चीनमा जापानविरोधी प्रदर्शन

बेइजिङ : चीन र जापानबीच केही टापुको स्वामित्वलाई लिएर विवाद जारी रहेकै बेला चीनमा जापानविरोधी विशाल प्रदर्शन भएको छ । जापानले उत्तरपूर्वी चीनमा आक्रमण गरेको दिनको वार्षिकीका अवसरमा मंगलबार प्रदर्शन भएको हो । हजारौँ प्रदर्शनकारी बेइजिङस्थित जापानी दूतावासअघि भेला भई जापानविरोधी नाराबाजी गरेका थिए । भिड नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विवादित टापुछेउ ठूलो संख्यामा चिनियाँ डुंगा घुमिरहेको जापानका तटीय सुरक्षाकर्मीले जनाएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेपछि यसको स्वतन्त्र पुष्टि हुनसकेको छैन । सन् १९३१ को सेप्टेम्बर १८ मा जापानले चीनमाथि हमला गरेको थियो । सोही दिनको सम्झनामा चिनियाँले विगतमा भएको जापानी अत्याचारको आलोचना गर्दै जापानविरोधी नाराबाजी गरेका हुन् ।

बेइजिङमा चिनियाँ नेता माओत्सेतुङका ठूला तस्बिर बोकेका प्रदर्शनकारीले जापानी दूतावास परिक्रमा गरेका थिए । भिड ठूलो भएको र त्यहाँ उत्तेजक नाराबाजी लागे पनि उनीहरूले दूतावासमाथि आक्रमण भने नगरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी रक्षामन्त्री लियोन पनेटाले समस्याको शान्तिपूर्ण समाधान खोज्न चीन अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । उनले चीन र जापान दुवैलाई संयम रहन आग्रह गर्दै समस्या चर्किन नदिन आह्वान गरेका थिए ।
‘इस्ट चाइना सी’ का टापुको स्वामित्वबारे दुई देशबीच विवाद छ । विवादित टापुलाई चीनमा दियायु र जापानमा सेन्काकु भनिन्छ । टापु आफ्नो भएको दाबी गर्दै गत महिनामा दस चिनियाँ नागरिक विनाअनुमति विवादास्पद टापुमा पुगेका थिए । उनीहरूलाई जापानी सीमा सुरक्षा प्रहरीले पक्राउ गरेको थियो । सोही कारण दुई देशबीच कूटनीतिक तनाव उत्पन्न भएपछि उनीहरूलाई रिहा गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया