नेपाल मैत्रीपूर्ण फुटबलमा बंगलादेशसित बराबर

काठमाडौं, ५  असोज । नेपाल र बंगलादेशबीच बिहीबार भएको मैत्रपूर्ण फुटबल म्याच १–१ गोलले बराबरीमा समाप्त भएको छ । सुरुआतदेखि नै खेलमा हाबी भएको देखिए पनि नेपाल पहिलो हाफमा एक गोलले पछि परेको थियो । दर्शकदीर्घा लगभग खाली रहेको दशरथ रंगशालामा दोस्रो हाफको मध्यतिर पुगेपछि भने नेपालले भोला सिलवालमार्फत बराबरी गोल फर्काउन सकेको थियो । मैदान खेल्नयोग्य नभएपछि दुईमध्ये गत मंगलबार हुने भनिएको पहिलो खेल रद्द गरिएको थियो ।
नेपाली खेलाडीको कमजोर फिनिसिङका बीच बंगलादेशले ४२औँ मिनेटमा फ्री–किकमार्फत अग्रता लिएको थियो । डी–बक्सको लाइनबाहिरबाट स्ट्राइकर जाहिद होसेनले गरेको फ्री–किक सजिलै गोलमा फेरिएको थियो ।
होसेनले फस्ट बारमा गरेको प्रहार गोलकिपर किरण चेमजोङले खासै नहल्लिकनै हातले सहजै भेट्ने स्थिति रहेको भए पनि गोल भएको थियो, त्यसबेला चेमजोङ केवल हेरेका हेरै भएका थिए । किरणले नै डी–बक्सबाहिर आएर बल समातेपछि बंगलादेशले उक्त फ्री–किक पाएको थियो ।
नेपाली रक्षापंक्तिको निरन्तर कमजोरीको पहिलोपटक फाइदा उठाउने प्रयासमा बंगलादेशका होसेन वनभर्सेस वनमा अगाडि बढेपछि किरणले अगाडि बढेर बल समात्ने जोखिम मोलेका थिए । यसबापत उनलाई पहेँलो कार्ड पनि देखाइएको थियो ।
बंगलादेशले दोस्रो हाफमा सुरुआतदेखि होसेनको प्रदर्शनमा केही समय दबाब सृजना गर्‍यो । ४९औँ मिनेटमा गोलकिपर किरण अगाडि बढेको मौकामा होसेनले उनलाई बिट गरे पनि डिफेन्डर रविन श्रेष्ठ गोलपोस्टको दिशामा अघि बढ्दै कठिनरूपमा बल क्लियर गरेका थिए । त्यसको दुई मिनेटपछि बंगलादेशले उत्तिकै बलियो आक्रमण रच्यो तर यसपटक नेपाली गोलकिपरको प्रदर्शन सराहनीय रहयो । होसेनले आकर्षक ड्रिबलिङ गर्दै डी–बक्सभित्रबाट फस्ट बारमा गरेको आक्रमण किरणले उत्कृष्टरूपमा बचाउ गरे ।
यसपछि भने बंगलादेशले गतिलो आक्रमण गर्न सकेन । ६१औँ मिनेटमा नेपालले खेललाई बराबरीमा ल्याइपुर्‍यायो । विंगरका रूपमा प्रयोग गरिएका डिफेन्डर विराज महर्जनले फ्लान्कबाट गरेको प्रहार बंगलादेशका गोलकिपर मोहमद जियाउर रहमानले नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा मिडफिल्डर सिलवालले गोल गरेका थिए । विपक्षी खेलाडी नियन्त्रणबाहिर रहेको मौकामा भोलाले सेकेन्ड बार च्यापेर गरेको आक्रमणमा सजिलै गोल भयो । नेपालको गतिलो र  एक मात्र आक्रमण नै यही बन्यो ।
यसअघि भरत खवास र  विमल घर्तीमगरलाई स्ट्राइकरका रूपमा पहिलो रोजाइमा उतारेको नेपालले खेलमा पछि पर्नुअघिसम्म लगातार दबाब दिए पनि फिनिसिङ कमजोर हुँदा सुरुआती अग्रता लिन असफल भयो । आठाँै मिनेटमा डिफेन्डर विराजले डी–बक्सभित्र निकालिदिएको एयरपासमा भरतको हेडप्रहार कमजोर भयो । यद्यपि उक्त प्रहार रिवाउन्ड हुँदा नेपालले फेरि अवसर पाए पनि विंगर जगजित श्रेष्ठको ‘ग्रास’ प्रहार कमजोर रहयो । १२औँ मिनेटमा भरत वनभर्सेस वनमा अगाडि बढे पनि विपक्षी गोलकिपर रहमानले अगाडि बढेर क्लियर गरे । १७औँ मिनेटमा भरतले हेडमार्फत निकालिदिएको पासमा मिडफिल्डर राजु तामाङको प्रहार कमजोर रहयो । खेलको अन्त्यसम्म नेपाली डिफेन्डर कप्तान सागर थापासहित रोहित चन्द र रविन श्रेष्ठको प्रदर्शन अपेक्षाकृत रहेन । उनीहरूबीच तालमेलको समेत अभाव देखिएको थियो । सागरले पटकपटक फ्री–बल पनि आउट प्रहार गरेका थिए ।
दोस्रो हाफ सुरु भएको केही समयसम्म पनि नेपालले गोल गर्न नसकेपछि विमलको ठाउँमा जुमानु राईलाई मैदान छिर्‍याइएको थियो । त्यसपछि एक समय भरत, जुमानु र अनिल गुरुङ पनि मैदानमा सँगै देखिएका थिए । राष्ट्रिय टिम र अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने क्रममा अनिल गुरुङ, जुमानु राई र सन्तोष साहुखललाई बेन्चमा राख्दै मैदान उत्रिएका विमल पहिलो हाफसम्म प्लेमेकरका रूपमा बढी छाए । उनले दोस्रो हाफमा मैदान छाड्नु अघिसम्म राम्रो ‘फुटबलिङ स्किल’ प्रदर्शन गर्दै केही दर्शनीय पासहरू निकालेका थिए । दोस्रो हाफमा भने उनी सुस्त देखिए । यु–१४ युथ फेस्टिबल र गत वर्ष सुव्रतो मुखर्जी कपमा राम्रो प्रदर्शन गरेका कारण यी किशोरलाई प्रशिक्षक कृष्ण थापाले पहिलो रोजाइमा उतारेका थिए ।
‘पहिलो हाफमा मिहिनेत पुगेन । पटकपटक अवसर खेर गयो । विमलले अपेक्षाअनुसार खेल्यो,’ नेपाली प्रशिक्षक थापाले भने, ‘दोस्रो हाफमा पनि स्ट्राइकरबाट अपेक्षित प्रदर्शन पाउन सकिएन ।’ उनले बंगलादेश राम्रो टिम भएकोले बराबरीको नतिजा पनि राम्रो भएको प्रतिक्रिया दिए ।
गत साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई १–० ले पराजित गरेको थियो । प्रशिक्षक थापाले आगामी दिनमा पनि नयाँ खेलाडीलाई पहिलो रोजाइमा अवसर दिने बताउँदै अब वैकल्पिक टिम तयार गर्नुपर्ने खाँचो आँैल्याए । यता बंगलादेशका प्रशिक्षक सैफुल बारी टिटुले आफ्नो टिमले अन्तिम समयसम्म पनि बाघजसरी लडेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया