सञ्चारमाध्यममा सिंहको प्रशंसा

नयाँदिल्ली : भारत सरकारले प्रस्ताव गरेको आर्थिक सुधारसम्बन्धी प्रस्तावबाट सरकार संकटमा परेका बेला भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले टेलिभिजनमार्फत जनतालाई गरेको सम्बोधनको भारतीय सञ्चारमाध्यमले तारिफ गरेका छन् । शुक्रबार राति टेलिभिजनमार्फत गरेको सम्बोधनमा प्रधानमन्त्री डा. सिंहले मुलुकको अर्थतन्त्रलाई कमजोर हुन नदिन आफू सक्रिय रहेको बताएका थिए । आर्थिक संकटबाट मुक्तिका लागि जनताको विश्वास र समझदारी आवश्यक रहेको उल्लेखसमेत उनले गरे ।
कंग्रेस आईको नेतृत्वको सरकारले खुद्रा व्यापार, उड्डयन तथा अन्य क्षेत्रमा थप विदेशी लगानी भित्र्याउन तथा अनुदान कम गर्न सुधारका अनेकाँै प्रस्ताव घोषणा गरेपछि सरकार विवादमा परेको छ । घोषणापछि सरकारविरोधी प्रदर्शन तीव्र भएका छन् भने सरकारका प्रभावशाली घटकले सरकारलाई दिँदै आएको फिर्ता गर्न थालेका छन् ।
‘हामीले विदेशी लगानीकर्ताको विश्वास जित्नुपर्छ,’ आगामी साता ८० वर्ष पुग्न लागेका सिंहले भने । पैसा रूखमा फल्ने नभएकाले विदेशी लगानी भित्र्याउन आफूहरूले यस्तो निर्णय गरेको उल्लेख उनले गरे । अहिले सजिलो उपायलाई अस्वीकार गर्दै कठिन उपाय स्वीकार गर्ने समय आएको जिकिरसमेत उनले गरे ।
विदेशीको स्वार्थमा लागि सरकारले देश बेचेको आरोप प्रतिपक्षी दलले लगाइरहेका बेला डा. सिंहले गरेको सम्बोधनको भारतीय सञ्चारमाध्यमले स्वागत गरेका छन् । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले कठिनाइ भोगिरेहका बेला समस्या समाधानका लागि उनले दह्रो पाइला चालेको भन्दै सञ्चारमाध्यमले उनको प्रशंसा गरेका छन् ।
भरतीय दैनिक ‘इन्डियन एक्स्प्रेस’ले सिंहको समर्थनमा सम्पादकीय लेखेको छ । भारतीय अर्थतन्त्र सुधारका लागि तत्कालै चाल्नुपर्ने कदमप्रति प्रतिपक्ष्ँी दलले ध्यान नदिएको आरोप सम्पादकीयमा लगाइएको छ । ‘मेलडेली’ नामक पत्रिकाले प्रथम पृष्ठमा प्रधानमन्त्री सिंह र अर्थमन्त्री पी चिदम्बरमको तस्बिर राखी उनीहरूलाई स्वप्न समूह (ड्रिम टिम) का रूपमा चित्रण गरेको छ । सञ्चारमाध्यमका अनुसार प्रतिपक्ष दलसँग सरकार ढाल्ने क्षमता अहिले छैन । प्रधानमन्त्री सिंहले टेलिभिजनमा सम्बोधन गर्नुअघि सरकारको प्रभावशाली घटक तृणमुल कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई अब बाहिरबाट प्राप्त समर्थनमा भर पर्नुपर्ने अवस्था सिर्जन भएको छ । सन् २०१४ अघि भारतमा नयाँ आमनिर्वाचन हुने सम्भावना बढेको छ ।
तृणमुलकी प्रमुख ममता बनर्जीले प्रधानमन्त्री सिंहले अप्रजातान्त्रिक तथा अनैतिक तरिकाले विदेशी विशाल बजार वालमार्टलाई मुलुकमा अनुमति दिएको आरोप लगाएकी छन् । गरिब तथा निम्नवर्गीय परिवारले थापेका पसललाई वालमार्टले विस्थापित गर्ने दाबी उनले गरिन् । सरकारले मुलुक बेचेको आरोप उनले लगाइन् । (एएफपी)

प्रतिक्रिया