चार बन्धक महिलाको उद्धार

विराटनगर, १० असोज । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा उर्लाबारीमा बन्धक बनाइएका चार युवतीलाई प्रहरीले मंगलबार उद्धार गरेको छ ।

उर्लाबारी–६ बस्ने बाबुराम खड्काले एक महिना अघिदेखि बन्धक बनाएर राखेका नेपालका चार युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उद्धार गरेको हो । उद्धार गरिएकामा भोजपुर दलगाउँ–१ की ३१ वर्षीया विष्णुमाया परियार, अर्घाखाँची जुकेना–५ की १७ वर्षीया सुष्मा दर्जी, जाजरकोट रक्ता–९ की
१८ वर्षीया सुस्मिता विक र कपिलवस्तु करैया–७ की १८ वर्षीया पार्वती चौधरी छन् ।
साउदी अरब पठाइदिने प्रलोभन देखाई खड्काले विगत एक महिनादेखि ती युवतीलाई एउटा कोठामा बन्धक बनाइराखेको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी उमाप्रसाद चतुर्वेदीले बताए । युवतीलाई बन्धक बनाएर राखेको सुराकीको आधारमा ती युवतीहरूलाई सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । बन्धक बनाउने खड्का फरार रहेको र खड्काकी जेठी पत्नी रेणुका खड्कालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया