अठार तालिवानीको मृत्यु

काबुल : अफगानिस्तानमा नेटो सेनाले गत २४ घन्टाभित्र गरेको कारबाहीमा १८ तालिबानी चरमपन्थी मारिएका छन् । तालिबानी हतियारधारी समूहसँग बुधबार भएको भिडन्तमा एक अफगान प्रहरीको पनि मृत्यु भएको छ । कारबाहीमा २० तालिबानी चरमपन्थी
पक्राउ परेको अफगानिस्तानको गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।
अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले विभिन्न बाह्र स्थानमा गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको हो । अफगानिस्तानका कुनार, नान्गाहार, कुन्दुज, वार्दाक, लोगार, पाक्टिया उरुज्गान र हेलमन्डलगायत १२ स्थानमा अफगान प्रहरीको नेतृत्वमा सो कारबाही भएको हो । कारबाहीका क्रममा विभिन्न हातहतियार बरामद गरिएको तथा ५६ वटा शक्तिशाली विस्फोटक पदार्थ पनि नियन्त्रणमा लिइएको बताइएको छ ।
अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध करिब एक लाख ३० हजार सेनाले तालिबानी लडाकुविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिबानीविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको छ ।
यसैबीच, अफगानिस्तानको पूर्वीप्रान्त नुरिस्तानमा भएको तालिबानी हतियारधारी र अफगान प्रहरीबीचको भिडन्तमा परी एक प्रहरी र नौ तालिबानीको ज्यान गएको छ । ठूलो संख्यामा आएका हतियारधारीले प्रहरीको समूहमाथि नै हमला गरेपछि भिडन्त सुरु भएको प्रहरीले जानकारी दिएको छ । (सिन्ह्वा)

प्रतिक्रिया