विरोध झेल्दै पूर्वराजा जिल्लातिर

पोखरा, ५ असोज । विरोधका बीच पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार गण्डकी र धौलागिरि अञ्चलका विभिन्न जिल्ला दौडाहामा निस्किएका छन् । विभिन्न राजनीतिक दलले पूर्वराजा शाहको पश्चिम दौडाहालाई ‘गणतन्त्रमाथिको धावा’को संज्ञा दिँदै विरोध गरिरहेका बेला उनी घुमफिरमा निस्किएका हुन् ।
साताव्यापी भ्रमणका क्रममा पूर्वराजा शाह पहिलो दिन बिहीबार पोखरा आइपुगेका छन् । दिउँसो ४ बजे पोखरा आइपुगेका पूर्वराजाको यहाँ भव्य स्वागत भएको छ । कोत्रे भन्ने स्थानबाट सुरक्षाकर्मी,  शिवसेना र समर्थकको मोटरसाइकल स्कर्टिङका बीच पोखरा आइपुगेका उनी झरीमै स्वागतमा सहभागी भएका थिए । उनी पैदल फिस्टेल लज पुगेका थिए ।
पञ्चेबाजा, पञ्चकन्यासहित स्वागत गर्न बसेका उनका समर्थकले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाऊ’, ‘नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ,’ भन्दै नाराबाजी गरेका थिए । समर्थकले पूर्वराजालाई ‘बडामहाराजाधिराज’ भनेर सम्बोधन गरिरहेका थिए । पूर्वराजाले बिहीबारको रात फिस्टेल लजमै बिताउँदै छन् ।
उनलाई पूर्वराष्ट्रप्रमुखका हैसियतमा सुरक्षा प्रबन्ध मिलाइएको छ । स्थानीय प्रशासनले उनलाई त्यस्तो कुनै छुट्टै सुरक्षा व्यवस्था नगरिएको उल्लेख गर्दै पूर्वराष्ट्रप्रमुखको हैसियतमा सुरक्षा दिइने जनाएको छ ।
पूर्वराजा शुक्रबार म्याग्दीको बेनीस्थित भर्तीकल बम शिवालय र गलेश्वर पुगी दर्शन गर्ने र म्याग्दीमै बस्ने कार्यक्रम छ । त्यस्तै, शनिबार बाग्लुङ कालिका र पर्वतको कुस्मास्थित गायत्रीमाता मन्दिरको दर्शन गरी पोखरा फर्किने कार्यक्रम छ । ७ गते स्याङ्जाको गुणिखोलास्थित धनुशेश्वर महादेवको दर्शन गर्नुका साथै स्थानीयवासीसँग भेट गर्नेछन् । ८ गते तनहँुको दमौलीमा पञ्चमन्दिरको दर्शन गरी ९ गते पोखराको प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिर दर्शन गर्न पुग्नेछन् । १० गते केही बौद्ध मन्दिर दर्शनपछि उनी ११ गते राजधानी फर्कनेछन् ।

राप्रपा नेपाल चुनावी रणनीतिमा
राप्रपा नेपालले पूर्वराजाको जिल्ला दौडाहालाई चुनावका लागि उपयोग गर्ने रणनीति बनाएको खुलासा भएको छ । हिन्दूधर्म र राजसंस्थाको वकालत गर्दै आएको राप्रपा नेपालले पूर्वराजाको भ्रमणमा जतिसक्दो जनसहभागिता जुटाइने एक नेताले बताए ।
जनतामा दलहरूप्रति वितृष्णा बढेको, नेपालमा राजतन्त्र रहँदा भन्दा अहिले राष्ट्रियताको प्रश्न पेचिलो बनेको, दलहरूले स्थानीय तहसम्मै सत्ताको आडमा गलत रबैया देखाएको अनि संविधान जारी नगरी संविधानसभा विघटन गरेकोलगायत कारण पूर्वराजाप्रति सहानुभूति बढेको ती नेताले दाबी गरे । यो अवस्थामा चुनाव भयो भने राप्रपा नेपाल अहिले चार शक्ति भएजस्तै गरी एउटा शक्तिका रूपमा उदाउने र बार्गेनिङका आधारमा राजसंस्था पुन:स्थापित गर्न सकिने निष्कर्षमा पार्टी रहेको उनले बताए  ।
पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङ पनि चुनाव भयो भने राप्रपा नेपाल शक्तिशाली हुनेमा दुईमत नरहेको दाबी गर्छन् । पूर्वराजाको यो भ्रमणलाई चुनावसँग जोडेर हेर्न नमिल्ने तर्क गर्दै उनले विरोधले पूर्वराजाकै समर्थन बढ्ने प्रतिक्रिया दिए ।
जनजातिद्वारा चक्काजाम
पूर्वराजाको जिल्ला दौडाहाको विरोधमा बिहीबार आदिवासी जनजाति महासंघ कास्कीले पोखराको पृथ्वीचोकमा आधा घन्टा चक्काजाम गरेको थियो । धर्मका नाममा पूर्वराजा सक्रिय हुन खोजेको भन्दै महासंघमा आबद्ध संघसंस्थाले मध्याह्न १२ बजेदेखि आधा घन्टा चक्काजाम गर्दा पृथ्वीचोक आसपासमा सवारी आवागमन प्रभावित बनेको थियो ।
पूर्वराजाको भ्रमणको विरोधमा सत्तारूढ दल एमाओवादीले बुधबार साँझ पोखराका चार ठाउँमा कोणसभा गरेको थियो । अब विरोधको कार्यक्रम नरहेको एमाओवादी कास्की जिल्ला अधिवेशन सम्मेलन आयोजक समिति संयोजक झलकपाणी तिवारीले बताए ।

