अलकयदाद्वारा अमेरिकी कूटनीतिज्ञलाई चेतावनी

कायरो : मुसलमान राष्ट्रस्थित अमेरिकी कूटनीतिक नियोगलाई इस्लाम धर्मालम्बीले आक्रमणको तारो बनाइरहेका बेला इस्लामिक चरमपन्थी समूह अलकायदाले अमेरिकी कूटनीतिज्ञमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिकाको एक समूहले पैगम्बर मोहम्मदको मानमर्दन गरी इस्लामको अपमान गर्ने फिल्म बनाएको भन्दै मुस्लिम राष्ट्रमा अमेरिकाविरोधी आन्दोलन चर्किरहेका बेला उत्तर अफ्रिकामा क्रियाशील अलकयदाको एक भगिनी संगठनले मंगलबार यस्तो चेतावनी दिएको हो ।
अमेरिकी नागरिकद्वारा निर्मित ‘इनोसेन्स अफ मुस्लिम्स’ फिल्म सार्वजनिक भएपछि मुसलिम जगत्मा अमेरिकाविरोधी प्रदर्शनको लहर चलेको हो । प्रदर्शनकारीको आक्रमणमा परी गत साता लिबियास्थित अमेरिकी राजदूतको मृत्यु भएको थियो । ‘इनोसेन्स अफ मुस्लिम्स’मा इस्लामको चर्को आलोचना गरिएको छ । मोहम्मदलाई जाली, स्त्रीलम्पट र बौलाहाका रूपमा चित्रण गरिएको छ । अमेरिकाको चरमपन्थी क्रिस्चियनको एउटा समुदायले फिल्म निर्माण गरेको बताइन्छ । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले फिल्मसँग अमेरिकी राज्यको कुनै सरोकार नरहेको बताए पनि यसले प्रदर्शनकारीलाई शान्त पार्नसकेको छैन ।
यसैबीच, अलकायदासँग आबद्ध ‘ल्यान्ड अफ इस्लामिक मगरेव’ले मंगलबार विज्ञप्ति जारी गरी प्रदर्शनकारीको आक्रमणमा परी लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टिभन मारिएकोप्रति प्रशन्नता व्यक्त गरेको छ । क्रिस्टोफर हत्याको तारिफ गर्दै विज्ञप्तिमा अल्जेरिया, ट्युनिसिया, मोरक्कोलगायतका राष्ट्रमा खटिएका अमेरिकी कूटनीतिज्ञमाथि हमला गर्ने चेतावनी दिइएको छ । अमेरिकाले ‘आतंकवादविरुद्धको युद्ध’मा सरिक रहेको ढोँग पिटे पनि वास्तवमा ऊ इस्लामविरुद्धको युद्धमा सरिक रहेको दाबी गरिएको छ । उक्त चरमपन्थी समूहले विश्वभरका अमेरिकी कूटनीतिक नियोगबाट अमेरिकी झन्डा निकाली जलाउन आह्वान गरेको छ । साथै, अमेरिकी कूटनीतिज्ञको हत्या गर्न अथवा उनीहरूलाई देशनिकाला गरी इस्लाम भूमिलाई पवित्र पार्न पनि आह्वान गरिएको छ । यमनमा क्रियाशील अलकायदासँग आबद्ध चरमपन्थीले समेत यसअघि नै यस्तै चेतावनी दिइसकेका छन् । अलकायदासँग आबद्ध विभिन्न समूह मध्यपूर्व तथा अफ्रिकामा क्रियाशील रहेको विश्वास गरिन्छ ।
यसैबीच, इजिप्ट, ट्युनिसिया, भारत प्रशासित कास्मिर र इन्डोनेसियामा पनि अमेरिकाविरोधी प्रदर्शन भएका छन् । अफगानिस्तानको राजधानी काबुलमा चरमपन्थीले आत्मघाती विस्फोट गराएका छन् । विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ । सोमबार आक्रोशित प्रदर्शनकारीले इन्डोनेसियाको राजधानी जाकर्तास्थित अमेरिकी दूतावासमा आक्रमण गरी अमेरिकी झन्डा फ्याँकेका थिए । अफगानिस्तान र पाकिस्तानका विभिन्न
सहरमा सोमबार पनि अमेरिकाविरोधी प्रदर्शन भएका थिए । (एजेन्सी)

प्रतिक्रिया