डाक्टरको लापरबाहीले बिरामीको मृत्यु

रौतहट, ८ असोज । डाक्टरको लापरबाहीले सर्पले टोकेका बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् । जिल्ला अस्पतालका डा. सुन्दरश्याम झाको लापरबाहीको कारण विषालु सर्पको टोकाइबाट गम्भीर घाइते झुन्खुन्वा–५ का १६ वर्षीय रामेश्वर महतोको मृत्यु भएको हो ।

घरमै सुतिरहेका महतोलाई सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो । दिउँसो दुई बजे अस्पताल भर्ना गरिएका महतोको बिहान ६ बजे मृत्यु भएको थियो । बिरामीको अवस्था सामन्य भए पनि डाक्टरको लापरबाहीले मृत्यु भएको उनका आफन्तको भनाइ छ । ‘डाक्टरले पानी चढाउँदै एउटा कागजमा औषधी लेखेर किनेर ल्याउन भनेपछि मैले लिएर आएँ,’ मृतकका बाबु धर्मनाथ महतोले भने, ‘छोरा छटपटिन थालेपछि डाक्टरलाई बोलाउँदा डाक्टर आएन, क्वार्टरमा सुतिरहेको थियो । छोरालाई हेरिदिनु भनेर कतिपटक बिन्ती गरेँ, मानेन् । मेरो छोरो छटपटिएरै मर्‍यो ।’ उनका अनुसार राति ड्युटीमा रहेका अहेव सञ्जीव मण्डलले महतोलाई स्लाइन पानी लगाएका थिए । अहेव मण्डलले बिरामीका बारेमा डा. सुन्दरश्याम झालाई फोन गरेर जानकारी दिएपछि झा राति ३ बजे अस्पताल आएर दुई भाइल एन्टी स्नेक भेनम दिन भनेका थिए । एन्टी स्नेक भेनम दिन भनेर डाक्टर झा डेरा गएको र त्यसपछि बिरामीको अवस्था झनै खराब भएको अहेव मण्डलले बताए । उनले भने, ‘फेरि डाक्टर झालाई चार बजेतिर फोन गरेँ तर डाक्टर झा नुहाइधुवाइ गरेर आउँछु भन्नुभयो । उहाँ आउँदा बिरामीको मृत्यु भइसकेको थियो ।’ उनले पनि डाक्टरको लापरबाहीले नै बिरामीको मृत्यु भएको अप्रत्यक्ष रूपमा स्वीकार गरे ।
प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले पनि डाक्टरको चरम लापरबाहीका कारण बिरामीको ज्यान गएको बताए । उनले भने, ‘सबैको कुरा सुन्दा र स्वयं अहेवको कुरा सुन्दा पनि डा. झाको लापरबाही देखिन्छ, डा. झाले पनि गल्ती स्विकारेका छन् ।’ बिरामीका दाइ उदय महतोले बिरामी औषधिको अभावमा छटपटिएर मरेको दाबी गरे । उनले भने, ‘मेरो भाइ औषधिको अभावमा छटपटिएर मर्‍यो । डाक्टरले मानवता नै देखाएन ।’ बिरामीको मृत्युपछि परिवारजनले अस्पतालमा तोडफोड गरेका छन् । आक्रोशित भिडले अस्पतालको इमर्जेन्सी कक्षमा क्षति पुर्‍याएका छन् । टेबलकुर्सी भाँचिएका छन् । भिडले अस्पतालको झ्यालढोकामा ढुंगामुढा गर्दा सो क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । मृतक युवक यमुनामाई उच्च मावि भुन्खुन्वामा कक्षा १० मा अध्यनरत विद्यार्थी भएकाले विद्यार्थीको समूहले सदरमुकामका केही विद्यालय बन्द गराएका थिए भने गौर–चन्द्रनिगाहपुर सडकखण्ड ठप्प पारेका थिए । परिवारजनको आक्रोशका कारण उपचार गराइरहेका अन्य बिरामीमा पनि त्रास छाएपछि उनीहरू अस्पताल छोडर हिँडेका छन् ।
परिवारजन तथा आफन्तले अस्पताल तोडफोड गर्न थालेपछि अस्पताल परिसर तथा गौरका मुख्य बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । विद्यार्थी समूहले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गर्नुका साथै केहीबेर बजारसमेत बन्द गराएका थिए । प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्याय तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंह, स्थानीय, पीडित परिवार तथा राजनीतिक दलका प्रतिनिधिबीच दिनभर चलेको वार्तापछि सहमतिमा पीडित परिवारजनले शव बुझेका छन् । दोषी डा. झालाई कारबाही, मृतक परिवारका एकजनालाई अस्पतालमा जागिर, तत्काल किरिया खर्चबापत राहत रकम उपलब्ध गराउने र क्षतिपूर्तिसहित अस्पतालको कमीकमजोरी हटाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जनाएका छन् । सहमतिपछि राजमार्गमा यातायात सुचारु भएको छ ।

प्रतिक्रिया