आज म्याग्दी बन्द

दिल शिरीष
बाग्लुङ, ४ असोज ।  पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला दौडाहाविरुद्ध म्याग्दीमा क्रियाशील राजनीतिक दलले जिल्ला बन्दको घोषणा गरेका छन् । पूर्वराजा शाहले राजाकै हैसियतमा भ्रमण गर्न खोजेको भन्दै एमाओवादी, कांग्रेस, एमालेलगायत सात दलले शुक्रबारका लागि जिल्ला बन्द घोषणा गरेका हुन् ।
उनीहरूले कांग्रेस कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी बन्द आह्वान गरिएको जानकारी दिएका छन् । एमाओवादीका म्याग्दी सहइन्चार्ज गोविन्द पौडेलले पूर्वराजाले राजाकै हैसियतमा जिल्ला भ्रमण गर्न खोजेकाले बन्द आह्वान गरिएको बताए । भ्रमण आयोजकले ‘श्री ५ बडामहाराजाधिराज सरकार’ भन्दै भ्रमणको प्रचार गरेपछि विरोधमा उत्रिएको पौडेलको भनाइ थियो ।
यसैबीच, बन्द घोषणापछि पूर्वराजाको म्याग्दी भ्रमण अनिश्चित बनेको पोखरा संवाददाताले जनाएका छन् । पूर्वराजाको धार्मिक भ्रमणमा अवरोध नगर्न दलहरूलाई अनुरोध गरिएको र सिडिओसँग भ्रमणबारे राति अबेरसम्म छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको पूर्वमन्त्री जगत् गौचनले बताए । पूर्वराजा पनि शुक्रबार म्याग्दी नजाने मुडमा रहेको स्वागतका लागि गठित समितिले जनाएको छ । प्रशासन सुरक्षा दिन तयार रहे पनि स्थानीयवासी र दलहरूको कुनै पनि विरोधमा जबर्जस्ती गर्ने इच्छा पूर्वराजाको नभएको पोखरामा गठित नागरिक स्वागत समितिका सहसंयोजक केशव भण्डारीले बताए ।
प्रधानमन्त्रीलाई ज्ञापन
बाग्लुङमा क्रियाशील आठ दलले पूर्वराजाको भ्रमणप्रति ध्यानाकर्षण भएको जनाएका छन् । धर्मका नाममा संक्रमणकालको फाइदा उठाएर गणतन्त्रमाथि धावा बोल्न खोजेको भन्दै उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । एमाओवादी, कांग्रेस, एमाले, नेकपा–माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत, नेकपा माले र राष्ट्रिय जनशक्ति पार्टीले संयुक्त रूपमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र पठाएका हुन् । उनीहरूले पूर्वराजाको भ्रमणले प्रतिगमनलाई टेवा दिने भन्दै त्यसका क्रममा झडपको स्थिति आउन नदिन सचेत रहन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

पर्वतमा अवरोध गर्ने
बाग्लुङ : पर्वतका राजनीतिक दलले पूर्वराजाको जिल्ला दौडाहाको विरोधमा प्रदर्शन गरेका छन् । पर्वतका १० दलले भ्रमणको विरोध गर्दै बिहीबार बिहान कुस्माबजारको शिवालय चोकमा कोणसभा गरेका थिए । कोणसभामा जिल्ला नेताहरूले पूर्वराजालाई भ्रमण रोक्न दबाब दिँदै जबर्जस्ती भ्रमण गरे अवरोध गर्ने चेतावनी दिएका छन् ।
पूर्वराजाले संक्रमणकालको फाइदा उठाएर धर्मका नाममा भिड जम्मा गर्ने र उपलब्धि खोस्ने षड्यन्त्र गरेको आरोप उनीहरूले लगाएका छन् । पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्वराजा शनिबार पर्वत पुग्ने कार्यक्रम छ । उनले सदरमुकाम कुस्माबजारस्थित गुप्तेश्वर गुफा र गायत्री मन्दिरको दर्शन गर्नेछन् । (सौस)

प्रतिक्रिया