सविताको ममता

आमा हुन आफैँले सन्तान जन्माउनुपर्छ भन्ने रहेनछ । ममतामयी भावना भयो भने अर्काको सन्तानलाई पनि आफ्नै छोराछोरीजस्तै माया र व्यवहार गर्न सकिँदो रहेछ । दोलखाको नाम्दु–१ मा जन्मिएकी सविता उप्रेती भर्खर २७ वर्ष पुगिन् । उनको बिहे भएको छैन । तर, उनका सन्तान थुप्रै छन्, थुप्रै केटाकेटी ‘आमा’ जसरी उनका वरिपरि झुम्मिरहेका हुन्छन् । ती सबैलाई न्यानो ममताले छोपेकी छन् सविताले । हुन पनि ती बालबालिकालाई जन्मदिने बुबाआमाले भन्दा बढी माया र हेरबिचार गरेकी छन् ।

काठमाडौंको पेप्सीकोलामा सविताले विशेष स्कुल तथा पुन:स्थापना केन्द्र खोलेकी छन्, जहाँबाट सुस्त मनस्थिति र अपांगता भएका बालबालिकाले पुनर्जन्म पाएका छन् । नौलो हाउभाउका बच्चा देख्दा सुरुमा त्यो स्कुलमा पुग्ने जोसुकै पनि झस्कन पुग्छ । केन्द्रकी प्रबन्धनिर्देशक सविताले शारीरिक एवम् मानसिक अशक्तता हुने बालबालिकाका लागि खेलेको भूमिका बुझेपछि भने जो पनि सहृदयी भएर फर्कन्छ ।
समाज कल्याण परिषद्अन्तर्गत अपांग कोषमा अधिकृतका रूपमा काम गर्दा अपांगता भएकासँग नजिकिने मौका पाइन् उनले । अपांग भन्नेबित्तिकै दुर्दुर गर्ने समाजमा सविताको युवा मनचाहिँ उनीहरूको पीडा देखेर नौनी घिउभैँm पग्लेर आयो । हाम्रो देशको नीतिनियम एवं कार्यान्वयन पक्ष जताततै औपचारिकतामा सीमित छ । आफूले जागिर खाएको संस्थामा पनि उनले त्यस्तै औपचारिकता मात्रै देखिन् ।
अपांगता भएका बालबालिकाका लागि पुन:स्थापना केन्द्र भए पनि तिनीहरूमा आउनेजाने मात्र हुन्थ्यो, प्रगति हुँदैनथ्यो । उनीहरूलाई शिक्षा र तालिमको व्यवस्था थिएन । अपांगता भएका विद्यार्थीलाई भर्ना गर्न गाह्रो मान्थे सामान्य विद्यालय पनि । यो देखेपछि सविताले महसुस गरिन्, यस्ता विद्यार्थीका लागि विशेष स्कुल खोल्नुपर्छ ।
२०६७ मा आफ्नो चाहनामा साथ दिने साथी भेटिन् उनले, सुगन्धकुमार श्रेष्ठ । उनैलाई अध्यक्ष बनाएर स्कुल सुरु गरिन् । च्याउसरि खुलेका स्कुलबीच बिल्कुलै नौलो थियो उनको स्कुल । चौरभरि विद्यार्थी थिएनन्, जम्मा दुईजना थिए पहिलो वर्ष । त्यसो त सुस्त मनस्थिति र अपांगता भएकालाई मात्र पढाउने धोको थियो उनको । अहिले त्यस्ता विद्यार्थी ५० जना पुगिसके । प्रतिकूलता र चुनौतीका बीच सुरु गरिएको यसखाले स्कुल यो नै नेपालको पहिलो भएको उनी दाबी गर्छिन् ।
दिसापिसाब कन्ट्रोल गर्न नसक्ने, हिँड्न नसक्ने, कसलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने ज्ञानै नभएका बच्चा उनका विद्यार्थी हुन्थे । तिनीहरूलाई अरू स्वस्थ बच्चाजस्तै दौडने, खेल्ने, आपैँm खाना खाने, स्वाभाविक गफ गर्न सक्ने बनाउनु कम्ती गाह्रो थिएन । तर, लगातारको मिहिनेतले सविता सफल भएरै छाडिन् । आज थुप्रै बच्चाले यहाँबाट ‘जिन्दगी’ पाएका छन् ।
