२० थान नागरिकता र भारतीय नोटसहित युवक पक्राउ

विराटनगर, ४ असोज । डेढ दर्जन बढी व्यक्तिको नागरिकताको प्रमाणपत्र र प्रतिबन्धित भारतीय नोटसहित बुधबार विराटनगरबाट एक युवक पक्राउ परेका छन् ।

नेपाल–भारत सीमा क्षेत्र जोगवनीनजिकै रहेको विराटनगर–२२ स्थित रानी बसपार्कबाट सशस्त्र प्रहरीले २० जनाको नागरिकता र प्रतिबन्धित पाँच सय दरका भारतीय रुपियाँसहित धनकुटाका शान्ताकुमार लिम्बूलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा फेला परेका धनकुटा मारेकटरे–९ का ३६ वर्षीय लिम्बूलाई चेकजाँचको क्रममा २० जनाको नागरिकता फेला परेपछि नियन्त्रण लिइएको डिएसपी वसन्त बोगटीले बताए । उनलाई सशस्त्र प्रहरीको विराटनगर भन्सार राजस्व गस्ती टोलीले पक्राउ गरेको हो । प्रहरीको लिम्बूका साथबाट पूर्वाञ्चलका विभिन्न जिल्लाका व्यक्तिको नागरिकता र पाँच सय दरका २२ वटा भारतीय नोट तथा एक सय दरका ६७ वटा नोट गरी १७ हजार सात सय भारतीय रुपियाँ बरामद गरेको छ ।
डिएसपी बोगटीका अनुसार भारतको दिल्लीबाट नेपाल आउने क्रममा दिल्लीमा रहेका साथीले आफ्नो नागरिकता लगिदिनू भनी बोक्न दिएको लिम्बूले बताएका छन् । उनले पूर्वाञ्चलका विभिन्न जिल्लाका साथीले नागरिकता र भारतीय रुपियाँसमेत बोक्न दिएकाले ल्याइदिएको दाबी गरे । यद्यपि, नेपालमा भारतीय पाँच सय र एक हजार रुपियाँका नोट प्रतिबन्धित छन् ।
लिम्बूले साथीको नागरिकता भारतको दिल्लीबाट ल्याइदिएको बताए पनि प्रहरीले उनले दुरुपयोग गर्ने नियतले विभिन्न व्यक्तिको नागरिकता जम्मा पारेको आशंका गरेको छ । अवैध तरिकाले  वैदेशिक रोजगारीमा पठाउन विभिन्न व्यक्तिको नागरिकता साथमा लिएको हुन सक्ने डिएसपी बोगटीले आशंका व्यक्त गरे । ‘दिल्लीबाट अवैध तरिकाले वैदेशिक रोजगारीमा पठाउन उनले नागरिकता संकलन गरेको हुन सक्छ,’ उनले भने, ‘त्यस विषयमा अनुसन्धानपछि मात्र थप कुरा बताउन सकिन्छ ।’
विद्यार्थीले ट्राफिक कुटे
ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई चेतावनी दिने ट्राफिक प्रहरी जवान बुधबार विराटनगरमा कुटिएका छन् ।
एक कलेजको बसचालक र ट्राफिकको सडकमै विवाद भएपछि बसमा रहेका विद्यार्थी ओर्लिएर ट्राफिक जवान तारा घिमिरेलाई कुटपिट गरेको प्रहरीले बताएको छ । होटल म्यानेजमेन्ट पढाइ हुने सास्थम कलेजका चालकले सडकमा बस तेस्र्याएपछि भएको विवाद मिलाउन आएका पूर्वएसएसपी रेवतबहादुर थापाले प्रहरीको समूहलाई नै चेतावनी दिएका थिए ।
वडा प्रहरी कार्यालय विराटनगरमा थापाका छोरा तथा सास्थम कलेज सञ्चालक रोशन थापाले चालकको समर्थन गर्दै इन्स्पेक्टरद्वय प्रदीप सिंह र रुद्र चुँडाललाई पनि गाली गरेका थिए । छोराको समर्थनमा आएका पूर्वएसएसपी थापाले आफूले ३२ वर्ष प्रहरीमा जागिर खाएको बताउँदै इन्स्पेक्टरद्वयलाई चेतावनी दिएको प्रत्यक्षदर्शी एक प्रहरीले बताए । प्रहरीका पूर्वहाकिमले आफ्ना हाकिमलाई थर्काएकाले ट्राफिक कुट्ने चालक र विद्यार्थीलाई कुनै पनि कारबाही नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया