जीवन : एउटा आध्यात्मिक यात्रा

जीवन साँच्चिकै एउटा महत्वपूर्ण मौका हो । यदि हामी सम्पूर्णतामा बाँच्न चाहन्छौँ भने हाम्रो चाहनाबारे स्पष्ट हुनु जरुरी छ । हाम्रो उद्देश्यको परीक्षण गरेर प्रत्येक क्रियाकलाप सुरु गर्नु सर्वोत्तम हो । जब हामी एउटा यात्रा सुरु गर्छौं, हामीसँग सामान्यतया एउटा उद्देश्य दिमागमा हुन्छ । यो यात्रा व्यापारका लागि हो वा आनन्दका लागि ? जागिरको अन्तर्वार्ता दिन यात्रा गर्दै छौँ कि साथीभाइ भेट्न ? हामी के हासिल गर्ने आशामा छौँ ? हामी राम्रो समय हासिल गर्ने चाहनामा छौँ कि यात्राबारे उदास छौँ ?
हाम्रो उद्देश्यको परीक्षण गर्नु अर्थपूर्ण हुन्छ किनभने हाम्रो चाहनाको शुद्धताले त्यसपछिका सबै कुराको अवस्था निर्धारण गर्छ । हाम्रो परम्परामा चाहनाको शिरमा सबै चिज अडेको हुन्छ । हाम्रो लक्ष्यको विशेषताले हाम्रो यात्रा निर्धारण गर्छ र सम्भावित परिणाम निश्चित गर्छ । सम्भवत: यो किताब पढ्नुको तिम्रो उद्देश्य कसरी सुखमय जीवन बिताउने भनेर सिक्ने तिम्रो चाहनाबाट उत्पन्न हो । यसरी सोच्छौ भने तिमीले के थाहा पाउनुपर्छ भने सबै कम दु:ख लिन र आनन्दपूर्ण हिसाबले जीवन बाँच्न चाहन्छन् । सबै खुसी हुन चाहन्छन् । हामी सबै खुसी समग्रतामा हासिल गर्छौं भन्ने इच्छा राखेर हामी जे गर्छौं त्यो गर्‍यौं भने हामी बढी सन्तुष्टि हासिल गर्छौँ ।
जीवनमा केही समय हामी क्षणिक रूपले खुसी भएको भए पनि हामी दुर्लभै तनाव र उदासीबाट मुक्त हुन्छौँ । सबै संघर्ष गरिरहेका छन्, सबै दु:खी छन् । वास्तविक रूपले हामी सबै हाम्रो द्वन्द्वपूर्ण सोच र भावनाले पीडित छौँ । हामी आफ्नै लागि दु:खित हौँला, तर के सम्झनु सहयोगी हुन्छ भने सबै मानव एउटै बाटोमा छन् । हामी सबै एउटै बाटोका हौँ । कहिलेकाहीँ असहज र अप्ठ्यारो बाटोका सहयात्री जब हामी सम्पूर्ण खुसीको यात्रामा सँगै निस्कन्छौँ, हामी आफ्नो र अरूको पनि अवरोध हटाउन सक्छौँ ।
यो ज्ञानमार्गमा तिम्रो पहिलो कदम राखेपछि तिम्रो जीवन सम्पन्न हुन्छ, स्वर्णधागोले होसियारीपूर्वक सिइएको सुन्दर वस्तुजस्तै । सम्पूर्ण जगत्लाई बिस्तारै अँगालो हाल र सबैलाई तिम्रो यो यात्रामा सहयात्रीझैं व्यवहार गर । हामी सबै एकै डुंगामा छौँ, त्यसैले हामीले सबैलाई बराबरी व्यवहार गर्नुपर्छ । हाम्रा सोचाइलाई यसरी उच्चतामा पुर्‍याउनु सधैं सजिलो त हुन्न किनभने हामी आपैँmलाई हेरेर धेरै समय व्यतीत गर्छौं । अरूको बारेमा बढी सोच्ने गरी तिम्रो दिमागलाई तालिम दियौ भने तिम्रो दृष्टि फराकिलो हुन्छ र तिम्रो हृदय नरम हुन्छ । दयालु हृदय लिएर पहिलो पाइला चाल्नु सुरु गर्ने सबैभन्दा सही तरिका हो ।
