इजरायली धम्कीको बेवास्ता

न्युयोर्क : इरानमाथि आक्रमण गर्ने इजरायलको धम्कीलाई इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजादले हलुका रूपमा लिएका छन् । ‘यहुदीवादी शासन’ले आक्रमण गर्ने र उसबाट खतरा आइलाग्ने विषयलाई आफूहरूले गम्भीरतापूर्वक नलिएको उनले बताएका छन् ।
अमेरिकी दैनिक पत्रिका ‘वासिंगटन पोस्ट’लाई आइतबार दिएको अन्तर्वार्तामा उनले भने, ‘होहल्ला मच्चाएर आफूलाई जोगाउने प्रयत्न उनीहरूले (इजरायलीले) गर्ने नै भए । तर, यसमा उनीहरू सफल हुन्छन् जस्तो मलाई एकरत्ती पनि लाग्दैन । इरान प्रतिष्ठित मुलुक हो, उसको प्रतिरक्षा क्षमताबारे पनि सबै जानकार छन्,’ उनले भने । अहमदिनेजादले प्रशोधित युरेनियमको भण्डार कम गर्न आफूहरू तयार रहेको बताए । अहमदिनेजादको भनाइको ठीकविपरीत केही दिनअघि इरानी सेनाप्रमुख प्रमुख जनरल मोहम्मद अली जफारीले इरानमाथि इजरायली आक्रमण भएरै छोड्ने बताएका थिए । आक्रमणपछि यहुदी राज्य नष्ट हुने दाबीसमेत उनले गरेका थिए ।
अमेरिकी टेलिभिजन सिएनएनलाई दिएको अर्को अन्तर्वार्तामा अहमदिनेजादले इस्लामविरोधी फिल्म र समलैंगिकताको चर्को विरोध गरेका छन् । कुनै पनि धर्ममा आस्था राख्नेलाई भड्काउने खालका क्रियाकलापको इरानले सधैँ विरोध गर्ने उनले प्रस्ट पारेका छन् । ‘यसबाहेक हामी सबैखालको अतिवादको विरोध गछौँ । पवित्र धर्मगुरुको अपमान गर्नु ज्यादै फोहोरी काम हो । वाक्–स्वतन्त्रता अथवा अन्य कुनै खालका स्वतन्त्रतासँग यस्ता कार्यको कुनै सम्बन्ध छैन । स्वतन्त्रताको यो चरम दुरुपयोग हो, जसलाई हामी अपराध भन्न रुचाउँछौँ,’ उनले भने ।
समलैंगिकताबारे प्रश्न गर्दा उनले उल्टै प्रतिप्रश्न गरे, ‘समलैंगिकताबाट बच्चा जन्मिएको तपाईंले कतै सुन्नुभएको छ ? यसले प्रजनन प्रक्रियालाई रोक्छ ।’ ‘तपाईं जे पायो त्यही गर्नुहुन्छ र अर्काले यसलाई स्वीकार गरेन भने आफ्नो स्वतन्त्रता कुण्ठित भयो भन्न पाउनुहुन्छ ?’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया