पुरानाका आँखामा नयाँ रोनाल्डो

रियो द जेनेरियो, ३ असोज । एक समय ब्राजिलका रोनाल्डोले विश्व फुटबलमा निकै चर्चा बटुलेका थिए । उनी फिफा वर्षखेलाडी घोषित भए । ब्राजिललाई विश्वकप उपाधि दिलाउन यी स्ट्राइकरको भूमिका निकै ठूलो थियो । उनको युग सकिए पनि फुटबलमा रोनाल्डोको प्रभाव कायमै रहयो ।
तर यी रोनाल्डो ब्राजिलका तिनै रोनाल्डो नभएर पोर्चुगलका क्रिस्टियानो रोनाल्डो थिए । धेरैले ब्राजिलियन रोनाल्डोको नक्कल गरेको भन्दै क्रिस्टियानो रोनाल्डोलाई नजरअन्दाज गरे । हुन पनि पोर्चुगलका रोनाल्डो पनि स्ट्राइकर नै थिए । तर क्रिस्टियानो रोनाल्डोले पनि आफूलाई प्रतिभावान खेलाडीका रूपमा प्रस्तुत गर्दै फिफा वर्षखेलाडी बनाए । यसकारण यी दुई रोनाल्डोबीच फरक–फरक परिचय स्थापन भयो ।
यतिबेला क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनेल मेसी, जो लगातार तीनपटक फिफा वर्षखेलाडी भइसकेका छन्, का बीच विश्वको सर्वोत्कृष्ट खेलाडीका लागि प्रतिस्पर्धा भइरहेको छ । कोहीले क्रिस्टियानो सर्वोत्कृष्ट हुन् भन्छन् त कोहीले मेसी । यस विषयमा ती ब्राजिलका रोनाल्डोको विचार कस्तो रहला भन्नेमा सबैको कौतुहल हुन सक्छ । क्रिस्टियानो रोनाल्डो जो आफ्नो नाममा ब्राजिलका रोनाल्डोपछि आएर विश्व फुटबलमा राज गरे र मेसी ब्राजिलको चिरप्रतिद्वन्द्वी अर्जेन्टिनाका खेलाडी हुन् ।
तर धेरै मानिसको विचारजस्तै समकालीन फुटबलमा मेसी नै उत्कृष्ट रहेको ब्राजिलियन रोनाल्डोको भनाइ छ । यद्यपि उनले अल्पमतको सम्मान गर्दै मेसी थोरै मात्र रोनाल्डोभन्दा उत्कृष्ट रहेको बताएका छन् । बार्सिलोनाका स्टार मेसी सृजनशीलताका कारण रोनाल्डोभन्दा माथि रहेको उनको धारणा छ ।
‘मेरो विचारमा मेसी रोनाल्डोभन्दा थोरै मात्र माथि छन्,’ ३५ वर्षीय रोनाल्डोको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘म मेसीलाई बढी मन पराउँछु किनभने उनले धेरैलाई आकर्षण गर्छन् र उनको खेलमा सृजनशीलता हुन्छ । मेसीको विषयमा मलाई अर्जेन्टिना याद नै आउँदैन ।’ रोनाल्डोले आफूलाई दुवै खेलाडी मन पर्ने बताए । लगातार तीन वर्ष फिफा वर्षखेलाडी घोषित भएपछि यतिबेला मेसी सर्वकालीन महान खेलाडीको रूपमा चिनिन थालेका छन् जसमा क्रिस्टियानोको नाम कमै आउने गरेको छ । मेसीले क्लब फुटबलमा प्राय: सबै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् ।
यतिबेला युवा स्टारमा ब्राजिलियन नेयमारको निकै चर्चा हुने गरेको छ । रोनाल्डोले सफलताका लागि नेयमार युरोपमा आउनुपर्ने बताएका छन् । ‘मलाई लाग्छ, नेयमारले अझै प्रतिस्पर्धा गर्न बाँकी छ । युरोपमा खेल्न र युरोपमा विजय हात पार्न पनि नेयमारले सक्नुपर्छ,’ रोनाल्डोले भने । पछिल्लो समय ब्राजिल कडा प्रतिस्पर्धी हुन नसके पनि सन् २०१४ को विश्वकपमा ब्राजिलले कठिन चुनौती पेस गर्ने विश्वास रोनाल्डोको छ । ‘हामीसँग नेयमारजस्ता ठूला प्रतिभा छन् । त्यस्तै प्याटो, ओस्कार, थिआगो सिल्भा, गेंसोजस्ता उत्तिकै प्रतिभावान खेलाडी छन् जसले उच्चस्तरको खेल पस्कन्छन् । हाम्रो टिम युवाहरूले भरिएको छ । त्यसैकारण हामी आशावादी छौँ,’ रोनाल्डोको भनाइ छ । सन् २००२ मा पछिल्लोपटक विश्वकप उपाधि जितेको ब्राजिल पछिल्ला दुई संस्करणमा भने क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया