इन्साफ

रत्ने घर्ती हुर्रिँदै मानव अधिकारको अड्डामा पस्यो । उसको हातमा नाङ्गो खुकुरी थियो । बिजुलीको टहकमा खुकुरीको आलो रगत टल्क्यो । मानव अधिकार रक्षकहरु अताल्लिए ।
‘बचाऊ’ रत्ने चिच्यायो । ‘अपराधीको जालबाट मलाई बचाऊ ।’
अलिबेरमा रत्नेको उत्तेजनाको पारो झर्‍यो । र, मानव अधिकार रक्षकहरुको डर मत्थर भयो ।
‘के भो, भाइ ?’ कलम हातमा लिएर लेख्न हतारिँदै मानव अधिकार रक्षकले सोध्यो ।
हडबडाउँदै रत्नेले भन्यो, ‘पुलिसको बगाल मेरो पिछा गर्दैछ, हजुर । मलाई पक्रिन, मलाई कुट्न, मलाई झ्यालखानमा जाक्न…..’
‘किन नि ?’ चाच्चाँडो केही लेख्दै मानव अधिकार रक्षकले सोध्यो, ‘आखिर किन ?’
‘किस्ने ब्याधालाई मैले मारेँ,’ रत्नेले छिट्छिटो भन्यो । ‘उसले मेरी स्वास्नीलाई हातपात गर्न खोज्यो । मेरी स्वास्नीलाई क्या उसको गलैँचा कारखानामा काम गर्ने मेरी स्वास्नीलाई । अस्तिमात्रै बिहा गरेर ल्याएकी मेरी स्वास्नीलाई । हो, त्यो किस्ने ब्याधालाई मैले मारेँ †’ रत्नेका हातको खुकुरी रगत टल्काउँदै माथि उठ्यो, ‘मारेँ †’
‘अप्ठ्यारो परेछ,’ मानव अधिकार रक्षकले भन्यो ।
‘नाइँ, ‘रत्नेले प्रतिवाद गर्‍यो, ‘नमारेको भए अप्ठ्यारो पथ्र्यो, हजुर ।’
‘नहुनु भइसक्यो, हामीले अब खै के गर्ने, भाइ ?’
‘गर्नुपर्छ,’ रत्नेले पुकारा गर्‍यो । ‘मेरी स्वास्नीलाई मैले बचाएँ । अब केजाती मानव अधिकार भन्नेले मलाई बचाइदिनु पर्‍यो ।’ उसले हात जोडेर बिन्ती बिसायो, ‘हजुर मलाई ..’
मानव अधिकार रक्षकले निधार मुजा पारेर गम खायो । उसले कलमको टुप्पोले नाक मुसार्‍यो र गम्दारी स्वरमा भन्यो, ‘हुन्छ, जो सकेको हामी गरौँला ।’
‘हजुर, तिनले एक्लो पारेर मलाई कुट्लान् ।’
‘ठीक छ, कुटे भने हामी भनौँला— कुट्नु बेठीक हो ।’
‘कुटे भने ?’ रत्नेले झस्किँदै सोध्यो ।
‘हो,’ मानव अधिकार रक्षकले भन्यो, ‘कुट्दै नकुटीकन ‘नकुट’ भन्न नियमले मिल्दैन ।’
रत्नेले कुरा बुझेन । ऊ झन् अताल्लियो र रगत लत्पतिएको हातले उसले मुख छोप्यो ।
साइरनको आवाज सुनेर रत्ने बिचलित भयो । ‘हजुर †’ निरीह स्वरमा उसले विन्ती बिसायो, ‘हजुर, तिनले मलाई झ्यालखानमा सढाउलान् । यता बाहिर मेरी स्वास्नीलाई अरूले हातपात गर्लान् ।’
मानव अधिकार रक्षकले ढाडस दियो, ‘गरे भने हामी भनौँला— हातपात गर्नु बेठीक हो ।’
प्रहरीहरुको झुप्पो ढोका बाहिर आइपुग्यो । रत्नेका चल्लीमा एक मुक्का बज्य्रो र उसको खुकरी उछिट्टिएर मानव अधिकार रक्षकको टेबुलमाथि बज्रिन पुग्यो । उसलाई तिनले फेरि कुटे— हातले कुटे, लात्तले कुटे, डण्ठाले कुटे । रत्ने यसरी चिच्यायो मानौँ उसको मुखबाट पीडितहरुको जुगौँजुगको पीडा एकमुष्ट भई पोखिएको हो । मानव अधिकार रक्षकले ‘नकुट’ भन्नै भ्याएन । ऊ त लेख्नमा तल्लीन थियो । कति जनाले कुटे, के केले कुटे, केमा कुटे, कुन बेला कुटे, कुन ठाउँमा कुटे, के कारणले कुटे — उसले मानव अधिकारको स्रेस्तामा यी यावत् कुरा रिठ्ठो नबिराइकन लेख्यो ।
