयो । कथा मेरै थियो, ब्रजेश खनाललाई स्क्रिप्ट लेख्न दिएँ । उति बेला हेरेको एउटा हिन्दी फिल्मको कथालाई नेपालीमा ढालेको थिएँ । यो चलचित्रमार्फत श्रीकृष्ण श्रेष्ठलाई नायक र गीताञ्जलीलाई नायिकाका रूपमा भित्र्याएँ । भुवन केसी, अशोक शर्मालगायत कलाकार पनि छन् । सानो पर्दामा चल्तीमा रहेका हास्यकलाकार नारायण त्रिपाठीलाई पनि यसैमार्फत ठूलो पर्दामा ल्याइयो । यो चलचित्र पनि दर्शकले धेरै मन पराए । राम्रो व्यवसाय गर्‍यो ।
यसमा सबैभन्दा धेरै पारिश्रमिक भुवनलाई २५–३० हजार दिएको थिएँ । यसमा कुल ३० लाखको लगानी थियो । यति चल्यो कि ९८ औँ दिनमा आफँैले चलचित्र उतार्न लगाए । त्यसरी उतार्दा नायक श्रीकृष्णले चित्त दुखाए । पहिलोचोटि खेलेको चलचित्रबाट सयौँ दिन प्रदर्शनको अवार्ड पाउने इच्छा उनमा थियो । तर, लाखौँ रुपियाँको अवार्ड खर्च जोगाउन चाहन्थेँ ।
जन्मभूमि
यो चलचित्र निर्देशनको जिम्मा मोहन निरौलालाई दिएँ । पुकार चलचित्रमा उहाँले राम्रो गर्नुभएको थियो । यसमा शिव श्रेष्ठ र सरोज खनाल नायक थिए । विपना थापालाई अभिनेत्रीका रूपमा भित्र्यायाँै । यसलाई देशभक्तिपूर्ण चलचित्र बनाएका थियाँै । छायांकनको सिलसिलामा नायक शिव श्रेष्ठ आपँैmले चलाएको बन्दुक पड्केर घाइतेसमेत भए । केही दिन अस्पताल राख्नुपरेको थियो । तर, यसले उति राम्रो व्यवसाय गरेन, जेनतेन लगानी उठायो ।
हिरो
०५१ मा जन्मभूमि बनाएपछि ०५७ सम्म हिन्दी चलचित्रको वितरण मात्र गरेँ । त्यही बेला श्याम खेतान र म सँगै थियौँ । नरेश पौडेल साथी भएकाले सधैँ भेट हुन्थ्यो । फिल्मका कथा सुनाइरहनुहुन्थ्यो । एक दिन हिरो को कथा सुनाउनुभयो, मन पर्‍यो । पार्टनरसिपमा चलचित्र सुरु गर्‍यौँ । नरेश, श्याम र म मिलेर नमस्ते नेपाल भन्ने कम्पनी खोल्यौँ । यसै चलचित्रबाट नायकका रूपमा नवीन श्रेष्ठ र नायिकाका रूपमा पूजना प्रधानलगायतलाई भित्र्यायौँ । यसमा अघिल्ला चलचित्रभन्दा निकै बढी ६५ लाख लगानी भएको छ । त्यसैले लगानी उठाउन सिडी राइटको समेत सहारा लिनुपरेको थियो ।
कस्तो साइनो
हिरोले लगानी उठाएपछि मैले ‘कस्तो साइनो’ चलचित्रको काम सुरु गरेँ । निर्देशक लिएँ, मदन घिमिरेलाई । राजेश हमाल, करिस्मालगायतलाई कलाकारमा लियौँ । गुन्डालाई बाटोमा भेटिएको एउटा बच्चाले सुधार्ने कथा थियो यसमा । यसले ठीकै व्यवसाय गर्‍यो ।
यस्तै रहेछ जिन्दगी
