रौतहट अस्पतालमा तोडफोड

रौतहट, ७ असोज । विषालु सर्पको टोकाईबाट रौतहटको झुन्खुन्वा–५ का १६ वर्षीय युवक रामेश्वर महतोको मृत्यु भए पछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।
तोडफोड पछि अस्पतालमा केही समय तनाव उत्पन्न भएको थियो । घरमै सुतिरहेका धर्मनाथ महतोका छोरा रामेश्वरलाई आज विहान करिव दुई बजे विषालु सर्पले टोकेको हो ।
सर्पले टोके पछि बेहोस भएर विरामी परेका रामेश्वरको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको आफन्तले जनाएका छन् ।
उपचारका क्रममा रामेश्वरको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाएर अस्पतालमा तोडफोड गरेका हुन् ।
अस्पतालका चिकित्सकले आफै विरामीको उपचार नगरेका कारण रामेश्वरको मृत्यु भएको बाबु उदय महतोले आरोप लगाए । ‘छोरालाई सर्पले टोकेपछि उपचार गर्न अस्पताल भर्ना गरेका थियो,’ उनले भने, ‘चिकित्सक नआएर सहयोगीलाई पठउँदा उचित उपचार नभएर रामेश्वरको मृत्यु भयो ।’
राति ड्यूटीमा रहेका अहेव सञ्जिव मण्डलले रामेश्वरलाई स्लाइन पानी मात्रै चढाएका थिए । मण्डलले एण्टी स्नेक भेनमको प्रयोग अहेव मण्डलले नगरेका कारण रामेश्वरको मृत्यु भएको आफन्तले दाबी गरे ।
रामेश्वरको मृत्यु पछि आक्रोशित आफन्तले आक्रमण गर्दा अस्पतालको इम्र्जेन्सी कक्षमा क्षति पुगेको छ । अस्पताल बाहिर जम्मा भएका आफन्तले अकस्मात ढुङगा÷मुढा गरेर झ्याल र ढोकामा क्षति पुगेको छ ।
आक्रमण भएपछि प्रहरीले अस्पतालमा सुरक्षा दिएको छ । प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्याय तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंह अस्पताल पुगेर आक्रेशित परिवारजनसँग वार्ता समेत गरेका छन् ।
अस्पतालमा तीन चिकित्सकको दरबन्दी छ । अहिले एक मात्र चिकित्सक अखिलेश सिंह कार्यरत छन् । राजनीतिक संरक्षणमा रहेका चिकित्सक सिंहपनि अस्पतालमा कहिल्यै नभेटिने गरेको विरामी र आफन्तको गुनासो छ ।
प्रत्येक शुक्रवार घर जाने चिकित्सक सिंह आइतवार पनि १२ बजे सम्म मात्रै अस्पतालमा थिए । उनी वीरगञ्जस्थित निवासमा जाने गर्छन ।

प्रतिक्रिया