‘गुहार †’ रत्ने चिच्यायो, ‘गुहार, मलाई मारे †’
उसको चीत्कारले भित्ताका कणकण थर्के, हावाका तरङ्ग छियाछिया भए । तर मानव अधिकार रक्षक लेख्नमा यति मग्न थियो, त्यो चीत्कार, त्यो पीडा, त्यो छट्पटी— ती सबै कुराको भेउ पाउन उसलाई फुर्सदै भएन । लेख्दै जाँदा रत्नेले ‘गुहार’ भनेको पनि उसले लेख्न भ्यायो । कुट्दै, आमाको नाउँ काढेर गाली गर्दै, ठेल्दै र घिसार्दै रत्नेलाई प्रहरीले तल झारे । मानव अधिकार रक्षकले लामो सास फेर्‍यो र लेखेको बेहोरा एकाग्र चित्तले पढ्यो । उसलाई लाग्यो— आज निकै ठूलो काम सम्पन्न भयो । सधैँजसो अरूले भनेका बासी कुरा सुनेर रिपोर्ट लेखिन्थ्यो, आज नाकै मुखेञ्जि प्रत्यक्ष देखेर लेखियो । हो, सत्य–साँचो जति आज सिङ्गै लेखियो ।
प्रहरीको ओसिलो, दुर्गन्धी, अँध्यारो, एकलासे खोरमा रत्ने मुर्दा समान भई लम्पसार परेको थियो । उता एकलासे खोलाको उदास र उजाड बगरमा घोप्टो परेर उसकी स्वास्नी लोग्नेलाई सम्झँदै र आºनो भविष्यको कल्पनाले कहालिँदै रोइरहेकी थिई । मानव अधिकार रक्षकले बाटो लाग्दै सन्तोषको सास फेर्‍यो— आज भने केही काम भयो— नौलो, कसैले गर्न नसकेको काम †
ज्यान थिल्थिलो र हृदय छियाछिया भएको रत्नेलाई प्रहरीले अदालतसामु पेश गर्‍यो । पच्चीस वर्षको रत्ने एक महिना खोरमा थुनिँदा झन्डै दस वर्ष बूढो भएझैँ लाग्थ्यो ।
कठघरामा उभिएको रत्नेले तामा–तुलसी छोएर किरिया हाल्यो— ‘म जे बोलुँला सत्य–साँचो बोलुँला ।’ उसको मुद्दाले शहरभरि सनसनी फैलाएको थियो । त्यसैले बयान सुन्न हुलै जुटेको थियो । हुलमा आँखा डुलाउँदा रत्नेको मनमा आशाको तरङ्ग उठ्यो— म एक्लै छैन । सत्यको पक्षमा संसार खडा हुनेछ ।
सरकारी वकिलले सोध्यो, ‘रत्नबहादुर, गलैँचा साहु कृष्णलाल दासलाई तिमीले मारेकै हौ त ?’
‘मारेकै हुँ, साप् ।’ सत्यको जीत हुन्छ भन्ने आशाका साथ उसले निर्धक्क भएर बयान दियो, ‘खसोखास मारेको हुँ, साप् ।’ सुन्नेहरु हाँसे । अनि अघि सिकाएबमोजिम साइनो सपार्दै उसले भन्यो, ‘हो श्रीमान् ।’
हाँसोको अर्को लहर उठ्यो ।
‘के कारणले मारेका हौ त, बाबु ?’ सपाट स्वरमा वकिलले सोध्यो,
स्कुले केटाले घोकेको पाठ बुझाएझैँ रत्नेले भन्यो, ‘त्यल्ले मेरी स्वास्नीलाई हातपात गर्न खोज्यो, साप् । त्यसैले गर्दाहुँदी मैले त्यल्लाई .’
‘हातपात गर्न खोज्दैमा काटिहाल्नु ठीक हो र रत्नबहादुर ?’
‘साप्,’ रत्नेको स्वर काम्यो, ‘नकाटेको भए, साप्, त्यल्ले नाश गथ्र्यो । धन्न काटेर मैले जोगाएँ ।’
नियम–कानुनका नाम–नम्बर खोलेर वकिलले के के भाषण गर्‍यो । अनि भाषणको बिट मार्दै उसले भन्यो, ‘तिमी चुक्यौ, रत्नबहादुर । स्वास्नीलाई हातपात गर्नै नपाई गलैँचा साहु कृष्णलाल दासलाई तिमीले काट्यौ । त्यसैले …’
लक्षण ननिको देखेर रत्ने आत्तियो । अनि सुन्नेहरुमा सहानुभूति जगाउने आसाले उसले भन्यो, ‘साप्, हातपात गरिहालेको भए त नाशै हुन्थ्यो नि † त्यसैले गर्दाहुँदी साप्, पैले नै ब्याधालाई ढालेर मैले स्वास्नीको सत् जोगाएँ ।’
‘रत्नबहादुर †’ कृत्रिम सहानुभूति मिसिएको स्वरमा वकिलले भन्यो, ‘कृष्णलाल दासले हातपात गर्न खोजेको तिमीलाई त थिएन नि बाबु † तर तिमीले उसलाई काट्यौ ।’
‘साप् † त्यल्ले मेरी स्वास्नीका हात अँठ्याएको थियो, त्यसैले ..’
‘त्यहीँ त तिम्रो प्वाइन्ट तल पर्‍यो, रत्नबहादुर । तिम्रो सट्टा तिम्री स्वास्नीले काटेकी भए अथवा हातपात गरिसकेपछि तिमीले काटेका भए…’
‘साप् †’ रत्नेको स्वर थक्र्यो, ‘मैले नकाटेको भए हाम्रो मायापिर्ती नाश हुन्थ्यो साप् । हाम्रो जीवन बर्बाद हुन्थ्यो । बेलैमा काटेर मैले मायापिर्ती जोगाएँ ।’
‘त्यै त बर्बाद भो, रत्नबहादुर ।’ वकिलको निरस स्वर रत्नेका कानका जाली छेड्दै उसको अन्तरमा गाडियो । ‘यसो सम्झ त, रत्नबहादुर † तिम्रो हानि–नोक्सानी हुनै नपाई उसको ज्यान जखम भो ।’
‘तर श्रीमान् साप् † मेरो मायापिर्ती, मेरो जीवन, मेरो इज्जत, मेरो सर्वस्व…’
‘यी सब भावुक कुरा हुन्, रत्नबहादुर ।’ भावनाहीन स्वरमा वकिलले भन्यो, ‘कानुनको हिसाब सोझो हुन्छ, बाबु † सोझो, सरल र सफा । कानुनको हिसाबमा, बुझ्यौ रत्नबहादुर, एकमा एक जोडे दुई हुन्छ, दुईमा दुई जोडे चार हुन्छ । एकजना मारिँदा त्यसको सट्टाभर्ना गर्न अर्कोजना झ्यालखानामा थुनिन्छ ।’
रत्नेलाई भनन्न रिङ्गटा लागेर आयो । उसले दुई हातले शिर अँठ्यायो । त्यत्तिकैमा कपाल सेताम्मे भएको न्यायाधीशले जुम्सो स्वरमा फैसला सुनायो, ‘ज्यान मारे बापत रत्नबहादुर घर्तीलाई बीस वर्ष कैद ठहर गरिन्छ ।’
सुस्त स्वरमा आएको त्यो फैसला हजार घनको चोट भएर रत्नेको छातीमा बज्य्रो । उसले दुबै मुक्का कठघराको डिलमा पछार्‍यो । उसले दाह्रा किट्दै कपाल लुछ्यो र कामिरहेका हात हावामा हल्लाउँदै क्रोधको आगो बलेको स्वरमा भन्यो, ‘यो जंगली फैसला हो । गुहार † गुहार † जंगलको निसापले मेरो मायापिर्तीको घाँटी अँठ्यायो ।’
रमितेहरुको हुल मौन मूर्तिझै आँ गरेर उभिइरह्यो । हतकडीको साङ्लोले डोर्‍याएर प्रहरीहरुले रत्नेलाई घिसार्दै बाहिर निकाले । हाई काढ्दै बूढो न्यायाधीश आसनबाट उठ्यो । रकमी सूत्रहरुको चक्रव्यूहमा धेरै अघिदेखि थुनिएको उसको जड हृदयमा सन्तोषको तरङ्ग उठ्यो— आज पनि सही फैसला भो † दूधको दूध पानीको पानी छुट्टियो †
(हिजो साहित्य उत्सवमा सार्वजनिक भएको ‘कुन्साङ काकाका कथा’बाट)

प्रतिक्रिया