आर्मीको ‘मुभ’ मा मनाङको विजय

काठमाडौं : नेपाल आर्मीलाई पराजित गर्दै मनाङ–मस्र्याङ्दी क्लब राजधानीमा जारी एनसेलकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलनजिक पुगेको छ । भरत खवास, राजु तामाङ, जितेन्द्र कार्की, टंक बस्नेतलगायत ठूला खेलाडीका साथ उत्रिएको आर्मीलाई मनाङले २–० ले पराजित गर्दै समूहमा लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेल जितेको आर्मीको यो पहिलो हार हो ।
मनाङको जितमा राष्ट्रिय टिमका दुई सदस्य सुजल श्रेष्ठ र अनिल गुरुङले गोल गरे । २७औँ मिनेटमा सुजलको गोलमार्फत अग्रता लिएको मनाङका लागि ५६औँ मिनेटमा अनिलले दोस्रो गोल गरेका थिए । मनाङको जितमा गोलकिपर इम्मानुएलको प्रदर्शन भने महत्त्वपूर्ण रहयो । आर्मीले लगातार मुभहरू बनाइरहँदा अग्रता भने मनाङले लिएको थियो । विजयी टोलीका लागि दोस्रो गोल काउन्टर एटयाकमा भएको थियो । सर्विन्द्र श्रेष्ठले बनाएको काउन्टर एटयाक मुभमा अनिलले वानभर्सेस वानमा बल चिप गर्दै गोल गरेका थिए ।
६८औँ मिनेटमा आर्मीले गोल गर्ने अवसर पाएको थियो तर अनिल गुरुङको प्रहार कमजोर हुँदा आर्मीका गोलकिपर फूलबहादुरले सहजै बचाए । ८२औँ मिनेटमा सुलभ मास्केको पासमा अमिर श्रेष्ठले गरेको चिप क्रसबारभन्दा थोरै माथिबाट गएको थियो । मनाङका गोलकिपर इम्मानुएलले खेलभर केही वानभर्सेस वान आक्रमणलाई विफल बनाएका थिए ।
आर्मीको फिनिसिङ कमजोर रहयो । खेलको सुरुआतमै उसले गोलको अवसर पाए पनि तेस्रो मिनेटमा टंक बस्नेतले निकालेको क्रसमा अनमाक्र्ड देखिएका नवयुग श्रेष्ठले बल भेटाएनन् । ३८औँ मिनेटमा टेकबहादुर बुढाथोकीले निकालेको क्रसमा नवयुग पुन: अनमाक्र्ड स्थितिमा देखिए पनि ६ यार्डबाट उनले गरेको प्रहार निकै कमजोर रहयो । ४३औँ मिनेटमा आर्मीका मिडफिल्डर राजुले बल चिप गरे पनि गोलकिपर इम्मानुएलले सजिलै विफल पारिदिए । ५०औँ मिनेटमा आर्मी गोलनजिक पुगेको थियो तर टंक बस्नेतले हेडमार्फत गरेको प्रहार मनाङका भेट्रान नवीन न्यौपानेले गोललाइनबाट क्लियर गरे । ६६औँ मिनेटमा भरतले उत्कृष्ट ड्रिबलिङ गर्दै निकालेको पासमार्फत वानभर्सेस वानमा देखिएका सन्तोष नेपालीको प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन । ७५औँ मिनेटमा आर्मीले खेलमा फर्कने अवसर पाएको थियो तर पुन: अनमाक्र्ड स्थितिमा नवयुग असफल रहे । उनको प्रहार मनाङका गोलकिपर इम्मानुएलले उत्कृष्ट बचाउ गरे । (सौस)

प्रतिक्रिया