विद्यालय भत्किँदा पठनपाठन प्रभावित

जाजरकोट, ७ असोज । अत्यधिक वर्षाले विद्यालयको दुईकोठे भवन भत्किँदा खलंगा–१, रानागाउँस्थित भेरी प्राथमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बुधबार राति भएको वर्षाले विद्यालयको दुईकोठे भवन भत्काएपछि विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक ललितराज भण्डारीले जानकारी दिए । वर्षाले विद्यालयको प्रांगणसमेत भासिएको छ । विद्यालयमा गत वर्ष पनि माथिपट्टिबाट पहिरो खस्दा भवनमा केही क्षति पुगेको थियो ।
विद्यालयभन्दा मुन्तिरबाट नेपाली सेनाको वीरदल गण र मछाइना जाने दुईवटा बाटो निर्माण गरेकाले विद्यालयको प्रांगण भासिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनबहादुर सिंहले बताए । बाटोका कारण विद्यालय जोखिममा परेको छ । विद्यालयको मुन्तिरबाट बर्सेनि पहिरो गइरहेको छ ।
पहिरो रोकथामका लागि जिल्ला शिक्षा, गाविस, जिविसलगायत विभिन्न निकायमा पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरेको अध्यक्ष सिंहले बताए । उनले भने, ‘विद्यालयको अवस्थाबारे पटक–पटक जानकारी गराएका हौँ, सम्बन्धित निकायले बेवास्ता गर्दा दिनदिनै जोखिम बढिरहेको छ ।’ यसअघि सदरमुकाम खलंगा–१, कै गैरीखालीमा रहेको विद्यालय आठ वर्षअघि रानागाउँमा सारिएको थियो  । गैरीखालीमा खुलामञ्च निर्माण गरिएपछि विद्यालयलाई रानागाउँ सारिएको हो । तर, अहिले सोही खुलामञ्च हुँदै जाजरकोट–जुम्ला सडकखण्डको निर्माण गरिएपछि खुलामञ्च प्रयोगविहीन अवस्थामा छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहले थपे, ‘खुलामञ्च बनाउने भनेर विद्यालय सारियो तर अहिले न खुलामञ्च प्रयोगमा छ न त विद्यालय सुरक्षित स्थानमै छ । विद्यालयलाई सुरक्षित स्थानमा नसारिए वा पहिरो रोकथाममा ध्यान नदिए झनै जोखिम बढ्ने निश्चित छ ।’

प्रतिक्रिया