कारबाहीबाट जोगिन प्रधानमन्त्रीपत्नीको शरणमा

काठमाडौं, ३ असोज । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका प्राधिकरणका उच्च पदाधिकारीहरू कारबाहीबाट बच्न प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीपत्नी हिसिला यमीकहाँ धाउन सुरु गरेका छन् । प्राधिकरण उच्च स्रोतका अनुसार प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक (एमडी) महेन्द्रलाल श्रेष्ठलगायत उच्चाधिकारीहरूले शक्त्ती केन्द्रमा पुगेर आफूलाई बचाउन हार गुहार गर्न थालको हुन् ।

उनीहरुले प्रधानमन्त्री पत्नी यमीकहाँ पुगेर आफूहरू अप्रत्यक्ष दोषी देखाइएकाले कारबाही अगाडि नबढाउन, सञ्चालक अध्यक्ष एवं ऊर्जासचिव हरिराम कोइरालाले सञ्चालक सदस्यहरूलाई कारबाही नगर्न दबाब दिन आग्रह गरेका छन् । यमीले ऊर्जासचिवलाई भनेर कारबाही प्रक्रिया नबढाई चोख्याउनका लागि सहयोग गर्ने आश्वासन दिएपछि उनीहरू ढुक्क भएको प्राधिकरण स्रोतले जनायो । पहिला आफू निर्दोष रहेको र आवश्यक परे छानबिनका लागि राजीनामा दिन पनि पछि नपर्ने बताउँदै आएका एमडीले आश्वासनपछि भने स्पष्टीकरणलाई बढी जोड दिँदै आएका छन् । स्रोतका अनुसार एमडीलाई स्पष्टीकरणका आधारमा चोख्याएपछि पहिलो चरणमा अप्रत्यक्ष संलग्नहरूलाई स्पष्टीकरण लिई चोख्याउने र निरीक्षणका लागि गएकाहरूलाई भने कारबाही गर्ने मनस्थितिमा प्राधिकरण सञ्चालक पुगेका छन् । तर, केही सञ्चालक भने प्रतिवेदनले दोषी देखाएका सबैलाई कारबाही हुनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री कार्यालयको समेत दबाब सुरु भएपछि ऊर्जासचिवसमेत अप्ठ्यारोमा परेका छन् ।
स्रोतका अनुसार मंगलबार मात्र प्रधानमन्त्री कार्यालयमा बोलाएर उनलाई माथिल्लो तहका कर्मचारीलाई जोगाउन दबाब दिएका थिए । चौतर्फी रूपमा दबाब आउन थालेपछि गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणका कारबाहीका लागि हौसिएका सञ्चालकसमेत निराश छन् । प्रतिवेदनबारे छलफल भएर निर्णय गर्नेबित्तिकै एमडीसँग स्पष्टीकरण लिएको सञ्चालक समितिका सदस्यहरू पछिल्लो समयमा सुस्त बनेका हुन् । एमडीले स्पष्टीकरण दिइसकेपछि पनि आगामी सञ्चालक समितिको बैठकको समेत टुंगो लागेको छैन ।

एमडीले भने, “म संग्लन छैन”
प्राधिकरणका एमडी श्रेष्ठले गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । मंगलबार प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जासचिव हरिराम कोइरालालाई स्पष्टीकरण दिँदै आºनो संलग्नता नभएको दाबी गरेका हुन् ।
प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिको प्रतिवेदनमा एमडी श्रेष्ठ प्राधिकरण वितरण तथा ग्राहक पश्चिमको महाप्रबन्धक हुँदा ट्रान्सफर्मर प्रकरणमा संग्लन भएको उल्लेख छ । कर्मचारीको संलग्नताबारे छानबिन गर्न गठित सो समितिको प्रतिवेदनले एमडी श्रेष्ठ पनि संग्लन भएको उल्लेख भएपछि उनीसँग स्पष्टीकरण मागिएको हो । उनले स्पष्टीकरणपत्रमा गुणस्तरहीन ट्रान्सफर्मर आयतमा आºनो संलग्नता नभएको उल्लेख गरेका छन् । उनलाई गत शुक्रबार प्राधिकरण सञ्चालक समितिले स्पष्टीकरण पत्र काटेको थियो । ऊर्जासचिव एवं सञ्चालक समितिका अध्यक्ष कोइरालाले एमडी श्रेष्ठले स्पष्टीकरण दिएको र स्पष्टीकरणबारे बोर्ड बैठकमा छलफल गर्ने बताए । स्पष्टीकरण चित्तबुझ्दो भएमा उनलाई सफाइ दिने बताइएको छ तर एमडी एक्लैलाई सफाइ दिएमा अन्य कर्मचारीले आन्दोलन गर्न सक्ने भएकाले अहिले के गर्ने भन्ने अन्योल बढेको छ ।
गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा एमडी नै जोडिएपछि अन्य कर्मचारीलाई गर्ने कारबाही प्रक्रियासमेत अन्योलमा परेको छ । प्राधिकरण सञ्चालकले पहिला एमडीको सहभागिताको निक्र्योल गरेर मात्रै अन्य कर्मचारीलाई प्रक्रिया अगाडि बढाउने भएपछि प्राधिकरणभित्र झनै समस्या भएको छ । ‘संलग्नता देखिएका एमडीलाई चोख्याएर अन्य कर्मचारीलाई कारबाही गर्ने मनसायमा सञ्चालक समिति देखिन्छ,’ एक कर्मचारीले भने, ‘त्यो भयो भने आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ ।’ निरीक्षणमा गएका कर्मचारी अहिले एमडीलगायतलाई चोख्याउन खोजेको र आफूहरूलाई मात्र कारबाही खोजेको भन्दै आक्रोशित छन् । कर्मचारी युनियनसमेत गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएकाहरूलाई कारबाही नगरे आन्दोलन गर्ने तयारीमा छन् । ‘प्राधिकरणलाई गुणस्तरहीन ट्रान्सफर्मरका कारण अर्बौं घाटा भएको र ट्रान्सफर्मरमा बदमासी भएको प्रमाणित भएपछि अब पनि कारबाही प्रक्रिया अघि बढेन भने हामी सबै कर्मचारी युनियन मिलेर आन्दोलन गर्छौं,’ एक कर्मचारी युनियनका नेताले भने ।
एमडीको संलग्नताको टुंगो नलागेकाले अहिले गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका अन्य कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । प्राधिकरणभित्रै कारबाही गर्नुपर्ने र नगर्नुपर्ने मत बाझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत फाइल मगाएर छानबिन प्रक्रिया अघि बढाएकाले प्राधिकरण सञ्चालक समितिलाई समेत एमडीलाई स्पष्टीकरणको आधारमा दोषी वा निर्दोष बनाउन अप्ठ्यारो परेको एक सञ्चालकले बताए ।

तीन दिनभित्र फाइल पठाउन पत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन दिनभित्र ट्रान्सफर्मर आयातसम्बन्धी सम्पूर्ण कागजपत्र, छानबिन प्रतिवेदनलगायत पठाउन पत्राचार गरेको छ । मंगलबार अख्यितारले प्राधिकरणलाई पत्र पठाएको हो । पत्रमा सम्पूर्ण कागजपत्र तीन दिनभित्र अख्तियारमा पठाउन भनिएको छ । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा चासो दिएर अख्तियारले फाइल मगाए पनि पूर्ण फाइल नपठाएपछि पुन: अख्तियारले सम्पूर्ण फाइल मगाएको हो । सम्पूर्ण फाइल मगाएपछि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने अख्तियारका एक अधिकारीले जानकारी गराए ।

प्रतिक्रिया