साहित्य फिभर

काठमाडौंको कोलाहलमा बेपत्ताझैँ बनेको प्रज्ञा भवन एकाएक लामो श्वास लिँदै उठ्यो । त्यो श्वासलाई पवित्र मान्दै त्यसको स्पर्शमा रोमाञ्चित हुन मानव हुल त्यतै लहरियो । असंख्य विमोचन र गुमनाम कविगोष्ठी नभएका कहाँ हुन् र † दिक्दारी भाषण र हाडेओखरजस्ता ‘दर्शन’को फोहोरा कहाँ कुन गल्लीमा होस् कसलाई बाल † के थाहा कुनै सेकुवा कर्नर र फाइभ स्टार होटेलमा साहित्यिक कार्यपत्रमाथि चर्का बहस पो भए कि † यथार्थ हो, ती सबै उत्सव बन्न सकेनन् । मनलाई चंगाझैँ उडाएर आनन्द प्रवेग हान्न खोज्नेलाई मधुशालादेखि मेडिटेसनसम्मका उपयुक्त विकल्प नै सहरले के दिएको छ र ? तर, एकाथरीको मन त्यतिखेर पनि चंगा हुने गर्छ, जतिखेर आफ्नो प्रिय लेखक सामुन्ने उभिरहेको होस्, उसले बोलेको भाषा फिक्सन नै होस् अनि ऊ स्टेजमा बस्दा उसको जिब्रोबाट असंख्य सरस्वती निस्किरहेकी हुन् । हो, माहोल उत्सवबाट महोत्सव बनोस् ।
सौझै भनौँ, प्रज्ञाको आँगनमा अहिले महोत्सव नाचिरहेको छ– साहित्यको । एनसेल नेपाल लिटरेचर फेस्टिबल आयोजना भइरहेको प्रज्ञाको आँगनमा पुग्दा लाग्छ यहाँको कुनाकुनाबाट सरस्वती प्रकट भइरहेकी छिन् । सरस्वती पालैपालो स्टेज उक्लिन्छिन् र माइक समात्नेकहाँ पुग्छिन् । सायद प्रश्न गर्छिन्, ‘भन, अब म तिमीलाई कुन कविता दिऊँ ? कुन उपन्यास दिऊँ ? कुन कृतिले कृतकृत्य गराऊँ ?’ अघिल्तिर उभिरहेका पाठकलाई नियालेपछि लेखकले मनमनै सोच्लान्– ‘तिम्रो समाजले मलाई कुन पात्र दिन्छ यसपटक ?’ अनि यो मौन वार्तालाप म्ूर्त दिशातिर जान्छ महोत्सवको आफ्नै तालिका अनुसार ।
०००
‘हेर्नुस् त, यी बूढा लेखकहरू समकालीन लेखकका कुरा काटिरहेका छन्, तपाईं युवाहरू जति सहिष्णु कहाँ छन् र ?’ कपाल फुलाउने सुरसार गर्दै गरेका एक लेखकले साउती गरेर गए भर्खरै । ‘माहोल पूरै सहिष्णु छ, उनको कुरा कसरी पत्याउनु,’ उनको साउतीलाई ध्यान दिएर सुनेका अर्का लेखकझैँ लाग्ने एकजनाले भनिहाले । लाग्यो, पछिल्लो बूढाले तथ्यसहित कुरा काटे । वरिष्ठ साहित्यिक पण्डितहरू उभिएरै महोत्सव नियालिरहेका छन् । वरिष्ठ राजनीतिज्ञ दर्शक दिर्घामा शान्त भावमा छन् । जगदीश घिमिरेको ‘सकस’ विमोचनलाई मोडरेट गरिरहेका कवि रमेश पौडेलले उत्साहित हुँदै भन्नथाले, ‘साहित्यले मानिसलाई सहिष्णु बनाउने कुराको उदाहरण हो यो ।’
एकोहोरो बोलेपछि दर्शकको ताली खाएर बेपत्ता हुन कहाँ पाइयो र † दर्शकले गर्ने तिखा प्रश्नको सामना गर्नैपर्छ । ४६ पछिको बदलिँदो समाजलाई अघिल्लो पुस्ताले मात्र विश्लेषण गरेर अपुरो हुने रहेछ । चैतन्य मिश्र, सिके लाल र घनश्याम भुसाललाई ‘ई–जेनेरेसन’ को प्रतिक्रिया थियो– ‘अबको राष्ट्रियतामा नेपालले क्रिकेटमा डिभिजन फोर जितेको कुरा जोडिनुपर्छ, हामीलाई चाहियो राष्ट्रियताको नयाँ परिभाषा †’
