आन्दोलनका कमाण्डर सिंहको सम्झना

काठमाडौं, २ असोज । नेपाल कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको १६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाईदै छ ।
कांग्रेस र उसका भातृ एवं शुभेच्छुक संस्थाहरुले सिंहलाई आज स्मृरण गर्न लागेका हुन् । विक्रम सम्वत २०५४ साल असोज २ गते आजकै दिन सिंहको ८६ वर्षको उमेरमा निधन भएको थियो । राजधानीमा उनको स्मरणमा विभिन्न कार्यक्रम समेत भएका छन् ।
सबै वामपन्थी दलहरुलाई समेत समेटेर २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सिंहले कहीले पनि पदको लोभ गरेनन् । उनलाई प्रधानमन्त्रीको प्रस्ताव तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए । तर उनले सो पद अस्वीकार गरिदिए । प्रधानमन्त्री पद अस्वीकार गरे पछि सिंहको राजनीतिक उचाई झ्न बढेको विश्लेषकहरुको भनाई छ ।
नेपाल प्रजा परिषदबाट आफ्नो राजनीतिक जीवन शुरु गरेका सिंहले वीपी कोइरालासँग मिलेर कांग्रेस स्थापना गरेका हुन् । उनले झण्डै दश बर्ष लामो समय कारावास पनि विताएका छन् ।
२००७ सालको राणा विरोधी आन्दोलनमा लागेकै कारण उनलाई तत्कालीन शासकहरुले सर्वस्व सहित आजीवन कारावासको सजाय तोकेका थिए । राणा शासनको अन्त्य पछि सिंह एक पटक उद्योग मन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया