बिग्रँदै छ मुटु

अस्वस्थ खानपिन र जीवनशैलीमा आएको परिवर्तनको कारण नेपालमा बर्सेनि मुटु रोगीको संख्या बढ्दै छ । चिकित्सकका अनुसार केही वर्षअगाडिसम्म सम्पन्न र धनी देशका पाका मानिसको रोगका रूपमा चिनिने मुटुरोग अहिले आममानिसको जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण विकासोन्मुख र गरिब देशका युवा तथा जवानहरूको पनि रोग बनेको छ ।
चिकित्सकले नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगका रूपमा लिइएको मुटु रोगका कारण वर्षेनि लाखौँ मानिसको मृत्यु भइरहेको जनाएका छन् । सहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीले पछिल्ला वर्षमा मुटुरोगमध्ये कोरोनरी मुटुरोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गएको बताए । उनका अनुसार मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तन नै प्रमुख कारण हो ।
‘आजका मानिसको जीवनशैली अस्वस्थकर भएको छ । मनिस जथाभावी खाने र व्यायाम नगरी बस्ने गर्छन्,’ उनले भने, ‘मानसिक तनाव, व्यस्त जीवनशैली, धुम्रपान, मद्यपान, खानामा चिल्लो र मासुको अत्यधिक प्रयोगका कारण मुटु बिग्रँदै गएको छ ।’ उनले सागसब्जी र फलफूल खाने तथा हिँड्डुल गर्ने बानी नभएका कारण अहिले १७ वर्षे जवानहरूमा पनि हृदयाघातको समस्या देखिरहेकाले हरेक व्यक्तिले वर्षमा एकपटक मुटुको जाँच गर्नुपर्ने अवस्था आएको बताए ।
विश्वमै मुटुरोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारे चेतना जगाउन र मुटु बचाउन प्रत्यक वर्ष सेप्टेम्बर महिनाको २९ तारिखमा विश्व मुटु दिवस संसारभर मनाउँदै आइरहेको छ । नेपालमा पनि मुटु बचाउन चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन थालिएको छ । नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार नेपालमा पनि हरेक वर्ष मुटुरोग दिवसको अवसरमा साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइन्छ । अन्य दिनमा पनि चेतनामूलक अन्तरक्रिया सञ्चालन हुँदै आएका छन् ।
‘सहरीकरण, खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ,’ उनले भने, ‘युवा तथा महिलामा मुटु बिग्रने समस्या बढिरहेको छ ।’ उनले अहिले अल्पविकसित देशमा मुटुरोगबाट संक्रमित हुनेको बढ्दो तथ्यांक सार्वजनिक भइरहेकाले आÏनो मुटुको अवस्था ठीक छ/छैन भनेर सबैले स्वास्थ्य जाँच गर्ने बेला आएको बताए ।
‘सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानका कारण मानिसले कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटुरोगका कारणलाई जन्म दिइरहेका छन् । मुटुरोगले जसलाई पनि आक्रमण गर्नसक्ने भएकाले मुटुको अवस्थाबारे सबैले जानकारी लिनुपर्ने बेला आएको छ,’ डा. रेग्मीले भने, ‘धेरैको मुटु बिग्रँदै गएकाले बिहान उठेर कम्तीमा पनि आधा घन्टा व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त मात्र गर्ने हो भने धेरै हदसम्म मुटु जोगाउन सकिन्छ ।’
चिकित्सकका अनुसार आममानिसमा मुटुरोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेल मात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटुका अन्य रोग पनि छन् । डा. रेग्मीले मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको बताए । तर, तीमध्ये चिकित्सकले मुटुरोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैलीसम्बन्धी मुटुरोग भनेर तीन भागमा बाँडेका छन् । केटाकेटीलाई जन्मजात मुटुरोग लागेको हुनसक्छ । डा. रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्ने गर्छ । उनका अनुसार गर्भधारण गरेकी नारीलाई रुबेला रोग लाग्यो भने त्यसले गर्भस्थ शिशुमा निर्माण भइरहेको मुटुलाई विकृत गराउँछ, फलस्वरूप शिशुमा जन्मजात मुटुको समस्या आउनेछ ।
डा. केसीका अनुसार बाथ मुटुरोग शिशु छँदा घाँटीमा समस्या बेहोरिरहने केटाकेटीलाई देखिने रोग हो । सामान्यतया ३ देखि १५ वर्षका बालबालिकामा बराबर घाँटी दुख्ने, टन्सिल बढ्ने हुनसक्छ । यस्तो समस्यामा परेका केटाकेटीलाई एक किसिमको ज्वरो आउने, एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन् । यस ज्वरोलाई बाथज्वरो भनिन्छ । यसैका कारण पछि गएर मुटुको भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटुरोग भनिन्छ । डा. केसीले मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित रहेको बताए । जसमा हृदयाघात, उच्च रक्तचाप, मधुमेह आदि पर्छन् । हृदयाघातलाई मानव मृत्युको प्रमुख कारकका रूपमा लिइँदै आएको छ ।
महिलाहरूका लागि रातो संकेत
पछिल्ला वर्ष महिलामा पनि मुटुरोग बढ्न थालेपछि चिकित्सक चिन्तित बनेका छन् । चिकित्सकका अनुसार पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । महिला शरीरमा मात्र पाइने ‘फिमेल हार्मोन’ले मुटुरोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुरोग देखिन थालेको छ । डा. रेग्मीका अनुसार महिलामा पनि तनाव, धूमपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले यस्ता समस्या बढिरहेको छ । चिकित्सकले महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हार्मोनले हृदयाघातको सम्भावना न्यून गराउने बताए पनि फेरिँदो जीवनशैली र आरामको अभावमा समस्या उत्पन्न भएको बताए । महिलामा पनि मुटुरोगको समस्या बढ्दै गएपछि विश्वभरि ‘गो रेड फर वुमन’ अर्थात् ‘महिलाका लागि रातो संकेत’ अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको डा. रेग्मीले बताए ।

‘सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपान आगाल्दा मानिस कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटुरोगका कारणलाई जन्म दिइरहेछन् । मुटुरोगले जसलाई पनि आक्रमण गर्नसक्ने भएकाले मुटुको अवस्थाबारे सबैले जानकारी लिनुपर्ने बेला आएको छ । बिहान उठेर कम्तीमा पनि आधी घन्टा व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त हुने हो भने मात्र पनि धेरै हदसम्म मुटु जोगाउन सकिन्छ,’
–डा. प्रकाशराज रेग्मी

‘आजका मानिसको जीवनशैली अस्वस्थकर भएको छ । मनिस जथाभावी खान्छन्, व्यायाम गर्दैनन् । मानसिक तनाव, व्यस्त जीवनशैली, धूमपान, मद्यपान, खानामा चिल्लो र मासुको अत्यधिक प्रयोगका कारण मुटु बिग्रादै गएको छ । सागसब्जी र फलफूल खाने अनि हिाड्डुल गर्ने बानी नभएका कारण अहिले १७ वर्षे जवानमा पनि हृदयघातको समस्या देखिरहेको छ । त्यसैले हरेक व्यक्तिले वर्षमा एकपटक मुटुको जाच गर्नुपर्ने अवस्था आएको छ,’
–डा. मनबहादुर केसी

प्रतिक्रिया