हमालले हेरे ‘अमरसिंह’

काठमाडौं : केही दिनअघि नायक राजेश हमाल विद्यार्थीमाँझ थिए । सो दिन यी अभिनेता मञ्चमा अभिनय गरिरहेका विद्यार्थीलाई हेरिरहेका थिए । विद्यार्थीको अभिनय, लबाइ देख्दा यिनले आफूले अभिनय गरेको ऐतिहासिक चलचित्र ‘वसन्ती’ सम्झिए होलान् । किनकि यी विद्यार्थी पनि ऐतिहासिक पोसाकमा देखिन्थे, त्यहीबेलाको जस्तो भाषा बोलिरहेका थिए । उनीहरू अभिनय गरिरहेका थिए बालकृष्ण समद्वारा लिखित नाटक ‘अमरसिंह’ मा ।
ललितपुरस्थित डिएभी स्कुलले ६ गतेदेखि तीन दिनसम्म सञ्चालन गरेको नाटक सोमबार सम्पन्न भएको छ । पहिलो दिन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्लसँगै नायक हमालले पनि नाटक हेरेका थिए । डा. घनश्याम खतिवडाको निर्देशनमा विद्यार्थीले नाटकमार्फत देखाएको राष्ट्रभक्तिपूर्ण प्रस्तुति भावुकतापूर्ण थियो । मञ्चभरि वीर योद्धा अमरसिंहको वीरगाथा छताछुल्ल हुँदा उपस्थित सबैले ताली बजाएका थिए । त्यसै गरी ७ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङ (वैरागी काइाला) काइँला विद्यार्थीको अभिनयकला हेर्न पुगेका थिए ।
सोमबार अन्तिम दिन वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले विद्यार्थीमाझ रौनक थपेका थिए । विद्यार्थीको जीवन्त प्रस्तुति मानिसभित्र देशप्रेम र राष्ट्रभक्ति जगाउन सक्षम भएको धारणा उपस्थितको थियो । कक्षा ९ र १० विद्यार्थीले अभिनय गरेको नाटक करिब दुई हजार दर्शकले अवलोकन गरेको विद्यालयले जानकारी गराएको छ । डिएभी स्कुलले आगामी वर्ष शाकुन्तल नाटक मञ्चन गराउने योजना बनाएको छ । (सौस)

प्रतिक्रिया