उपयोगवादी राजनीतिको परिणति

एकीकृत माओवादीको नेतृत्वपंक्तिमा रहेका तीनजना नेताले नेताहरूको जीवनशैली बुर्जुवा र सामन्ती बन्दै गएको र सुदूरपश्चिमका विषयमा आफूहरूले राखेको मागप्रति बेवास्ता गरेको भन्दै केन्द्रीय समिति सदस्यबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्व र आफूहरूले उठाएका विषयबीच दूरी हटाउन आवश्यक परे एमाओवादीको राजनीतिक परिधि तोड्न पनि तयार रहेको चेतावनीसाथ उनीहरूले पार्टीको जिम्मेवारीबाट राजीनामा दिए । सुदूरपश्चिमबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने तीनजना नेताको राजीनामा र चेतावनी एउटा ठूलो राजनीतिक पार्टीका लागि सामान्य विषय होला तर पार्टी नेतृत्वको बुर्जुवा र सामन्ती शैलीप्रति इंगित गरेर उनीहरूले जे देखाउन खोजेका छन् त्यसबाट नेपालको केन्द्रीय राजनीतिक वृत्त र खासगरी एमाओवादी नेतृत्वको उपयोगवादी राजनीतिको टीठलाग्दो चित्र प्रस्तुत भएको छ । भूगोल सानै होस् वा स्वर सानै होस् आधारभूत वर्ग र क्षेत्रका संवेदनाहरूलाई उपयोग गर्ने र उनीहरूको मनभित्र विद्रोह उतारेर प्रतिफलमा सत्ता प्राप्त गर्ने एमाओवादी नेतृत्वको सामन्तवादी प्रवृत्ति र उपयोगितावादी शैलीले लामो समयसम्म मुलुकको राजनीति, स्थिरता र समृद्धिलाई नकारात्मक असर पुर्‍याउनेछ ।
एमाओवादी त्यस्तो शक्ति हो जसले नागरिकको गरिबी, भौगोलिक पछौटेपन र वर्गीय र जातीय संवेदनालाई भरपुर उपयोग गरेर त्यसैले खडा गरेको विद्रोहको बलमा हुर्किन पुग्यो । र, आज एमाओवादी नेतृत्व यस्तो कृत्यमा व्यस्त छ जो सत्ताको नेतृत्वमा पुगेपछि राज्यकोषको स्रोत अपारदर्शी वैयक्तिक उपयोगमा सबैलाई उछिनेर नवसामन्ती वर्गमा रूपान्तरित भएको छ । गाउँमा जाली फटाहा र सामन्तका नाममा आधारभूत वर्गकै नागरिकहरूमाथि कारबाही थोपरेको एमाओवादी नेतृत्व अतुलनीय ऐय्यासी जीवनभोगको नमुना बनेको छ । गत महिना सम्पन्न त्यसको विस्तारित बैठकको कुर्सी हानाहान र आन्तरिक भ्रष्टाचारको पछिल्लो छानबिन प्रकरणले एमाओवादीको नयाँ संस्कृतिलाई उजागर गरेको छ र यसले अहिले राजीनामा दिने तीन नेताले उठाएका विषयवस्तुको सहीपनालाई स्थापित गरेको छ ।
नागरिक राज्य र राजनीतिक वृत्तबाट केही नपाउँदा पनि आफ्नो पौरख र कृत्यले बाँचिरहेको हुन्छ र उसका सरोकारहरूलाई सपनामा रूपान्तरित गर्दै नेतृत्वले त्यसबाट फाइदा उठाइरहेको हुन्छ । एमाओवादीले आफ्नो नेतृत्वमा १० वर्षसम्म जनयुद्धका नाममा जुन मानवीय र भौतिक क्षति गरायो अहिले एमाओवादीको नेतृत्वले भोगेको जीवनले त्यो युद्ध र त्यसमा मारिने अनि त्यसबाट क्षति बेहोर्ने कसैका सामु पनि युद्धको औचित्य सावित गर्न सक्दैन । आज सुदूरपश्चिमबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने खगराज भट्ट, भीमबहादुर कडायत र जगत पार्कीले पदबाट राजीनामा दिए त्यो सामान्य घटना हो तर, उही शैलीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तपाईंहरूका समस्याप्रति पार्टी नेतृत्व गम्भीर छ भनेर थुम्थुम्याउने काम गरे, जुन परम्परागत नेपाली राजनीतिको सनातनी शैली हो । जुन समुदाय र भूगोलमा गयो त्यही समुदायको स्थानीय सरोकारप्रति साखुल्ले पल्टिने र आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने शैली एमाओवादी अध्यक्ष दाहालको मौलिक शैली हो । जसले समुदायका मौलिक आकांक्षालाई उत्तेजनामा बदल्छ र त्यही उत्तेजनाबाट पैदा हुने शक्तिबाट दाहालले राजनीतिक लाभ लिइरहेका छन् । पछिल्लोपटक मुलुकमा जातीय अन्तरसंघर्षको जुन हावा फैलिँदै छ, त्यसको उत्पादनकर्ता पनि एमाओवादी अध्यक्ष दाहाल नै हुन् र उनको उपयोगितावादी राजनीतिक शैली हो । यस अर्थमा राजनीतिप्रति नागरिक र राजनीतिक नेतृत्वमै रहेकाहरूको पनि जुन निराशा छ त्यसको बन्ध्याकरणका लागि आश्वासन र उपयोगको राजनीति अन्त्य गरिनुपर्छ ।

प्रतिक्रिया