‘साहित्यमा कस्ता भाषा’ अर्को बहसको शीर्षक । ‘सरल लेख, बुझ्न देऊ’ लेखकत्रय: मोहन मैनाली, बुद्धिसागर र नयनराज पाण्डेको एकै स्वर । ‘समाजले अस्वीकृत ठानेका शब्दहरू साहित्यमा पस्न थाले त, भएन नि’ बुद्धिसागरको कर्नाली ब्लुजप्रति इंगित गर्दै दर्शकले सोधे । बुद्धिसागरको सरल जवाफ– ‘पढ्न असजिलो लाग्छ भने नपढ्ने, तर दैनिक जीवनमा त मानिस बोलिरहेकै हुन्छ ।’ लेखाइमा आञ्चलिकताको पक्षमा मोहन मैनाली कस्सिएकै छन् ।
बटुवामा लेखक देखेपछि एक पाठक भावुक झैँ बोलिरहेका छन्– ‘सडक पनि कति रंगीन देखिँदोरहेछ बेला आएपछि ।’ मनसुन बिदा गरेर फुर्सदमा बसेजस्तो लाग्ने मौसमलाई महोत्सवसँगको उठबस सुहाएको छ । महोत्सवको तालिका हेर्दै आफ्नो मन पर्ने सत्रतिर दौडिरहेकाका अनुहारमा एकखाले आभा प्रस्ट छ । दौडादौड हेर्दा लाग्छ– उनीहरू केही खोज्दैछन्, जसरी मुडुला र सुनौला टाउको भएका भिक्षुहरू ‘बुद्ध’ खोज्दैछन् । र, हर्मन हेस्सेको ‘सिद्धार्थ’ जस्तै महोत्सवमा बग्रेल्ती ‘सिद्धार्थहरू’ भेटिइरहेका छन् । जो ज्ञानको प्यास मेटाउन बुद्धसँग पनि तर्क गर्न छाड्दैनन् ।
०००
लिटरेचर फेस्टिबलको दोस्रो दिन विभिन्न ११ सत्र सम्पन्न भए । विदेशी लेखकसँगको अन्तक्र्रिया पनि त ज्ञान प्राप्तिका लागि रिफ्रेन्स बन्न सक्छन् । महोत्सवमा ‘लखनउ बोय’ लाई पाठकले सिधै भेटेका छन् । आउटलुक पत्रिकाका संस्थापक–सम्पादक विनोद मेहतासँग पत्रकार प्रशान्त झाले उनको जीवनको आरोह/अवरोहबारे छलफल गरेका थिए । उनले आफूले कहिलै ठूला सपना नदेखेको, जीवनलाई सहज रूपमा भोग्दै जाँदा धेरैपटक धेरैतिर सम्पादक बन्न पुगेको अनुभव साटेका थिए । उनले पत्रकारिता एउटा व्यापार भएकै कारण यो तथ्यसँगै ग्यालमरस हुनुपरेको अनुभव साटे । उनले पत्रकार र राजनीतिज्ञ साथी हुन सक्ने तर घनिष्ट हुन नसक्ने बताए । ‘दुवै विपरीत ध्रुवका व्यक्ति हुन्,’ उनले भने । भारतमा पत्रकारिताका सुख, दु:खलाई उनले रोमाञ्चक शैलीमा डबलीमा बिसाए । मेहता भारतीय मिडियामा नेपालका न्युज प्राथमिकतामा नपरेको कुरा स्वीकार्दै थिए । उनी आफ्नो पत्रकारिताका रोमाञ्चकता सुनाउँदै थिए । आफ्नो आत्मवृत्तान्त ‘लखनउ ब्वाय’ माथि टेकेर उनी रसिक बने । आफ्ना फन्नी इभेन्ट प्रस्तुत गरे । मस्त दर्शक उनको कुरामा मौन भए, तपस्वीझैँ । नेपाली मिडियाको साँचो कोसँग छ भन्ने बहसबाट कन्फ्युजमा पर्दै आएका दर्शक भारतीय मिडियाको साँचोबारे अनुमान लगाउन सक्ने मात्र भए । उता भारतीय उपन्याकार