सामान्य विद्यालयमा जस्तो कोचाकोच विद्यार्थी छैनन् । एउटा कोठामा चार–पाँच जना । सबै छुट्टाछुट्टै कुर्सीमा बसेर पढिरहेछन् । सिनामंगलका भास्कर थापाले यो स्कुलमा आएपछि चारवटा कुर्सी भत्काइसके । हाल उनका लागि विशेष प्रकारको फलामे कुर्सी बनाइएको छ । भित्ताभरि रंगीविरंगी कलमले अंग्रेजी र नेपाली वर्णमाला लेखिएको छ । वरिपरि विभिन्न प्रकारका खेलौना छन्, भास्कर तिनैलाई नियाल्दै छन् । ‘भास्कर लौ–लौ यो बनाउनुस् त,’ शिक्षिकाले यसो भनेको सुन्दा क्याम्पस लेभलको कक्षाजस्तो लाग्छ । खासमा उनीहरू विद्यार्थीलाई सानैदेखि आदर सिकाउन यसरी पढाउँदा रहेछन् । साना विद्यार्थीलाई पनि ‘तपाईं’ सम्बोधन गर्छन् ।
एघार वर्षकी श्रेस्ता ढुंगानाको अवस्था देखेर उनका अभिभावक साह्रै चिन्तित थिए । सुस्त मनस्थितिका कारण श्रेस्ता कुनै कुरा पनि बुझ्दैनथिन्, शौचालय पनि अरूले नै पुर्‍याइदिनुपथ्र्यो । डेढ वर्षअघि अभिभावकले श्रेस्तालाई सोही स्कुल पुर्‍याए । टुलुटुलु हेरेर वा आफूखुसी चकचक गरेर बस्नुबाहेक अरू कुनै प्रतिक्रिया हुँदैनथ्यो उनको । उनले पढ्न सक्लिन्जस्तो कसैलाई लाग्दैनथ्यो । छोरीको अवस्था देखेर आशा मारेका अभिभावक आज दंग छन् । श्रेस्ता अहिले खरर्र अंग्रेजीमा आफ्नो नाम भन्न थालेकी छन् ।
यी विद्यार्थी फर्निचरचाहिँ चाँडै बिगार्छन् । सामान्य स्कुलले दुई वर्ष पुर्‍याउने फर्निचर यी विद्यार्थी तीन महिना पनि टिक्न दिँदैनन् । त्यसो त अन्य सामान्य विद्यार्थीको जस्तो स्वाभाविक मानसिकता विकास पनि कहाँ भएको हुन्छ र ? समवयी उमेरका साथीहरू कति अघिबढे उनीहरूलाई पत्तो छैन, यो उनीहरूको मानसिक बाध्यता पनि हो । नयाँ आउनेहरूले आफ्नो कुर्सी टिपेर फाल्छन्, भाँचिदिन्छन् । शिक्षकको हात टोकिदिने, साथीलाई धकेल्ने, खेलौना फुटाउने गर्छन् । आपैँmले आपैँmलाई बुझ्न नसक्ने हालतका यी ‘अशिष्ट’ विद्यार्थीले केही दिनमै शिष्टतापूर्वक आगन्तुकलाई नमस्ते गर्दै आफ्नो परिचय दिएको देख्दा अचम्म लाग्छ । यसबीच उनीहरू लेख्न, पढ्न, कम्प्युटर चलाउन पनि जान्ने भइसकेका हुन्छन् ।
यहाँका प्राय: विद्यार्थीको स्वभाव र समस्या लगभग उस्तै रहेको प्रबन्धनिर्देशक सविता बताउँछिन् । सुरुमा आउँदा शिक्षकलाई खाउँलाजसरी हेर्ने बच्चा बिस्तारै झ्याम्मिन्छन् । शिक्षकको हात समाउन थाल्छन्, आफ्नोपनको अनुभूति गर्छन् । एक महिनामै विद्यार्थीमा यो परिवर्तन देखिन्छ । असामान्य विद्यार्थीहरू सामान्य बन्न थाल्छन् ।
