लागुऔषधसहित १४ पक्राउ

काठमाडौं, १० असोज । प्रहरीले लागुऔषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । विभिन्न ठाउँबाट पक्राउ परेका अभियुक्तलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धादिङ तिप्लिङ–४ का १९ वर्षीय एथापा तामाङ, १९ वर्षीय जयराम तामाङ, धादिङकै झारलाङ– ७ का २४ वर्षीय रमेश भनिने बै लामा तामाङ, नुवाकोट देउराली–९ का २८ वर्षीया रीता भनिने कालीमाया तामाङ, पर्सा लिपनी विर्ता–५ का जियालाल सहनी, पर्सा वीरगन्ज–१८ का महेशप्रसाद कुर्मी, बारा निजगढ–७ का २९ वर्षीय चन्द्रबहादुर न्यौपाने, सिरहा बडहरामाला–६ का ५० वर्षीय सहज दास छन् । त्यस्तै, मोरङ विराटनगर–२० का ४२ वर्षीय गोपालप्रसाद गुप्ता, धनुषा बङगाडावर–२ का गणेशकुमार लामा, धादिङ दार्खा–६ का सुनीलकुमार तामाङ, सिरहा भगवानपुर–९ का २० वर्षीय अरुणकुमार साह, बारा जितपुर–६ का २० वर्षीया लालकुमारी पुरी र मंगलटार–७ का २५ वर्षीय शान्तिकुमारी आले पनि पक्राउ परेका छन् ।
प्रहरीले एथापा, जयराम, बै, कालीमाया, जियालाल र महेशप्रसादलाई पाँच सय ३० ग्राम खैरो हेरोइनसहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । ८० ग्राम खैरो हेरोइनसहित चन्द्रबहादुर कलंकीबाट र ५० ग्राम खैरो हेरोइनसहित सहज कालीमाटीबाट पक्राउ परेका थिए । त्यसैगरी, गोपालप्रसादबाट डाइजेपाम र बुप्रेनर्फिन गरी चार हजार एम्पुल, गणेशकुमार र सुनीलकुमारबाट दुई हजार चार सय एम्पुल डाइजेपाम र बुप्रेनर्फिन, अरुणकुमारबाट एक हजार डाइजेपाम र बुप्रेनफिन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लालकुमारीबाट एक हजार एम्पुल बुप्रेनर्फिन र डाइजेपाम, शान्तिकुमारीबाट चार सय ५० एम्पुल डाइजपाम र ८५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

प्रतिक्रिया