सार्वजनिक जग्गा अतिक्रमण बढयो

गुल्मी, १० असोज । सदरमुकाम तम्घासको सार्वजनिक जग्गा अतिक्रमणमा नगर विकास समिति तम्घासले सक्रियता बढाएको छ । नगर विकास समितिको सक्रियतापछि जग्गा अतिक्रमण गर्ने वरिष्ठ व्यक्तिसमेत चिन्तामा परेका छन् ।

चर्को नागरिक दबाबपछि नगर विकास समितिले सार्वजनिक जग्गा नापजाँच सुरु गरेको हो । तम्घासको ९ वटै वडामा पुगेको तम्घास खोलाको छेउछाउबाट अतिक्रमण गरिएको छ । चारदखि १४ मिटरसम्म फैलिएको खोलामा लगभग तीन मिटरको अनुपातमा जग्गा अतिक्रमण गरिएको नगर विकास समिति तम्घासका संयोजक गिरिप्रसाद पाण्डेले बताए । ‘सार्वजनिक जग्गामा तारबारसहित भौतिक निर्माणसमेत गरिएको छ,’ पाण्डेले भने, ‘पहिचान कार्यक्रम सकिएपछि आवश्यक प्रक्रिया अगाडि बढ्छ ।’
तम्घास–२ को बाख्रे क्षेणालाई शून्यबिन्दु मानेर नगर विकास समितिले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला नापी कार्यालयको समन्वयमा अतिक्रमित सार्वजनिक जग्गा पहिचानको काम थालिएको हो । ‘जनगुनासो साँच्चिकै रहेछ, ठूलाबडाले समेत सार्वजनिक जग्गा अतिक्रमण गरेका छन्,’ पाण्डेले थपे ।
जिल्ला नापी कार्यालय गुल्मीका प्रमुख ध्रुवनारायण सिंह थापाका अनुसार तम्घास गाविसमा नौ हजार पाँच सय ८१ रोपनी १० आना १ पैसा ३ दाम जग्गा सार्वजनिक स्रेस्तामा रहेको छ । यसमध्ये तम्घास नगरभित्रको जग्गा बढी अतिक्रमणमा परेको छ । पहिलो चरणको कार्यक्रमपछि सर्वदलीय, सर्वपक्षीय, जिल्ला प्रशासन, मालपोत कार्यालयलगायतको संयुक्त निष्कर्षपछि आवश्यक काम थालिने नगर विकास समिति तम्घासले जनाएको छ ।
यद्यपि तम्घासको धैरैजसो ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण भएको स्थानीय बासिन्दा बताउँछन् । ‘तम्घासका मै हूँ भन्ने समाजसेवीले पनि सार्वजनिक जग्गा मिचेका छन्,’ स्रोत नखुलाउने सर्तमा एक स्थानीयले बताए ।

प्रतिक्रिया