०५९ सालतिर निर्माण गरेको यो चलचित्रबाट मैले अरुणिमा लम्साललाई नायिकाका रूपमा ब्रेक दिएँ । राजेश हमाल र जल शाह नायक/नायिका थिए । निर्देशक थिए, विश्व बस्नेत । बडो दु:ख गरेर बनाइयो । विश्व दाइले निकै मिहिनेत गर्नुभयो । तर, चलचित्र चलेन, डब्बा भयो । तर, पनि जल शाहले विभिन्न अवार्डमा यसैबाट बेस्ट अभिनेत्रीको अवार्ड पाइन् । मेरा चलचित्रमध्ये सबैभन्दा असफल यही हो । यसै चलचित्रमा नरेश र मेरो मनमुटाव भएपछि म छायांकनमै गइनँ । मेरो नाम पनि राख्नुपर्दैन भनेको थिएँ । तर, पछि समझदारीमा राखियो । यो चलचित्रको नामै आकर्षक नभएकाले नचलेजस्तो मलाई लाग्यो । हामीलाई चालीस लाख नोक्सान भयो । यसै चलचित्रपछि नरेशजी, श्याम खेतान र मेरो पार्टनरसिप टुट्यो ।
अजम्बरी नाता
पार्टनरसिप टुटेपछि म नयाँ कम्पनी दर्ता गरेर ‘अजम्बरी नाता’ चलचित्र बनाउन थालेँ । राजेश हमाल, निरुता सिंह, श्रीकृष्ण श्रेष्ठलगायतलाई कलाकार लिएँ । निर्देशक थिए, प्रदीप श्रेष्ठ । मैले आजसम्म बनाएकामध्ये सबैभन्दा राम्रो चलचित्र यही हो । कथा मेरै थियो । आमाबाबु बितेका चार बच्चाको जीवनमा आइपर्ने संघर्षलाई विषय बनाएको थिएँ । लागत ४५ लाख थियो भने यसले ५५ लाखभन्दा माथिको रकम उठायो । चाड पर्वमा रिलिज भएको भए अझ धेरै उठाउँथ्यो होला । यसको कथाबाट मैले सबैको प्रशंसा पनि पाएँ ।
हिम्मत
दीपक श्रेष्ठले निर्देशन गरेको यो चलचित्रबाट सानोतिनो भूमिका गर्दै आएका विराज भट्टलाई हिरो बनाएँ । यसको ‘मैले त्यही भएर मन पराको’ गीतबाट नेपाली तारा दीपक लिम्बूले चलचित्र गीत गाउन सुरु गरे । नायिकाको डबल रोल रहेको यो चलचित्रमा सम्पत्तिका विषयमा हुने पारिवारिक झगडालाई विषय बनाइएको छ । मेरो युनिट छायांकनका लागि काठमाडौंबाहिर गएको पहिलोचोटि यसै चलचित्रबाट हो । निर्देशक दीपक श्रेष्ठको निर्देशनयात्रामा यसले इँटा थप्ने काम गरेको छ । यसले राम्रो व्यवसाय गर्‍यो । निर्देशक श्रेष्ठले पछि यही नामको पछाडि २ राखेर अर्को चलचित्र बनाउनुभयो तर चलेन ।
किस्मत
यसमा उज्ज्वल घिमिरेलाई निर्देशक लिएँ । ‘विश्वास’ पछि उहाँ अब चलचित्र निर्देशन गर्दिनँ भनेर आठ वर्षदेखि त्यत्तिकै बसिरहनुभएको थियो । मैले उहाँलाई कन्भिन्स गरेँ । उहाँ र म बसेर स्क्रिप्ट तयार पार्‍यौँ । चलचित्र खिच्ने क्यामेरा मसँगै थियो । यसमा पहिलोचोटि आर्यन सिग्देललाई नायक लियौँ । विराज भट्ट पनि थिए । उज्ज्वल दाइले यसलाई सिनेमास्कोप बनाऔँ भन्नुभयो, मैले हुन्छ भनेँ । मुम्बईबाट सिनेमास्कोप खिच्ने क्यामरा तथा प्राविधिक ल्याएँ । त्यति बेला थन्क्याएको क्यामेरा अहिलेसम्म चलाएको छैन, अब त म्युजियममा राख्न मात्र होला जस्तो छ ।
