बिदेसिनेको संख्या २५ लाख नाघ्यो

काठमाडौं, ८ असोज । वैदेशिक रोजगारीका लागि बिदेसिनेको संख्या पच्चीस लाख नाघेको छ । मुलुकभित्र प्रशस्त रोजगारीको अवसर नभएकाले आर्थिक वर्ष ०५०/५१ देखि हालसम्म वैदेशिक रोजगारीमा जानेको संख्या २५ लाख २६ हजार चार सय ७१ पुगेको छ । यसमा ९७ दशमलव ६३ प्रतिशत पुरुष र २ दशमलव ३७ प्रतिशत महिला छन् ।
करिब अढाइ दशक अघिबाटै नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेको भए पनि आधिकारिक रूपमा आव ०५०/५१ बाट मात्रै सरकारले वैदेशिक रोजगारीलाई मान्यता दिएको हो । सरकारी मान्यतासँगै हालसम्म आइपुग्दा बिदेसिने पुरुषको संख्या २४ लाख ६६ हजार ६ सय दुई र महिला ५९ हजार आठ सय ६९ पुगेको छ । करिब १९ वर्षको यो अवधिमा ठूलो संख्यामा नेपालीहरू रोजगारीका लागि विदेश गए पनि सरकारी तथ्यांक व्यवस्थित नहुँदा २५ लाख २६ हजार चार सय ७१ जना मात्रै रोजगारीमा गएको देखिन्छ । तर, त्यसमध्ये प्रतिवर्ष कति स्वदेश फर्कन्छन् भन्ने आधिकारिक तथ्यांक पनि छैन ।
यस्तै, प्रतिवर्ष ठूलो संख्यामा नेपाली युवा भारतलगायत बाटो भएर रोजगारीका लागि बिदेसिने गरेका छन् भने कति व्यवक्तिगत रूपमा अवैद्य तरिकाले रोजगारीका लागि विदेश जाने गरेकाले विगत २० वर्ष यतामात्र २८ देखि ३० लाख मानिस रोजगारीमा गएको अनुमान छ । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वका कारण रोजगारीका लागि बिदेसिने क्रम बढ्दै गए पनि शान्तिप्रक्रियाको सुरुवातसँगै यो संख्या उच्च वृद्धि भएको छ ।
सरकारी तथ्यांकअनुसार आव ०५०/५१ देखि आव ०६२/६३ सम्म सात लाख ५८ हजार ६ सय ७५ जना रोजगारीकै लागि विदेश गएका छन् । त्यस्तै, वैदेशिक रोजगार विभागअनुसार आव ०६३/६४ देखि आव ०६८/६९ सम्ममा १७ लाख सात हजार २४ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये १६ लाख ४९ हजार नौ सय २५ पुरुष र ५७ हजार ९९ जना महिला छन् ।
सरकारी तथ्यांकअनुसार यसबीचमा वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई खासगरी मुलुकमा चलेको द्वन्द्व र बढ्दै गएको बेरोजगारीकै कारण पछिल्ला वर्षमा बिदेसिनेको संख्या बढ्दै गएको बताउँछन् । बिगतभन्दा अहिले सरकारले समेत समयानुकूल वैदेशिक रोजगारीलाई व्यवस्थित गरिरहेको उनको भनाइ छ ।
विभागका अनुसार १० वर्षे द्वन्द्वको अन्त्यतिर अर्थात् आव ०६१/६२ मा एक लाख ३९ हजार सात सय १८ जना वैदेशिक रोजगारीमा गएकामा शान्तिप्रक्रिया सुरु भएसँगै आव ०६३/६४ मा भने बिदेसिनेको संख्या दुई लाख चार हजार पाँच सय ३३ पुगेको थियो । साथै, आव ०६६/६७ मा दुई लाख ९४ हजार ९४ जना रोजगारीका लागि विदेश गएकामा आव ०६७/६८ मा भने यो संख्या बढेर तीन लाख ५४ हजार सात सय १६ पुगेको विभागले जनाएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघकी सचिव सुवर्णा श्रेष्ठ मुलुकको राजनीतिक अस्थिरता र गरिबीकै कारण रोजगारीमा जानेको संख्या बढ्दै गएको बताउँछिन् । उनका अनुसार केही वर्षयता रोजगारदाताले समेत पारिश्रमिक र सेवा सुविधा बढाउँदै लगेको उनको भनाइ छ । तर, समयअनुसार अझै दक्ष कामदारको अभाव रहेको उनले बताइन् ।
आव ०६८/६९ मा मात्र तीन लाख ६१ हजार सात सय सात पुरुष र २२ हजार नौ सय ५८ महिला गरी तीन लाख ८४ हजार ६ सय ६५ जना रोजगारीका लागि विदेश गएको विभागले जनाएको छ । सो आवमा एक लाख ४६ हजार एक सय ४० जनाले बिदामा आई रोजगारीमा जान पुन: श्रम स्वीकृति लिएका छन् । सरकारले सोही आवबाट मात्र रोजगारीबाट घरबिदामा आई पुन: जानेको विवरण राख्न सुरु गरेको हो ।
यस्तै, वैदेशिक रोजगारीमा जानेको संख्यासँगै प्रतिवर्ष विदेशमा मृत्यु हुने कामदारको संख्या पनि बढ्दै गएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार आव ०६८/६९ मा रोजगारीका क्रममा विदेशमा मर्नेको संख्या ६ सय ४३ जना छ । आव ०६७/६८ मा पाँच सय ५० जनाको विदेशमा मृत्यु भएको थियो ।

प्रतिक्रिया