छानबिन गर्न माग

काठमाडौं : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशकसहित उच्च अधिकारीलाई निलम्बन गर्न माग गरेको छ । महासघंले अस्पतालका निर्देशक, सम्बन्धित विभागका अधिकारीहरूलाई निलम्बन गरी शल्यक्रिया कक्ष सेवा प्रभावित भएको विषयमा छानबिनका लागि निष्पक्ष आयोग गठन गर्न माग गरेको हो ।

महासंघका नेवा: राज्य समितिका संयोजक टीकाप्रसाद कँडेलले मंगलबार विज्ञप्ति जारी गरेर तत्काल छानबिन गर्न माग गरेको छ । विज्ञप्तिमा अन्य अस्पतालमा पठाइएका बिरामीको सम्पूर्ण जिम्मेवारी लिन, शल्यक्रिया कक्षमा प्रयोग गरिएका औषधि, रसायन, उपकरण, अटो क्लेभलगायत विगतमा खरिद गरिएका सामग्रीको उचित छानबिन गर्न पनि माग गरिएको छ । शल्यक्रिया कक्षबाट शल्यक्रिया गरेका महिला थप बिरामी पर्न थालेपछि अस्पताल प्रशासनले शुक्रबार बेलुकीदेखि शल्यक्रिया कक्ष चार दिनका लागि बन्द गरेको सूचना निकालेको थियो । महिला तथा स्त्रीरोगका लागि केन्द्रीय अस्पतालको शल्यक्रिया कक्ष बन्द गर्नुपर्ने अवस्था आउनु र यस्तो अवस्थामा सरकार र अस्पताल प्रशासन मौन बस्नु दुर्भाग्य भएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, अस्पताल प्रशासनले शल्यक्रिया कक्ष भोलिबाट पुन: सुचारु गर्ने जनाएको छ । आफ्नो नाम उल्लेख नगर्ने भन्दै अस्पतालका उच्च प्रशासन स्रोतले दिएको जानकारीअनुसार शल्यक्रिया कक्ष पुन: सुचारुका लागि आवश्यक काम भइरहेको छ । अस्पतालमा दैनिक ८० शिशु जन्मिने र करिब २५ गर्भवती महिलाको शल्यक्रिया हुने गर्छ । (सौस)

प्रतिक्रिया