बम्बईबाट ल्याएका प्राविधिकका विभिन्न डिमान्ड पूरा गर्दा केही बढी खर्च भयो । तर, चलचित्र चलेपछि सबैले मेरो तारिफ गरे । उज्ज्वल दाइले पनि राम्रो काम गर्नुभएको छ । खर्च कटाएर पनि २५ लाख त मलाई नगर्दै फाइदा भयो ।
हिफाजत
बम्बईबाट ल्याएको क्यामेरा र प्राविधिकले दिक्क पारेकाले विकल्प खोजिरहेको थिएँ । त्यही बेला जय नेपालले टुके क्यामेरा ल्याएको थियो । कागबेनी खिचेपछि त्यो क्यामेरा कसैले प्रयोग गरेका थिएनन् किनभने कागबेनीले लगानी उठाउन सकेको थिएन । त्यो क्यामेराको क्वालिटीमा चलचित्र देखाउने सर्भरको विकास पनि भइसकेको थिएन यहाँ ।
तर, पनि ‘हिफाजत’ सोही क्यामेराले खिच्न सुरु गरेँ । विराज भट्टसँग कुरा नमिलेपछि आयुष रिजाललाई यसै चलचित्रमार्फत रजतपटमा भित्र्याए । छायांकन सुरु गरेपछि छवि बौलाएछ पनि भने कसैले । टुके क्यामेराको छायांकन देखाउने प्रविधि नै छैन त किन प्रयोग गरेको होला भने । तर, जयनेपालले मलाई तपाईंको सिनेमा तयार हुँदासम्म त्यो प्रविधि पनि तयार भइसकेको हुनेछ भनेर ढुक्क पारेको थियो ।
तर, पनि चलचित्र कहाँकहाँ चलाउन सकिएला, रिजल्ट के आउलाजस्ता कुरा मनमा खेल्दा रातभरि निद्रा लाग्दैनथ्यो । युवापुस्तामाझ मौलाएको डिस्को जाने, चुरोट खानेजस्ता विषयलाई चलचित्रको कथा बनाएको थिएँ । प्रदर्शनका लागि तयार हुँदासम्म यसको सर्भर पनि बनेछ । नेपालभर रिलिज भयो । चलचित्र चल्यो । ‘अब छवि डुब्यो’ भन्नेको मुखमा ताला लाग्यो । आज सबैले चलचित्र टुकेमा खिच्न थालेका छन् । हिफाजतको प्रदर्शनपछि चलचित्र रिलबाट देखाउने सिस्टम हट्यो ।
कसले चोर्‍यो मेरो मन
चिफ एसिस्टेन्ट गरिरहेका सविर श्रेष्ठलाई यसमा निर्देशक लिएँ । प्रदीप भारद्वाजले यसैबाट पहिलोचोटि चलचित्रको स्क्रिप्ट लेखे । कथा एकदम राम्रो थियो । अहिले पनि राणाहरूले आफूलाई राजा नै सम्झने र घरका छोरीबेटीलाई बाहिर अरूसँग हिँड्न दिँदैनन् । आवश्यक सबै सामग्री घरमै उपलब्ध गराइदिन्छन् । बाहिरै पठाउन परे युरोप पठाउँछन् । यही अहम्ताको कथा छ चलचित्रमा ।
राणाको परिवेश, भिलेन स्टाइल, बग्गीलगायत विभिन्न शीर्षकमा खर्च पनि धेरै भए । यसमा २९ दिन त नाइटको मात्र सुटिङ गरियो । यो सिन एयरपोर्टपछाडि खिचेका थियौँ । छायांकनका सिलसिलामा लाइट बाल्दा प्लेन उड्न अप्ठ्यारो हुँदो रहेछ ।