सविताका अनुसार उनीहरू दुई प्रकारका विद्यार्थीलाई भर्ना लिन्छन् । शारीरिक अपांगता भएका र बौद्धिक अपांगता भएकालाई । ‘दृष्टिविहीनलाई अझै समेट्न सकेका छैनौँ,’ सविता भन्छिन्, ‘सहयोग र साथ पाए अझ धेरै बढाउने लक्ष्य छ ।’ बिहान आउने विद्यार्थी साँझ घर जान्छन् । यस्ता विद्यार्थीलाई छात्रावासमा राखेर पढाउने हो भने अझ प्रभावकारी हुने देखिन्छ । तर, अहिलेसम्म छात्रावासको व्यवस्था गर्न नसकेको र यसका लागि सहयोगको आग्रह भइरहेको सविता बताउँछिन् ।
तीस लाख रुपियाँबाट सुरु भएको यो स्कुल नाफामुखीभन्दा पनि पनि सेवामुखी बढी छ । नत्र त एक सुका खर्च गरेर एक रुपियाँ कमाउने सपना देख्नेहरूका बीच मासिक करिब एक लाख घाटा खाएर किन सञ्चालन गरिरहँदा हुन् उनीहरू । ‘हरेक महिना लाख रुपियाँ घाटा छ तर यस्ता बालबालिकालाई स्याहार्न पाउँदा प्राप्त हुने जुन आत्मसन्तुष्टि छ, त्योचाहिँ ठूलै फाइदा छ हामीलाई,’ सविता भन्छिन् । आपैँmले जन्माएका सामान्य स्थितिका बालबच्चाको रेखदेख गर्न त गाह्रो हुन्छ भने सुस्त:मनस्थितिका बालबालिकालाई परिवर्तन गर्नु पक्कै पनि सजिलो त कहाँ होला र ?
सबिताको पनि धेरैपटक विद्यार्थीले हात टोकिदिएका छन् । कतिचोटि कपडा च्यातिदिए । ६ महिनाअघि एक विद्यार्थीले पानीको बोतलले हानेर बनेको टुटुल्को अझै छ टाउकोमा । तर, पनि पटक्कै नराम्रो मान्दिनन् उनी । ‘अप्ठ्यारो त पाइलैपिच्छे छ । दैनिक तीस–पैँतीसजनालाई सम्हाल्नुपर्छ, सजिलोका लागि त अरू व्यवसाय पनि होलान् तर यो आत्माले रोजेको काम हो, त्यसैले सामान्य लाग्छ, नराम्रो लाग्दैन,’ उनी भन्छिन् ।
आफ्नो जीवन बनाउनेहरू समाजमा धेरै भेटिन्छन् तर अरूका लागि केही गर्नुपर्छ भन्नेहरू कमै हुन्छन् । तिनै कममध्ये पर्छन्, सविता र उनको संस्था । हालसम्म सुस्त:मनस्थितिका २० जना बच्चालाई पुनर्जन्म दिएर सामान्य स्कुलमा भर्ना हुन योग्य बनाइसकेको उनले जानकारी दिइन् । अज्ञानको अँध्यारोमा रहेका अपांग बालबालिकालाई शिक्षाको उज्यालो बाँड्नुका साथै १३ जनालाई रोजगारीसमेत दिएको छ स्कुलले ।
अब त सवितालाई लाग्न थालेको छ, ‘एउटी आमालाई आफूले जन्माएको बच्चाप्रति जति जिम्मेवारी हुन्छ, त्यत्तिकै जिम्मेवारी स्कुलमा आउने विद्यार्थीप्रति पनि छ ।’ उनीहरूको भविष्य कसरी राम्रो बनाउने भन्नेमै सोचिरहन्छिन् उनी ।
स्कुल सुरु गर्दाका दिन सजिला पटक्कै थिएनन् । आर्थिक जोहोका लागि बुबाआमा मात्र होइन, साथीभाइ र आफन्त पनि गुहारिन् । ‘मलाई सबैले अब बिहे गर भने तर मैले बिहे पछि गर्दै गरौँला, बरु दाइजोको पैसाचाहिँ अहिल्यै दिनुस्, अभियानमा लगाउँछु भनेँ,’ उनी सम्झन्छिन् । यसरी कठिनतापूर्वक गरिएको आर्थिक संकलनबाट कतिपय गरिब तथा असहाय विद्यार्थीलाई नि:शुल्क सेवा पनि दिएको छ संस्थाले । ‘हुनेखानेहरूसँग अवस्था हेरी पैसा लिने गरेका छौँ,’ सविता सुनाउँछिन् ।

प्रतिक्रिया