इस्लामको उपाधि लगभग पक्का

काठमाडौ, ४ असोज । दोलखाको चरिकोटमा सञ्चालन भइरहेको माउन्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उपाधि बंगलादेशका फिडेमास्टर इस्लाम अमिनुलले जित्ने लगभग निश्चित भएको छ । उनले एक चरणको खेल बाँकी रहँदा एक अंकको अग्रता लिएका छन् ।
इस्लामले बुधबार सम्पन्न आठौँचरणको खेलमा अस्ट्ेरलियाका आइएम अलेक्स्यान्डरले बलमाथि विजय हात पारे भने नवौँचरणमा नेपालका फिडेमास्टर मनीष हमालसँग बराबरी खेल्दै उपाधि यात्रा सहज पारे । उनको
९ खेलबाट ८ अंक भएको छ । सेतो गोटीमा रोयलोपेज प्रणालीबाट खेल सुरु गरेका अमिनुलले सुरुआतदेखि नै बललाई दबाबमा राखे । खेलको २२औँ चालमा एउटा सिपाही गुमाउन पुगेका अलेकस्यान्डरले ३२औँ चालमा अमिनुललाई खेल सुम्पिए ।
पूर्वनेपाल च्याम्पियन सुरवीर लामा नवौँचरणमा एनसिसी कपका विजेता राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरीमा रोकिए पनि ७ अंकका साथ दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि लामाले आठौँचरणमा भारतका १० वर्षीय सौरभ आनन्दलाई हराएका थिए । उनीसँगै भारतीय आइएम अतानु लहरी, अलेकजान्डर बल, राजेन्द्रप्रसाद श्रेष्ठ तथा नेपाली फिडेमास्टर मनीष हमाल र विलमलाल श्रेष्ठ समान ७ अंकमा रहेका छन् ।
आठौँचरणमा बलले नवौँचरणमा नेपालका युवा खेलाडी राजन पुरीलाई हराए । अर्का अतानुले आठामा सुदीप वज्राचार्य तथा नवौँचरणमा मदनकृष्ण कायस्थलाई पराजित गरे । हमालले आठौचरणमा केशव श्रेष्ठसँग बराबरी गरेका थिए । केशव, मदनकृष्ण, भारतका अन्तरिप रोय, सौभिक चक्रवर्ती, सौरभ आनन्द, नेपालका निरज निरौला र बद्रीलाल नेपालीको समान ६ दशमलव ५ अंक रहेको छ । त्यस्तै राजन पुरी, सुरज पण्डित, रवीन्द्र श्रेष्ठ, मिलन रोका, कृष्ण थापा, धिरव राजथला र सुमन श्रेष्ठ समान ६ अंकमा रहेका छन् ।

प्रतिक्रिया