नयाँ बसपार्कको अनुगमन गर्न प्राविधिक टोली

काठमाडौं, १० असोज । नयाँ बसपार्कमा निर्मित भौतिक संरचनाको अनुगमनका लागि महानगरपालिकाले प्राविधिकसहित टोली गठन गरेको छ ।

महानगरपालिकाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाको संयोजकत्वमा प्राविधिकसहतिको तीन सदस्यीय टोली हालै गठन गरिएको हो । नयाँ बसपार्कमा भौतिक संरचना निर्माणका विषयमा विवाद भएपछि अनुगमन गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका र लोत्से बहुउद्देश्य प्रालिसँग एक सय ६१ रोपनी जग्गामा ४५ करोड रुपियाँ लगानी गर्ने गरी २९ चैत २०५६ मा ४५ वर्षका लागि सम्झौता भएको थियो । टोलीले बसपार्कमा निर्मित तथा निर्माणाधीन भवन मापदण्डअनुरूप छ/छैन भनेर अनुगमन गर्ने भएको छ । बसपार्कमा लोत्सेले बनाएर लोत्सेले केटु भेन्चरलाई लिजमा दिएका भवन सम्झौताअनुरूप भए/नभएको अनुगमन गरी प्रतिवेदन टोलीले महानगरपालिकालाई बुझाउनेछ ।
टोली संयोजक थापाले नयाँ बसपार्कमा बन्दै गरेका भौतिक पूर्वाधारको अवस्था बुझ्नुका साथै निर्माण भएका भवन पनि सम्झौताअनुरूप छ/छैन स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरिने बताए । सम्झैताको एक वर्षमै लोत्सेले महानगरपालिकासँग गरेको सम्झौताअनुरूप काम नगरी अर्को नक्सा बनाएको थियो । महानगरपालिकालाई बुझाउनुपर्ने रोयल्टीसमेत नबुझाएपछि विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो । टोलीलाई प्रतिवेदन बुझाउनका लागि म्याद भने तोकिएको छैन । नयाँ बसपार्कमा सम्झौताविपरीत काम भए/नभएको अनुगमन गरी प्रतिवेदन चाँडै महानगरपालिकालाई बुझाइने थापाको भनाइ छ ।

प्रतिक्रिया