हत्याको तीन दिनपछि जाहेरी दर्ता

सुर्खेत, ४ असोज । ‘अनाहकमा बहिनीको ज्यान त गयो नै † हत्यामा संलग्नको नाममा किटानी जाहेरी दिँदासमेत प्रहरीले जाहेरी लिन मानेन,’ ३१ भदौमा छिन्चु–७ मसिनामा झुन्डिएको अवस्थामा मृत फेला परेकी २७ वर्षीया हीरा गुरुङकी दिदी पवित्रा सारूले भनिन्, ‘प्रहरीको नियतमा पनि शंका उब्जिएको छ ।’

बहिनीको हत्या गरिएको भन्दै पाँचजनाको नाममा किटानी जाहेरी दिन सारू १ असोजमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । तर, जिल्ला प्रहरी कार्यालयले घटना छिन्चु गाविसमा भएकोले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न नमिल्ने भन्दै फिर्ता गरिदिएको हो ।
सारूका अनुसार प्रहरीले इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दर्ता गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न नमिल्ने बताएको थियो । इलाका प्रहरी कार्यालय छिन्चुले समेत जाहेरी दर्ता गर्न अस्वीकार गर्‍यो । तर, पीडितपक्षको जाहेरीमा मुख्य दोषी ठहर्‍याइएका अभियुक्त कल्याण–५ का तुलाराम वलीले सोमबार इप्रका छिन्चुमा गिरफ्तारी दिएपछि भने जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार मात्रै किटानी जाहेरी दर्ता गरेको छ ।
प्रहरीले दोहोरो भूमिका देखाएपछि मृतकका आफन्तले घटनामा प्रहरीको समेत मिलेमतो भएको आरोप लगाएका छन् । ‘पहिले जिल्ला प्रहरीमा जाहेरी दर्ता गर्न मिल्दैन भनेर फर्काए,’ मृतककी दिदी पवित्राले भनिन्, ‘तर मुख्य दोषी प्रहरीको सम्पर्कमा आइसकेपछि जिल्ला प्रहरी कार्यालयले नै जाहेरी दर्ता गर्‍यो । यसमा उनीहरूको पनि मिलेमतो भएको छ ।’ उनले किटानी जाहेरी दिइएका पाँचमध्ये वलीबाहेक अरू चारजनाको नाम फिर्ता लिन प्रहरीले दबाब दिएकोसमेत बताइन् । ‘घटनास्थलको सर्जिमिन मुचुल्का हाम्रो उपस्थितिविना नै प्रहरीले एकलौटीरूपमा गरिनुले घटनामा प्रहरीको थप संलग्नता रहेको पुष्टि हुन्छ ।’
२२ भदौमा कल्याण–५ का तुलाराम वलीले वीरेन्द्रनगरमा दिदीसँग मिलेर होटल व्यवसाय गर्दै आएकी २७ वर्षीया हीरा गुरुङलाई विवाह गर्न भगाएर लगेका थिए । विवाह गर्छु भनेपछि बहिनीको खोजीसमेत नगरिएको दिदी सारूले बताइन् । तर १ असोजमा छिन्चुको मसिनामा वलीका आफन्त माथवरसिंह वलीको घरमा झुन्डिएको मृत अवस्थामा उनलाई फेला पारिएको थियो ।
विवाह गर्छु भनेर बहिनीको हत्या गरेको भन्दै दिदी पवित्राले वलीसहित पाँचजनाको नाममा प्रहरीमा किटानी जाहेरी दिएकी छन् । वलीले गिरफ्तारी दिइसकेको र थप चारजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी आनन्द मराठाले घटनाको अनुसन्धान भइरहेको र पूर्ण अनुसन्धानपछि मात्रै वास्तविकता थाहा हुने बताए ।
वली–गुरुङ सम्बन्ध
मृतक गुरुङ र वलीबीच डेढ वर्षअघिदेखि सम्पर्क रहेको दिदी पवित्राले जानकारी दिइन् । उनका अनुसार वली र गुरुङ दुवै विवाहित हुन् । गुरुङका श्रीमानको पहिले नै मृत्यु भइसकेको थियो । वली भने आफ्नी पत्नी र परिवारसँगै थिए । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि शव नबुझेका आफन्तले जाहेरी दर्ता भएपछि मंगलबार साँझ मात्र शव बुझेका छन् ।

प्रतिक्रिया