दयालु चाहना
हाम्रो जीवन सम्पूर्णतामा बाँच्न हामीले सबै कुरा सम्पूर्ण रूपले गर्नुपर्छ । पूर्ण क्रियाकलाप शुद्ध चाहनाबाट सुरु भएको हुन्छ । अर्को शब्दमा दयालु हृदय जागृत गर ।
हाम्रो गतिविधि दयालुपनाबाट भरिएका नभए हामी पूर्ण नतिजा प्राप्त गर्न सक्दैनौँ । जबसम्म हाम्रो गतिविधि शुद्ध हृदयबाट निस्किएका हुँदैनन्, हामीले हाम्रो सम्भावना सीमित गर्छौँ । हाम्रो जीवन खाली र अर्थहीन हुन्छ । अर्कातिर हामीले अरूलाई सेवा गर्ने उद्देश्यले काम गर्‍यौँ भने हाम्रो जीवन उच्चतामा पुग्छ र प्रत्येक श्वास आश्चर्यजनक उपहारजस्तो लाग्छ । सकारात्मक व्यवहारले हाम्रो जीवन सुन्दर पार्छ जसरी एउटा राम्रो जवाहरातले त्यो पहिरिएको व्यक्तिलाई सुन्दर पार्छ । बुद्ध परम्परामा एलिक्जिरको विम्ब दयालु हृदयको परिवर्तनकामी शक्तिलाई बुझाउन प्रयोग गरिन्छ । एउटा शुद्ध इच्छा पनि त्यही एलिक्जिरजस्तै हो जसले सामान्य धातुलाई महत्त्वपूर्ण सुनमा रूपान्तरण गर्छ ।
हाम्रा क्रियाकलाप शुद्ध चाहनाले निर्देशित नभए हामी चाँडै आकर्षण र चाखमा हराउँछौँ । सुरुमा एउटा परियोजना जति नै उत्साही लागे पनि त्यो निराशामै अन्त्य हुन्छ । स्वार्थी सोचाइ शुद्ध सोचाइ होइन । त्यसैले सुरुदेखि नै आफ्नो समाधानलाई सुदृढ गर, तिम्रो चाहनालाई शुद्ध गर र एउटा दयालु हृदय जागृत गर । तिम्रो व्यवहार निष्ठा र समर्पणले चम्कन्छ । तिमी कहिल्यै पराजित वा साहसविहीन महसुस गर्नेछैनौ । तिमी आपैँm र अरूलाई पनि सम्मान गर्नेछौ, त्यस्तो सम्मान जुन हामी सबैभित्र रहेको आधारभूत सुन्दरताको जरामा झ्याँगिएको हुन्छ ।
तिमी जे गर्न चाहन्छौ, केही गर्नुअघि त्यसबारे सोचेर मात्र सुरु गर । शुद्ध सोच पैदा गर र यसलाई तिम्रो छातीभित्र हुर्काऊ । अरूसँग गरिएको प्रत्येक अन्तरक्रिया यो र भविष्यको जीवनमा उनीहरूको खुसीका लागि हुनेछ र अन्त्यमा यसले अरूलाई पूर्णज्ञानको अतिरेक खुसीपनामा डोर्‍याउँछ भन्ने शुद्ध चाहना राख ।
स्वआनन्दको साँचो खोल
जब हाम्रो उद्देश्य शुद्ध हुन्छ, हामी सबै कुरा सजिलै हासिल गर्न सक्छौँ, जसरी एउटा चिल हावामा कुनै प्रयत्नविनै उडिरहेको हुन्छ । जब हामी करुणामय हृदयको पवित्र चाहना गर्दैनौँ । यदि हामी सय वर्षसम्म ध्यानमा बस्यौँ भने पनि, हाम्रो आध्यात्मिक अभ्यासमा कुनै महत्त्वपूर्ण कुरा हासिल गर्दैनौँ । हामी के गर्छौँ भन्नेभन्दा कसरी गर्छौँ भन्ने बढी महत्त्वपूर्ण हो । एक गिलास दूधमा एक थोपा विष मिसाइदियो भने तिमी त्यो प्युँदैनौ । यदि तिमी पूर्णरूपले स्वार्थी लक्ष्यले अघि बढिरहेका छौ भने नतिजा यस्तै खतरनाक हुन्छ । अर्कातिर यदि तिमी अरूको दु:ख र पीडा हटाउन इमानदारीपूर्वक लागेका छौ भने तिम्रो जीवन फूलभैँm फुल्नेछ ।
प्रशस्त सम्पत्ति भएको एउटा दु:खी व्यक्ति अरूलाई वास्तै गर्दैन भने आफूलाई एक्लो र प्रेम नगरिएको महसुस गर्छ । यदि हामी हाम्रै इच्छा र चाहनामा बढी केन्द्रित भयौँ भने हामी आफ्नो खुसीका मौकालाई सीमित गर्छौँ । अरूको ध्यान राख्नु भनेको हाम्रो भावनात्मक ज्ञानलाई तिखार्नु हो । यदि हामी सम्पूर्ण मानवतालाई सहयोग गर्ने पवित्र चाहनाबाट सुरु भयौँ भने हाम्रो जीवन आनन्दले भरिएको र उद्देश्यले अघि बढेको हुन्छ । हामी सबैको फाइदाका लागि ज्ञान हासिल गर्न पवित्र चाहनाबाट सुरु गर्छौँ । हामीले हाम्रो परम्परामा भने जसरी पवित्रता नै सुरु हो, पवित्रता नै अभ्यास हो र अन्त्य पनि पवित्रता नै हो ।
एउटा सही आध्यात्मिक बाटोले स्वआनन्दको साङ्लो र हाम्रो हृदयको संकुचन खोल्छ, जसले हाम्रो दृष्टिलाई साँघुर्‍याउँछ भने क्षितिज सीमित पार्छ । वास्तविक करुणाले हाम्रो जीवनलाई शुद्ध गर्छ र हामीलाई अरूलाई निर्देशित गर्न सघाउँछ जसरी एउटा उज्यालो घरले समुद्रमा हराएको जहाजलाई सुरक्षित बाटोको संकेत गर्छ । आफूलाई सोधेर तिम्रो चाहनालाई सधैँ प्रशंसित गरिराख, के यो दयालुपना हो ? यसलाई आफ्नो जीवनको प्राकृतिक बाटो बनाऊ ।
दैनिक प्रार्थना
तिम्रो सम्भावनालाई पूर्णअनुभव गर्न र वास्तविक स्वतन्त्रता हासिल गर्न सबैप्रति सधैँ करुणा र प्रेम गर । यदि तिमी आफूलाई स्वार्थी सोच र क्रियाकलापबाट मुक्त गर्न सक्छौ भने तिमी आनन्द र स्वतन्त्रताको प्राकृतिक स्थितिबाट आनन्दित हुन सक्छौ ।
शुद्ध चाहनालाई मलजल गर्नुको परिणाम आध्यात्मिक मार्गमा सफलता हो । यदि तिम्रो हृदय शुद्ध भयो भने तिम्रो मार्ग पनि शुद्ध हुन्छ । तिमीले महसुस गर्छौ तिम्रो जीवन खेर फाल्नलाई धेरै महत्त्वपूर्ण छ, त्यसपछि तिमीसँग एउटा सोचाइविहीन प्रतिक्रियाका लागि समय हुँदैन । तिमीले प्रत्येक वस्तुमा पवित्रता देख्न सक्नेछौ ।
