पूर्वराजाको भ्रमणबाट तर्सिएको राजनीति

पाँच वर्षअघि शासनसत्ता गुमाएका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि उपत्यकाबाहिर जाँदैछन् । भ्रमणको उद्देश्य धार्मिक भनिए पनि उनी आफ्नो हैसियतको आँकलन गर्न जनतामाझ जान चाहेको अर्थ लगाइँदै छ । संविधानसभा विघटनपछि आमजनतामा दलहरूप्रति एक खालको वितृष्णा पैदा हुँदै गएको छ । राजनीतिले ल्याएको व्यवस्था परिवर्तनले जनतालाई अनुभूति हुने गरी केही दिन सकेन । ‘जुन जोगी आए पनि कानै चिरेका, चिम्टै भिरेका’ भन्ने भनाइ अहिलेसम्म नेपाली जनताका लागि चरितार्थ भएको छ । मुलुकलाई राजनीतिक र संवैधानिक संकटको भुमरीमा पारेर दलहरूले लक्षित गन्तव्य नै भुलेको अवस्था छ । यो सम्पूर्ण वस्तुस्थितिको मूल्यांकन गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले आफूलाई जनताका माझमा पुर्‍याउन खोज्नु अस्वाभाविक होइन । जबसम्म दलहरूले लक्ष्य प्राप्तिका लागि ठोस नीति निर्धारण गरेर अगाडि बढ्दै जनताको मन जित्न सक्तैनन् तबसम्म अर्को पक्षले आफूलाई सक्षम ठान्नु स्वाभाविक हुन्छ । पूर्वराजा ज्ञानेन्द्रको देशभ्रमणले जनतामाझ खासै अर्थ नराखे पनि दलहरूको असक्षमताबाट फाइदा उठाउने कोसिस गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ । यस्तो अवस्था आउन नदिने एउटै मात्र उपाय छ, त्यो हो– दलहरूले जनताको विश्वास जित्न सक्नु । जनताको विश्वास जित्न जनतालाई परिवर्तनको अनुभूति गराउन सक्नुपर्छ । अन्यथा, पूर्वराजा मात्र होइन, अन्य तत्त्व पनि सक्रिय हुनेछन् ।
पूर्वराजाले धार्मिक भ्रमणको निहुँ बनाएर राजनीतिक अवस्था र जनताको मन बुझ्ने अवसर पाउँछन् । यसमा दुईमत छैन । साथै, एक खालको धार्मिक समूहलाई जनताको मागविना नै ‘हिन्दू अधिराज्य’ कसले हटाउन लगायो र त्यो व्यक्ति को हो भनेर प्रश्न गरिरहेका छन् । नेताहरूसँग यसको स्पष्ट उत्तर छैन । त्यो हिन्दूधर्मप्रति आस्था राख्ने समूहलाई पूर्वराजा ज्ञानेन्द्रको धार्मिक भ्रमणले राहतको अनुभूति दिलाउनेछ । यसतर्फ पनि नेताहरूले सोच्नुपर्छ । वास्तवमा दलहरू आ–आफ्नो स्वार्थमा निर्लिप्त भएर संविधानसभा विघटन गर्दै सत्ताकब्जाको घृणित अभ्यासमा लागे । जसले गर्दा दलका नेताहरूप्रति जनताको विश्वास गुम्दै गइरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिअनुसार शासनव्यवस्था चलेन । सभासद्हरूले थाहा नै नपाई प्रधानमन्त्रीले संविधानसभा विघटन गरिदिए । विकास निर्माणका कार्य ठप्प छन् । बेरोजगारीका कारण युवावर्ग विदेश पलायन हुँदै छ । भ्रष्टाचार, कालोबजारी, मूल्यवृद्धि र अराजक अवस्थाले जनतालाई आक्रान्त बनाएको छ । वास्तवमा दलहरूले प्राप्त उपलब्धि रक्षा गर्नसमेत सकिरहेको अवस्था छैन । यही कारणले गर्दा पूर्वराजा ज्ञानेन्द्र भ्रमणमा निष्कँदा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले भाषण गर्दा दलका नेताहरू थर्कमान हुनुपर्ने अवस्था आएको हो । राष्ट्रको आवश्यकता र जनचाहनाअनुसार काम नगर्ने हो भने दलका नेताहरूको नक्कली भाषणकै विश्वास गरेर जनताले लामो समयसम्म साथ दिने अवस्था रहँदैन । तसर्थ, नेताहरूले कसैबाट डराउनुपर्ने अवस्थाबाट मुक्त हुन आपैँm सच्चिनुपर्छ ।
व्यवस्था परिवर्तनपछि नेपाली जनताले आमूल परिवर्तनको अपेक्षा गरेका थिए । दलका नेताहरूले छिट्टै केही गर्नेछन् भन्ने जनता अहिले निरास भएका छन् । यसैले गर्दा गणतन्त्र विरोधीले भन्ने र खेल्ने मौका पाएका हुन् । यो मौका दलका नेताहरूले नै उपलब्ध गराएका हुन् । अहिले पूर्वराजा ज्ञानेन्द्र धार्मिक भ्रमणमा जाँदा डराउनुपर्ने अवस्था सिर्जना भएको छ, कतै जनता पूर्वराजाकै पक्षमा लाग्ने हुन् कि भन्ने शंका पनि उत्पन्न हुन थालेको छ । तर, अहिले त्यो सोच्नु आवश्यक छैन । किनभने, नेपाली जनताले गणतन्त्रलाई आत्मसात् गरिसकेका छन् । जनता लोकतान्त्रिक पद्धतिअनुसारको समुन्नत गणतान्त्रिक नेपाल भोग्न पाइयोस् भन्ने चाहन्छन् । यसो भन्दाभन्दै पनि नेताहरूले बिर्सिनु हुँदैन कि लामो समयसम्म जनताले प्रतीक्षा गर्नेछैनन् । तसर्थ, पूर्वराजाको भ्रमणसँग भन्दा पनि दलका नेताहरू आफ्नै कुकार्यसँग डराउनुपर्छ । पाँच वर्ष लामो समय कसरी खेर गयो भन्नेबारे सोच्नैपर्ने बेला आएको छ । जनतालाई अनुभूति हुने खालको परिवर्तन गरिदिए जनतालाई कसैले बराल्न सक्तैन । तसर्थ, नेताहरू आपैँm सजक हुन जरुरी छ ।

प्रतिक्रिया