अवैध चिनियाँ सामानसहित दुई पक्राउ

सिन्धुपाल्चोक, ३ असोज । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लामोसाँघुले मंगलबार ठूलो परिमाणमा भन्सार नतिरेका सामान बरामद गरेको छ ।

६ सय ९३ थान चिनियाँ मोबाइल, चार सय २२ थान ब्याट्री र दुई सय ८० थान इन्टरनेट चलाउने चिनियाँ मोडिएम बरामद गरेको प्रहरीले जनाएको छ । कन्टेनरमा फल्स बटम बनाएर चीनको खासाबाट काठमाडौं लैजाँदै गरेको चिनियाँ सामान नियमित चेकजाँचको क्रममा बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लामोसाँघुका एसपी कमल गिरीले जानकारी दिए ।
ना २ ख ५५८४ नम्बरको चालक बस्ने ढोकामाथि फल्स बटममा लैजान लागेको बेलामा शंकाका आधारमा चेक गरिएको एसपी गिरीले बताए । तातोपानी भन्सार कार्यालयबाट सिलबन्दी भएर काठामाडांै जाँदै गरेको कन्टेनरबाट भन्सार छलेको लाखौँ मूल्यबराबरको चिनियाँ इलेक्ट्रोनिक्स सामग्री सशस्त्र प्रहरी बरामद गरेको हो ।
प्रहरीले कन्टेनर चालक फुल्पिङकट्टीका मिङमार तामाङ र सहचालक सोही गाविसका खिकाबहादुर सुनुवारलाई पनि नियन्त्रणमा लिएको छ । तातोपानी नाकामा रहेको साइनो मेसको रेडिमेड सामान लिएर काठमाडौं जाँदै गरेको कन्टेनरबाट बरामद भएको सामानसहित चालकलाई मंगलबार तातोपानी भन्सारमा बुझाइएको गिरीले जानकारी दिए । मोबाइल र ब्याट्रीसहित १८ लाख ६३ हजार चार सय ३० रुपियाँ मूल्य रहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया