अधिकांश कर्मचारी ढिलो उपस्थित

इलाम : इलामका अधिकाशं सरकारी कर्मचारी तोकिएको समयभित्र कार्यालयमा हाजिर नहुने गरेको पाइएको छ ।
सिडिओ कार्यालय इलामले गरेको छड्केका क्रममा यस्तो भेटिएको हो । चेकजाँचमा कार्यालय समयभन्दा ढिलो गरी मात्र कार्यालयमा कर्मचारी उपस्थित भएको पाइएको सहायक सिडिओ पुरुषोत्तम घिमिरेले बताए ।
‘उपस्थित हुने समय बिहान १० बजे हो तर सवा दस बजेभित्र पनि कतिपय कर्मचारी उपस्थित नरहेको पाइयो,’ घिमिरेले भने, ‘समयमै उपस्थित नहुने कर्मचारीको ध्यानाकर्षण गराएका छौँ, सुनुवाइ नभए कारबाहीको अभियान सुरु हुनेछ ।’ समयमा उपस्थित नहुने कर्मचारीको उपस्थिति हाजिरीमा रातो रेजा लगाइएको पनि उनले जनाए ।
कार्यालयले मालपोत कार्यालय, इलाम नगरपालिका, घरेलु तथा साना उद्योग, जिल्ला निर्वाचन कार्यालयलगायत सरकारी कार्यालयमा छड्के गरेको थियो । (सौस)

प्रतिक्रिया