“बिन्दासले विकृति भित्र्याएजस्तो लाग्यो’

काठमाडौं : नेपाली चलचित्रलाई माया गर्नेमध्येमा पर्छु म पनि । फुर्सद भएसम्म चलचित्र हेर्ने बानी छ । महिनामा दुइटा त हेरेकै हुन्छु । प्रथमिकतामा नेपाली चलचित्र नै पर्छन् । चलचित्रले सांस्कृतिक जागरण, मनोरञ्जन र सन्देश बाँड्ने काम गर्छ । पछिल्लो समय मायाज बार हेर्दा नेपाली चलचित्रले प्राविधिकदेखि सबै पक्षमा विगतभन्दा फड्को मारेको आभास पाएँ । हुर्कंदै गएको नेपाली चलचित्र क्षेत्र अहिले जीवनको मध्यभागमा रहेको छ । यसलाई अझ अगाडि लैजान चलचित्र कर्ममा लागेका व्यक्तिले ठूलो मिहिनेत गर्नुपर्ने देखिन्छ । चलचित्रकर्मीले पहिले यसमा भित्रिन लागेको विकृति त्यागेर अगाडि बढ्नुपर्छ ।
मलाई समयसमयमा निर्माण भएका फरकफरक नेपाली चलचित्र मन परेका छन् । सुरुका समयमा बनेको चलचित्र कुसुमे रुमाल सारै मन परेको चलचित्र हो । त्यसपछि वासुदेव, सन्तान र भानुभक्त मन परे । अहिलेचाहिँ लुट र चपली हाइट पनि राम्रै लागे ।
पहिलेको चलचित्रमा मनोरञ्जन र सन्देश बढी हुन्थ्यो भने अहिलेकामा ती सबै हराउँदै गएको छ । अहिलेका कलाकारले पहिलेका कलाकारका तुलनामा अभिनय जीवन्त पनि गर्न सकेका छैनन् । हालै बिन्दास पनि हेरेँ । लुट र चपली हाइट हेर्दा चलचित्र उद्योगले लिएको फरक धार प्रगतिउन्मुख नै लाग्छ तर बिन्दास हेर्दा विकृति भित्रिएजस्तो लाग्यो । भल्गारिटीलाई प्राथमिकता दिने पाराले चलचित्र क्षेत्र अग्रस्थानमा पुग्ने आशा गर्नु बेकार हो ।
मलाई मन पर्ने कलाकार नायकमा भुवन केसी हुन्, पहिल्यैदेखि । उनको अभिनय सदावहार छ । नायिकामा चाहिँ गौरी मल्ल र करिस्मा मानन्धरको कला मन पर्छ ।
पछिल्लो समय चलचित्र सेक्सका विषयमा मात्र केन्द्रित भएका छन्् । यस्ता चलचित्रले न त समाजमा सन्देश छोड्नसकेका छन् न त व्यवसाय नै गर्नसकेका छन् । त्यसैले दिनप्रतिदिन चलचित्रमा गरिएको लगानी बालुवामा पानि हालेसरह भएको सुनिँदै आएको हो ।
अहिलेको समसामयिक राजनीति र चलचित्रमा देखाइने राजनीतिमा आकाश–पातालको फरक छ । चलचित्रमा बुझेर, अनुसन्धान गरेरभन्दा पनि हचुवाका भरमा राजनीति देखाउने गर्नाले जीवन्त हुनसकेको छैन । स्क्रिप्ट लेख्दा नै कुनै परिश्रम गरिएको देखिँदैन । प्रस्तुतिका दृष्टिले चलचित्र फितला लाग्छन् । तर, लुटले राजनीतिलाई फरक तरिकाले देखाउन खोजेको छ ।
नेपाली चलचित्रको लगानी नउठ्नुको एउटा कारण यसको बाहिरी बजार नखोज्नु पनि हो । त्यसो त स्वदेशभित्रै मन पराइने चलचित्र नबनेसम्म विदेशी बजारको आश गर्नु पनि बेकार हो । त्यसैले गुणस्तरीय चलचित्र बनाउनेतर्फ ध्यान दिए मात्र उद्योग उँभो लाग्छ । (वार्तामा आधारित)

प्रतिक्रिया