पूर्वप्रधानमन्त्रीद्वारा अग्निपीडितलाई सहयोग

धनकुटा, ९ असोज । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले २२ भदौमा विद्युत् लाइन सर्ट हुँदा भएको आगलागीका पीडित १० परिवारलाई आर्थिक सहयोग गरेका छन् । लेगुवास्थित रामबजारका आगलागी पीडित परिवारलाई १० हजार रुपियाँका दरले थापाले आर्थिक सहयोग गरेको थापाका भतिजा कुमारबहादुर थापाले बताए । शनिबारदेखि गृहजिल्ला धनकुटाको भ्रमणमा रहेका थापाले सोमबार लेगुवा रामबजार पुगेर पीडित परिवारसँग भेटघाट गरी आर्थिक सहयोग गरेका हुन् ।

आर्थिक सहयोग वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री थापाले जिल्लावासीका लागि सधँै आफ्नो सहयोग रहने भएकाले भेटघाटका क्रममा पीडित परिवारलाई भेटेर आर्थिक सहयोग प्रदान गरेको बताए । आफूले गरेको आर्थिक सहयोग ठूलो नभएको बताउँदै उनले ठूलो सहयोगका लागि सरकारसँग पहल गरिदिने आश्वासनसमेत दिए । थापाले आगलागीबाट पीडित परिवार देवेन्द्र शाह, तेजबहादुर पुरी, हेमकुमार अधिकारी, गन्जबहादुर राई, महाप्रसाद राई, काजी राई, दीनदयाल शर्मा, महावीर शर्मा, खगेन्द्र श्रेष्ठ र उद्दारको क्रममा घाइते भएका रमेश शाहलाई आर्थिक सहयोग गरेका हुन्  ।
आगलागीबाट ६ घर जलेर नष्ट हुँदा एक करोड तीन लाख ६० हजार रुपियाँ बराबरको धनमाल क्षति भएको थियो भने नौ परिवार विस्थापित भएका थिए । व्यापारी देवेन्द्र शाहको घरमा विद्युत्को लाइन सर्ट भएपछि आगलागी भएको थियो । यसअघि आगलागी भएलगत्तै पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले लत्ताकपडा, भाँडावर्तन, कम्बल र खाद्यान्न सहयोग गरेको थियो । त्यस्तै, सिडिओ कार्यालय धनकुटाले दैवी प्रकोप राहत कोषबाट प्रत्येक घरलाई पाँच हजार रुपियाँको दरले राहत वितरण गरेको थियो ।

प्रतिक्रिया