यो चलचित्रको सुटिङमा आउँदा नायक आर्यन सिग्देल नमज्जाले लडे । यसको नाम लामो भएकाले नचल्ने हो कि भन्ने चिन्ता थियो, त्यसैले प्रचारप्रसार निकै गरेँ । मैले सबैभन्दा बढी प्रचारप्रसार गरेको चलचित्र यही हो, झन्डै ६ महिना । दसैँको बेलामा रिलिज भयो । चलचित्र कस्तो चल्ने हो भन्ने टेन्सनले म फोन अफ गरेर बसेँ । बेलुका तीन बजेतिर वितरकलाई फोन गरेर सोधे । उनीहरूले तपाईं ढुक्क हुनुस्, एक दम राम्रो चल्यो भनेपछि खुसी लाग्यो । त्यसपछि निर्देशकलाई बोलाएँ । चलचित्र चल्यो, लौ जमौँ भन्दै हामी रमाइलो गर्नतिर लाग्यौँ । मेरा सबैमध्ये चलचित्रमध्ये नाम र दाम दुवै कमाएको चलचित्र यही हो ।
अन्दाज
अब चलचित्र नबनाउने भनेर बसेको थिएँ । त्यही बेला अशोक शर्मा दाइ र उज्ज्वल दाइ भेट हुनुभयो । उहाँहरूले सधैँ सिनेमा बनाइरहने मान्छेले पनि यसो भन्न हुन्छ भन्नुभयो । त्यसो हो भने तपाईंहरू पनि पार्टनर बस्नुस् न त भनेँ । हामी तीनजना पार्टनर बनेर ‘अन्दाज’ चलचित्रको डिजाइन गर्‍यौँ । तिनै जनाको नाममा फार भन्ने कम्पनी खोल्यौँ । यो चलचित्रको लोकेसन हेर्न जोमसोम, लुम्बिनी गइयो । विदेशमा गर्ने भनेर गोवा पनि पुगियो । सुटिङको समयमा गोवाको छायांकन चाहिँ लुम्बिनीमै गरियो । देशका पचासौँ ठाउँमा लामो समय सुटिङ भएकाले यो चलचित्र हेर्दा पूरै देश घुमेको अनुभव हुन्छ । निर्माण क्रममा जति नै दु:ख भए पनि चलचित्र सफल भयो । यसको ‘सिम्पल–सिम्पल कान्छीको डिम्पल पर्ने गाना’ सबैको मुखमा झुन्डियो ।
रावण
अन्दाजकै टिमसँग अर्काे चलचित्र गर्ने कुरा भइरहेको थियो । मेरो चलचित्रमा कलाकारका रूपमा काम गरिसक्नुभएका कमलकृष्णजी आई लभ यु टु नाम राखेर एउटा चलचित्रको कथा लिएर आउनुभयो । मलाई मन पर्‍यो । निर्माता अरू छैन भने म लगानी गर्छु तर नाम भने परिवर्तन गर्नुपर्छ भनेँ । यसमा भिलेनले धेरै घटना गराउने भएकाले यसको नाम रावण राखेँ । हिन्दी चलचित्रमा गजनीजस्तै रावण चल्लाजस्तो लाग्यो । सविन श्रेष्ठलाई हिरो लिएँ । कसले चोर्‍यो मेरो मनमा सानो रोलमा खेलेका किशोर खतिवडालाई पनि यसमा हिरो बनाएँ । कमलकृष्ण पहिलोचोटि निर्देशकका रूपमा देखिए । यो नारीप्रधान चलचित्र भएकाले ठीकै व्यवसाय गर्‍यो ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया