भारतले म्याच जित्यो, अफगानिस्तानले मन

कोलम्बो, ५  असोज । निकै राम्रो लयमा हिँडिरहेका विराट कोहलीको अर्धशतक र क्यान्सरजस्तो रोगविरुद्ध लडेर भरखरै क्रिकेटमा फर्किएका युवराज सिंहको अब्बल बलिङपछि भारतले बुधबार राति आइसिसी टी–ट्वान्टी च्याम्प्यिनसिपमा कमजोर आँकिएको अफगानिस्तानलाई २३ रनले पराजित गर्‍यो ।
म्याच सुरु हुनुअघि भारतले ठूलो अन्तरले जित्ने अनुमान गरिएको थियो तर अफगानिस्तानले बलियो चुनौती पेस गरेपछि भारतीय टोली भविष्यका अन्य म्याचबारे सोच्न विवश हुन पुगेको छ ।
कोहलीले ३९ बलमा ५० रन बनाए । उनीबाहेक सुरेश रैनाले दुईपटक जीवनदान पाउँदै ३३ बलमा ३८ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले अन्तिम समयमा नौ बलमा १८ रन बनाएपछि भारतले पाँच विकेट क्षतिमा १५९ स्कोर खडा गर्न सकेको थियो ।
जवाफमा अफगानिस्तानले एक रनमै तीन विकेट गुमाएको मूल्य चुकाउनुपर्‍यो । पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेपछि अफगान ब्याट्सम्यानहरूले अनुभवहीनता देखाए र एकपछि अर्को गर्दै आउट हुँदै गए । मोहम्मद नबीले १७
बलमा ३१ रन बनाए तर सबै अफगान खेलाडी १९.३ ओभरमा १३६ रनस्कोरमा अलआउट हुन पुगे ।
भारतका लागि आफ्नो करिअरको सर्वश्रेष्ठ प्रदर्शन गर्दै १९ रन खर्चेर तीन विकेट लिए भने युवराजले २४ रन दिएर तीन र आर आश्विनले २० रन दिएर
दुई विकेट लिए । भारतले यस प्रतियोगिताको पहिलो म्याच जिते पनि आफ्नो जुझारु खेलशैलीले गर्दा अफगानिस्तानले दर्शकहरूको मन जितेको पाइयो । उसले टस
जितेर भारतलाई पहिले ब्याटिङ गर्न निम्त्याएको थियो ।
पहिलो म्याच जिते पनि भारतले आगामी दिनमा ठूला र सशक्त भनिएका टोलीहरूविरुद्ध खेल्नुअघि केही सिनियर खेलाडीको प्रदर्शनबारे सोच्नुपर्ने चिन्ता बढेको छ । वीरेन्द्र सहवाग (८ रन) र गौतम गम्भीर (१० रन) को ओपनिङ जोडी फेरि एकपटक असफल सावित भयो भने जहिर खान आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको वरिपरि कतै पनि देखिन सकिरहेका छैनन् । जहिरले आफूले गरेका तीन ओभरमा ३२ रन खर्चेका थिए ।
भारतको दोस्रो म्याच अब आइतबार समूह ‘ए’ को अर्को टोली इंग्ल्यान्डविरुद्ध छ । पहिलो म्याचको समाप्तिपछि कप्तान धोनीले म्याच जिते पनि यसलाई प्रशंसनीय प्रदर्शन मान्न नसकिने विचार व्यक्त गरे । भारतका केही शीर्ष ब्याट्सम्यान रन बटुल्न मरिहत्ते गर्दै थिए भने मुख्य बलरहरूले निराश तुल्याए । धोनीले भने, ‘यस किसिमको क्रिकेटमा दुवै टोली उस्तैउस्तै हुन्छन्, अवसर पनि समान हुन्छन् ।
विरोधी टोलीका कुनै एकजना ब्याट्म्यान वा बलर जम्यो भने परिणाम फेरिन
कत्तिबेर लाग्दैन ।’
धोनीले आगामी म्याचहरूमा पनि भारत चार बलरसहित प्रतिस्पर्धामा उत्रने बताए । उनले युवराज सिंहको प्रदर्शनप्रति निकै सन्तुष्टि व्यक्त गरे ।
कोहलीले लगातार छैटौँ अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरे । भारतको तर्फबाट केवल राहुल द्रविडले मात्र लगातार सात अन्तर्राष्ट्रिय इनिङमा अर्धशतक बनाएका छन् । कोहली म्यान अफ द म्याच पनि घोषित भए ।
बिहीबार राति हम्बनटोटामा समूह ‘सी’ का दक्षिण अफ्रिका र जिम्बाब्वेबीच ‘अफ्रिकन डर्बी’ म्याच हुँदै छ भने शुक्रबार पालेखेलमा समूह ‘डी’ अन्तर्गत बंगलादेश र न्युजिल्यान्डबीच तथा कोलम्बोमा समूह ‘ए’ अन्तर्गत अफगानिस्तान र इंग्ल्यान्डबीच म्याच हुनेछ ।

प्रतिक्रिया