कम्मर कसिन् बनर्जीले

कोलकाता : तृणमूल कंग्रसको विरोधलाई वास्तै नगरी केन्द्र सरकारले खुद्रा व्यापारमा विदेशी पुँजी निवेश खुला गर्ने निर्णय गरेपछि तृणमूल अध्यक्ष ममता बनर्जीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइसकेकी छन् । यसबाट केन्द्र सरकार टसमस नभएपछि नयाँ दिल्लीमै आन्दोलनको लहर उठाउन उनले कम्मर कसेकी छन् ।
अक्टोबर १ मा आफ्नो दलले राजधानी नयाँदिल्लीमा प्रदर्शन गर्ने घोषणा बनर्जीले सोमबार गरेकी छन् । विदेशी पुँजी निवेश खुला गर्ने, एलपिजी ग्यासमा दिँदै आएको सहुलियतमा अनेक अड्चन लगाउने र डिजेलको मूल्य बढाउने ‘जनविरोधी’ निर्णय फिर्ता लिन उनले सरकारसँग माग गरेकी छन् ।
‘यस्तो जनविरोधी निर्णयको सशक्त विरोध गर्न सबै एक होऔँ । प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छन् । हाम्रो आवाज भनेको जनताको आवाज हो, त्यसैले हामीले यसविरुद्ध आवाज उठाएर सरकारलाई (निर्णय फिर्ता लिन) बाध्य पार्नुपर्छ,’ फेसबुक स्टेटसमा बनर्जीले भनेकी छिन् । साथै, उनले आफ्ना फेसबुक फ्यानलाई प्रदर्शनमा उपस्थित हुन आह्वानसमेत गरेकी छिन् । लोकसभामा तृणमूलका १९ सदस्य छन् । केन्द्र सरकारसँग विवाद चुलिएपछि तृणमूलले केन्द्र सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालेका ६ मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । (एजेन्सी)

प्रतिक्रिया