अद्वैता कलाले उदाउँदो चिकलिट लेखन र अमिस त्रिपाठीले रिराइटिङ मिथमाथि छलफल गरे । सुन्दरी लेखिका अद्वैता कलासँगको कुराकानीमा दर्शक आनन्दित मुडमा थिए । भारतमा लेखिएका नेपाली भाषाबारेमा पनि बहस चलेकै छ । लेखनका सुख–दु:ख सुनाउन स्टेजमा पुगेका श्रवण मुकारुङ भन्न थाले– ‘लेखाइमा विश्वास गर्न सकिएन, हाम्रो तेन्जिन नोर्गेले चढ्यो हिमाल चुचुरी … किन लेखियो ? तेन्जिन नोर्गे हाम्रा रहेनछन् त †’
द्वन्द्वले नेपाली साहित्यमा प्रभाव पारेकै छ । त्यसको विश्लेषण गर्न स्टेज पुगेका छन् महेश विक्रम शाह, डा. लक्ष्मणप्रसाद गौतम र युग पाठक । युद्धले निम्त्याउने साहित्यबारे उनीहरू पाठकलाई निश्चिन्त बनाउँदै थिए । अनुवाद व्याख्याबारे बहसै बेग्लै । ‘संस्मरण’ आत्मालेखन होला कि आत्मालाप ?’ बहसको अर्को श्रृंखला । बहसै बहस † क्रिया र अन्तरक्रियाबीच पनि उत्तिकै उत्साह राखेर बसिरहेकाको मुखबाट ‘गजल’ बहसमा ‘वाह’ निस्किएकै थियो । आञ्चलिकतामा उचाइ थपेर ‘सेतो धरती’ लेखेका (यस वर्षको मदन पुरस्कार पाएका) अमर न्यौपाने मोडरेट गर्दैछन्– ‘आञ्चलिकता बहस’ । मदन पुरस्कारलाई तान्नसक्ने आञ्चलिकताको शक्तिबारे दर्शक खासखुस गरिरहेका छन् ।
महोत्सव उतिकै जुरेको होइन । ‘एनसेल’जस्तो धनी कर्पोरेट कम्पनीले प्रायोजन गरेपछि यो सम्भव भएको हो । ‘यो क्यापिटालिज्मको पिरियड हो, यसबेला सरस्वती पनि लक्ष्मीविना चल्दिनन्,’ एक बुज्रुक महोत्सवबाहिर तीनजना मानिसलाई सुनाउँदै थिए । प्रायोजक जो भए पनि दुई युवा अजित बराल र निरज सिर्जनशीलतालाई मूर्त रूप दिन दौडिरहेका देखिन्छन् । जसले पनि देख्छ– अजित र निरजको मुहारमा पोतिएको हतारो ।
०००
असोज ४ बाट सुरु भएको महोत्सव असोज ७ सम्म चल्नेछ । पोहोर साल पनि यस्तै प्रकृतिका दुई महोत्सव सहरमा भए । यस महोत्सवलाई ‘भारतको जयपुर साहित्य महोत्सव’को प्रभाव भन्नेहरू पनि छन् । तर, यस महोत्सवको गुणगान गाउने नै बढी भेटिन्छन् । नेपालमा चलाइन थालेका यस्ता महोत्सवले नेपाली पाठक र लेखकबीच दोहोरो सम्बन्ध स्थापित गराउने मात्र नभई नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा लैजान सहयोग गर्ने पनि निश्चित छ ।
अहिलेलाई भने नेपाली लेखक र पाठकको मन फ्रेस गर्नका लागि महोत्सव ‘साहित्यिक दशैँ’ बनेको छ । मन खोलेर उनीहरू वर्ष दिनमा आउने ‘चाड’मा जसरी यसमा रमाउन खोजिरहेका छन् । प्रस्ट छ, यसबाट निस्केपछि चिरपरिचित ‘ह्याङ्ओभर’ को ठाउँमा मीठो ‘ह्याङ्ओभर’ ले मस्तिष्कमा स्थान लिनेछ । कर्पोरेट जगत्को दुर्लभ माया, युवा जोस र जाँगरको स्वादिलो समिश्रण हो यो लिट्रेचर फेस्टिबल ।

प्रतिक्रिया