वर्षाले आन्तरिक उडान रद्द

काठमाडौं, २ असोज । अविरल वर्षाका कारण सोमबार त्रिभुवन विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडान रद्द भएका छन् । मौसमको खराबीका कारण काठमाडौंबाट विराटनगर, पोखरा, सिमरा, तुम्लिङटार, भरतपुर, लुक्लालगायत गन्तव्यमा उडान हुन सकेन ।
बिहानदेखि नै मौसम बिग्रिएकाले माउन्टेन फ्लाइटसमेत हुन सकेन । सबै वायुसेवा कम्पनीका माउन्टेन फ्लाइट सोमबार रद्द भएको त्रिभुवन विमानस्थल अपरेसन शाखाले जनाएको छ । सामान्यतया बिहान साढे ९ बजेसम्म माउन्टेन फ्लाइट हुने गर्छ । मौसम सफा भएका बेला विभिन्न कम्पनीका जहाजले दैनिक २५ वटासम्म माउन्टेन फ्लाइट गर्छन् ।
मौसमका कारण ८० प्रतिशतभन्दा बढी आन्तरिक उडान रद्द भएको वायुसेवा कम्पनीले जनाएका छन् । गुण एयरलाइन्सका बजार प्रवन्धक प्रज्वल थापाका अनुसार कम्पनीले सोमबार एउटा मात्र उडान गर्न सक्यो । गुणको बिहानको माउन्टेन फ्लाइट तीनवटा, पोखराको दुईवटा र भैरहवाको दुईवटा उडान रद्द भए ।
गुणबाहेक बुद्ध एयर, नेपाल वायुसेवा, अग्नि एयर, सीता एयरलगायतका कम्पनीका उडान पनि प्रभावित भए । सबै कम्पनीका गरी करिब एक सय पचासवटा उडान रद्द भएको बताइएको छ । मौसम राम्रो हुँदा त्रिभुवन विमानस्थलबाट दैनिक दुई सय पचासवटासम्म उडान हुने गर्छ । अपरान्ह ३ बजेपछि पोखराको मौसम भने खुलेकाले केही उडान भएका थिए । पोखरामा बुद्ध एयर, यती एयरलाइन्स र गुण एयरलाइन्सले उडान गर्छन् ।
खराब मौसमकै कारण सोमबार काठमाडौंबाट पोखरा जानलागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थलमा अलपत्र परेक थिए । उनी बिहान १० बजे बजेको बुद्ध एयरको उडानमा पोखरा जाने कार्यक्रम थियो ।
उता सोलुखुम्बुमा पनि मौसम खराबीका कारण दुई दिनदेखि हवाई सेवा अबरुद्ध छ । धेरै व्यस्त रहने तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा खराब मौसमका कारण दुई दिनदेखि उडान हुन सकेको छैन । सोलुखुम्बुका लागि यातायातको एक मात्र विकल्प रहेको हवाई सेवा बाक्लो हुस्सु र सिमसिम पानीका कारण अबरुद्ध भएपछि काठमाडौंका लागि पठाइएका बिरामी अलपत्र परेका छन् ।
त्यस्तै सगरमाथा क्षेत्रको पदयात्रामा गएर फर्केका पर्यटक पनि लुक्लामै अलपत्र परेका छन् । सोमबार मौसम थप बिग्रिएपछि लुक्ला तथा फाप्लुमा कुनै पनि जहाजले उडान भरेनन् । लुक्लामा नेपाल वायुसेवा, सीता, अग्नि र तारा एयरले दैनिक २० देखि २५ वटा उडान भर्दै आएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । त्यस्तै फाप्लु विमानस्थलमा पनि दुई दिनदेखि भारी वर्षासँगै बाक्लो हुस्सु लागेका कारण हवाई उडान प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा नेपाल वायुसेवा र तारा एयरका जहाजले दैनिक दुईवटा उडान भर्दै आएका छन् । आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडान भने सुचारु रहेको बताइएको छ ।

प्रतिक्रिया