बौद्ध यात्रामा करुणाको हृदय विकास गर्नु आवश्यक अभ्यास हो । विहान तिमी उठ्नेबित्तिकै चिया/कफी खानु/दाँत माझ्नु वा नुहाउनुअघि एकैछिन थामिएर यो साधारण प्रार्थना वाचन गर :
म शुद्ध उद्देश्यले काम गर्छु ।
म स्वार्थरहित मार्गबाट बाहिरिन्छु ।
म अरूका लागि खुसी र आनन्द ल्याउँछु ।
म अरूलाई पीडा र चोटबाट मुक्त गर्छु ।
म ठूलो र खुला हृदय बनाउँछु ।
यसले समग्र दुनियाँलाई समेट्छ ।
यी सकारात्मक चाहनाको संकेतले तिम्रो सम्पूर्ण दिनमा जीवन्तता र उद्देश्य ल्याउँछ । तिमीले काम सुरु गर्नुअघि, तिम्रा सहकर्मीहरूलाई भेट, खाना खाऊ र तिम्रो परिवारसँग आनन्दित होऊ, दयालु हृदयको तरंग फैलाऊ । राति सुत्नुअघि तिम्रो दिनलाई फर्केर हेर र अरूका लागि तिमीसँग भएको राम्रो चाहनामा आनन्दित होऊ । तिमीले आनन्दपूर्ण निद्रा हासिल गर्नेछौ र तरोताजा महसुस गर्दै उठ्नेछौ ।
वास्तविक ज्ञान
केही क्षणका लागि यो वाक्यबारे सोच : प्रत्येक व्यक्ति खुसी हुन चाहन्छ र दु:खमा चाख राख्ने एकैजना छैन । हुन पनि सबै प्राणी यो हिसाबले समान छन्, हामी तिनलाई साथी भनूँ या शत्रु ।
हाम्रो विद्वत्ता प्रयोग गरेर हामी यो विश्वव्यापी सत्य बुझ्न सक्छाँै, कुनै धार्मिक धारणाले हामीलाई विश्वासमा पारिरहनु आवश्यक छैन । आम ज्ञानले बताउँछ, प्रत्येक व्यक्ति दु:खबाट मुक्ति चाहन्छ र अरू होइन, खुसीमा आनन्दित हुन चाहन्छ । हामी खुसीलाई धेरै रूपले लिन सक्छौँ, भाग्यलाई एकीकृत गरेर, आनन्द र मनोरञ्जनका पछि दौडेर वा आध्यात्मिक मार्गको मुक्तिको सम्भावना खोजी गरेर । तर, के हामी आफ्नै लागि मात्र खुसी खोजेर सफल हुन सक्छौँ ?
यो एकतर्फी बाटोले खुसी ग्रहण गरेर दीर्घ पूर्णतालाई हामी कहिल्यै निश्चिन्त गर्न सक्दैनौँ । विश्वव्यापी चासो निर्माण गर्नु र अरूलाई माया गर्नु दोहोरो पूर्णतालाई प्रतिबद्ध गर्ने ज्ञानपूर्ण तरिका हो । जसरी यो भनाइ आउँछ, राम्रो गरेर अझ राम्रो काम गर ।
(श्याल्पा तेन्जिन रिन्पोछेको बहुचर्चित किताब ‘लिभिङ फुल्ली : फाइन्डिङ जोय इन एभ्री ब्रेथ’को नेपाली संस्करण ‘प्रत्येक श्वासमा आनन्द : पूर्णताको जीवन’को एक अंश । पत्रकार युवराज घिमिरे र मनोज दाहालले अनुवाद गरेको नेपाली संस्करण शुक्रबार सार्वजनिक भएको छ ।)

प्रतिक्रिया