पूर्वसभामुखलाई गृहजिल्लामा कालो झन्डा

इलाम : पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङलाई विपक्षीहरूले गृहजिल्लामै कालो झन्डा देखाएका छन् ।
इलाममा सोमबारबाट सुरु भएको रामप्रसाद गौतम स्मृति अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता–०१२ को उद्घाटन गर्न इलाम आइपुगेका नेम्वाङलाई नेपाल आदिवासी जनजाति युवा महासंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।
नेम्वाङलाई सिडिओ कार्यालयबाट कार्यक्रमस्थल चोकबजारसम्म महासंघका कार्यकर्ताले विरोधस्वरूप कालो झन्डा देखाएका हुन् । नेम्वाङले संविधानसभाका अध्यक्ष भएर देशलाई संविधान नदिई संविधानसभा भंग गराउनुका साथै आदिवासी जनजातिका पक्षमा संविधान लेख्न आनाकानी गरेकाले कालो झन्डा देखाएको महासंघका सचिव राजकुमार राईले बताए ।
‘नेम्वाङले जनताका पक्षमा काम गर्न नसकेकाले विरोधस्वरूप कालो झन्डा देखाएका हौँ,’ उनले भने, ‘सभामुखले चाहेको भए विवादित विषयमा चुनाव गरेर भए पनि संविधान जारी गर्न सक्थ्यो तर जिम्मेवारीबाट पन्छिएर विनाउपलब्धि संविधानसभा भंग गराए ।’
यसैबीच, विरोधमा संघीय लिम्बुवान राज्य परिषद्ले पनि ऐक्यबद्धता जनाएको थियो । सभामुखले पदीय जिम्मेवारी बहन नगरेको र संघीय राज्यको मुद्दामा ध्यानाकर्षण नगरेकाले विरोध गरिएको परिषद्का जिल्ला सहसचिव मिन्सु जवेगुले बताए । (सौस)

प्रतिक्रिया